अभिभावकको गुनासोपछि अभिभावक संघ महेन्द्र विद्या आश्रम स्कुलमा
फाल्गुन १४, २०७७, शुक्रबार | विहान १०:१६ बजे | 30
भक्तपुर, फागुण १४ अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा महेन्द्र विद्या आश्रम बाराहीस्थानमा त्यहाँका अभिभावकहरुले नगरपालिकाले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लियो भनि गरेको गुनासोको आधारमा प्रतिनिधि मण्डल गई विद्यालयका व्यवस्थापक महेन्द्र मास्के र प्रिन्सिपल अनिल श्रेष्ठलाई भक्तपुर नगरपालिकाले निर्धारण गरेको शुल्कमात्र लिन शुक्रवार ध्यानाकर्षण गराउनुभयो । उक्त कार्यक्रममा अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले कोभिड १९ को विश्वमा महामारी फैलिएको बेला बैकल्पिक शिक्षाको रुपमा अनलाईन कक्षा संचालन भई रहेको प्रति बालबालिकालाई त्यसले पारेको नकारात्मक पक्षमा ध्यान दिन र पढेको भन्दा प्रयोगात्मक गरेको कुरा बढी स्मरण हुने भएकोले बैकल्पिक शिक्षा अनलाईन भन्दा भौतिक उपस्थितिमा कक्षा संचालन गर्नु राम्रो भएको बताउँदै लकडाउनले अभिभावकहरुको मजदुरी काम, नोकरी लगायत व्यवसायहरु धरापमा पर्दा आर्थिक समस्या भएकोले त्यसमाथि विद्यालयले बढी शुल्क लिनु अनुपयुक्त हुने बताउनु भयो । उहाँले अभिभावक, विद्यार्थी र विद्यालय ओदानोको तीन खुट्टे भएकोले एउटामात्र लङ्गडो भए विद्यालय सरल रुपमा अगाडि नबढ्ने बताउनु भयो । उहाँले संस्थागत विद्यालयलाई सरकारले कम्पनी दर्ता गराएर सेवामुखि हुनु पर्ने विद्यालयलाई व्यापार वा नाफामुखिमा जबरजस्ती धकेलेको बताउँदै विद्यालयले अभिभावकहरुलाई रिझाएर सेवामुखिको रुपमा अगाडि लानुपर्नेमा जोड दिनु भयो । उहाँले बढी शुल्क लिएकोमा विद्यालयका तीस पैंत्तीस जना अभिभावकहरुको हस्ताक्षर भएको निवेदन समेत नगरपालिकामा दिएकोमा सोको सुनुवाईमा ढिलो भएकोले अभिभावक संघलाई गुहारेको भनि गुनासो आएको बताउँदै विद्यालय बदनाम हुनबाट बचाउन अभिभावकहरुको माग सम्बोधन गर्नु पर्ने बताउनुभयो । उहाँले अभिभावकहरुको निम्न अनुसारका माग रहेका छन् । १) भक्तपुर नगरपालिका शिक्षा शाखाको मिति २०७७।०६।१३ गतेको प.स. २०७७÷०७८ को च.नं. २४ को पत्रानुसार बुँदा ५ को (क), (ख) र (ग) मा क्रमशः २०७७ बैशाख, जेठ र असार महिनाको मासिक पढाइ शूलक मिनाहा, साउन र भाद्र महिनाको मासिक पढाई शुल्कमा ५० प्रतिशत छुट र असोज महिनादेखिका मासिक पढाई शुल्कको बढीमा ७५ प्रतिशत मात्र लिन पाउने निर्णय भएको व्यहोरा महेन्द्र विद्या आश्रमले मनोमानी एकमुष्ठ भन्दै विभिन्न शीर्षकमा शुल्क उठाउँदै गरेको । २) पढाई सञ्चालन नगरेको महिनाहरु बैशाख, जेठको पनि शुल्क ट्युसन फि भनि उठाएकोको डिपोजिट भनेर विल दिएको । ३) पटक पटक भेटेर छलफल गर्न खोज्दा अभिभावकको कुरा नसुनेको । ४) अभिभावकहरुलाई अभद्र व्यवहार गरेको । ५) शुल्क तिर्न सके पढाउनु नसके निकालेर लानु भनेर गैर जिम्मेवार तवरले प्रस्तुत भएको । ६) गणित शिक्षक अभाव र शिक्षकलाई तलब समेत नदिएको कार्यक्रममा बिद्यालयका व्यवस्थापक महेन्द्र मास्केले नगरपालिकाको नियममा बसेर शुल्क लिएको, बैशाख, जेठ र असारको शिक्षकलाई तलब दिन ट्युसन फिको रुपमा लिएको, अभिभावकहरुको विद्यालय माथि ठूलो आशा राख्ने गरेको, खेलकुद सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको, शिक्षालाई व्यवहारिक र पारिवारिक बनाएर विद्यार्थीको भविष्य राम्रो बनाउन खोजेको, बार्षिक शुल्क ५० प्रतिशतमात्र लिएको, अनलाइन कक्षा र शुल्क बारे ९० प्रतिशत अभिभावक सन्तुष्ट रहेको, नगरपालिकाले २४ घण्टे स्पष्टिकरण लिएकोमा असन्तुष्ट व्यक्त गरेको, बिद्यालय मन्दिर र बिद्यार्थी भगवान भएकोले त्यसलाई अभद्र व्यवहार हामीबाट हुनै नसक्ने बताउनुभयो । प्रतिनिधि मण्डलमा अभिभाबक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुरका बरिष्ठ उपाध्यक्ष राम सुवाल, सचिव आसराम सुवाल, सहसचिव राजकुमार लघु र कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको उपस्थिति रहेको थियो ।