ख्वप कलेज र ख्वप मावि र शारदा क्याम्पसको वार्षिकोत्सव सम्पन्न
फाल्गुन १४, २०७७, शुक्रबार | विहान १०:२६ बजे | 25
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पसको ३० औं वार्षिक उत्सव कार्यक्रम– २०७७ शुक्रबार कलेज प्रांगणमा भव्यताका साथ सम्पन्न भयो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले विश्वविद्यालय तहमा राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरु कमी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै विद्यार्थीहरुले देश र जनताको सेवा गर्ने भावनाले राजनीति गनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले शासक दलका नेताहरुले सत्तामा बसी अपराधीहरुको संरक्षण गरिरहेको बताउनुहुँदै अपराधमा संलग्न कार्यकर्ताहरुलाई छोडाउने कार्य समेत गरिरहेको बताउनुभयो । डाक्टर इन्जिनियरहरुले राजनीति गर्दैनन् भन्दै बौद्धिक व्यक्तिहरुलाई राजनीतिबाट टाढा राख्ने षड्यन्त्र भइरहेको उल्लेख गर्नुहुँदै प्रमुख अतिथि विजुक्छेंले राजनीतिबाट कोहि पनि अछुतो नरहने र देशमा निस्वार्थ सेवा गर्ने राजनीतिकर्मीको खाँचो रहेको स्पष्ट पार्नुभयो ।नेमकिपाका सचिव एवं माननीय सांसद माननीय प्रेम सुवालले कोभिडका कारण गरिबीका रेखामुनि १२ लाख नेपाली जनता थपिएको बताउनुहुँदै समाजवादी गणतन्त्र चीनमा भने वितेको आठ वर्षमा १० करोड जनता गरिबी रेखामुनिबाट बाहिर निस्किएको समाचार सार्वजनिक भएको बताउनुभयो । उहाँल शासक दलहरु भागवण्डाको राजनीति गरिरहेको हुँदा जनताले दुःख पाइरहेको बताउनुहुँदै संसद पुनस्र्थापनाका कारण चुनावबाट प्रशिक्षित हुने अवसरबाट नेपाली जनता बञ्चित भएको स्पष्ट पार्नुभयो ।नेपालका २३ जिल्लामा भूभाग भारततर्पm पर्ने गरि बनाएको सीमा नक्सा खारेज गर्नुपर्ने जिकीर गर्नुहुँदै उहाँले सीमा नक्सा पुनः तयार गर्नुपर्ने तथा नेपालको लागि हिमाल, पहाड र तराई सहितको प्रदेश संरचना आवश्यक रहेको बताउनुभयो ।ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१ औं शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउनुहुँदै देशभरका झण्डै ६ हजार विद्यार्थी अध्ययनरत ती शैक्षिक संस्थाहरु स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो शैक्षिक संस्थाहरु भएको बताउनुभयो ।शिक्षालाई सार्वजनिक सेवाको रुपमा लिइनुपर्नेमा बेचबिखनको वस्तु बनाइयो भन्दै प्रमुख प्रजापतिले महँगो महँगो विद्यालय र कलेजहरुमा गरिब जनताका छोराछोरीहरुले पढ्न नसकेका अवस्थामा भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुले उत्कृष्ट नतिजा दिइरहेका छ भन्नुभयो । उहाँले स्थानीय जनता, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक प्राध्यापक, अभिभावक र विद्यार्थी सबैको संयुक्त प्रयासले यो सम्भव भएको बताउनुभयो ।संसदीय समितिले समेत विश्वविद्यालय सञ्चालनको लागि सिफारिस गरीसक्दा पनि विधेयक संसदबाट पारित हुन सकेको भन्दै उहाँले ख्वप विश्वविद्यालयको विधेयक पारित भएमा शिशुशालादेखि विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नगरपालिका पहिलो हुने बताउनुभयो ।बागमती प्रदेशका सभासद् माननीय सुरेन्द्रराज गोसाईले ख्वप सर्कल नेपालका उत्कृष्ट शैक्षिक गन्तव्यस्थलमध्ये एक रहेको चर्चा गर्नुहुँदै कोभिड–१९ को महामारी बीच कलेजहरुले पूर्वतयारीका साथ व्यवस्थित तरिकाले अनलाईन कक्षा संचालन गरी विद्यार्थीहरुको स्तर उकास्न गरेको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले अहिलेका युवाहरु कुलतमा लागेको राष्ट्रिय पत्रिकामा तथ्यांक सार्वजनिक गरिएको हुँदा विद्यार्थीहरुलाई कुलतमा नफस्न सुझाव दिनुहुँदै नयाँ पुस्तालाई कुलतबाट जोगाउन राजनीतिमा लाग्नु आवश्यक भएको बताउनुभयो । ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भनपा उपप्रमुख रजनी जोशीले ख्वप विश्वविद्यालय निकट भविष्यमा स्विकृत हुनेमा आशा व्यक्त गर्नुहुँदै समाजमा शिक्षाको महत्वको विषयमा चर्चा गर्नुभयो । राष्ट्रिय परीक्षा बोर्ड काठमाडौ कार्यालयका कार्यालय प्रमुख जयन्ती सत्यालले सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिंदै प्रविधिमैत्री परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले नगरपालिकाबाट सञ्चालित कलेजहरुमा थोरै शुल्कबाट गुणस्तरीय शिक्षा प्रदान गर्नु प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै ख्वपका विद्यार्थीहरु सबै क्षेत्रमा प्रतिस्पर्धी बनिरहेको उल्लेख गर्नुभयो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सानो तर साँस्कृतिक रुपले महत्वपूर्ण नगरको शैक्षिक विकास, गुणस्तर र प्रगति उल्लेखनीय भएको बताउनुहुँदै समुदाय प्रहरी साझेदारीमा सबैको साथ र सहयोगको अपक्षाका साथ प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गर्न विद्यार्थीहरुसँग अन्तरक्रियाहरुमा जोड दिइरहेको बताउनुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सय वर्ष पछिको भक्तपुरको अवधारणालाई मूर्त रुप दिन शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिई भक्तपुर नगरपालिका अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै नगरभित्रका विद्यार्थीहरुको उच्च शिक्षा प्राप्तिको सहजताका लागि भनपाले शैक्षिक ऋण सहुलियत ब्याजदरमा प्रदान गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा ख्वप कलेजका प्राचार्य, रुपक जोशी, ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र शिक्षक कमिनिका न्याइँच्याइँले पनि बोल्नुनुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले ख्वप माविमा दस वर्ष सेवा अवधि पूरा गरेका ११ जना शिक्षक तथा कर्मचारीहरु, ख्वप कलेजका ४ जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो भने नेमकिपाका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले त्रिविविबाट लिइएको वार्षिक परीक्षामा कलेजबाट उत्कृष्ट नतिजा हासिल गर्ने स्नातकोत्तर तहका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा प्लस टु लेभल ११ जना, स्नातक तहका १२ जना र स्नातकोत्तर तह ११ जना उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण तथा कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित दौड प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रमको बीच बीचमा तथा औपचारिक कार्यक्रम समापन पछि सांस्कृतिक प्रस्तुतिहरु पनि देखाइएको थियो ।