नेकका विद्यार्थी भाग्यश्री महर्जन पुरस्कृत


फाल्गुन ८, २०७७, शनिबार | विहान ०४:१९ बजे | 5


काठमाडौं । आर्किटेक्चर र इन्जिनियरिङ परामर्शदातृ फर्महरूको संगठन (स्काफ) ले आज पूर्वाधार विकासमा स्काफको भुमिका शिर्षकमा आयोजना गरेको राष्ट्रिय गोष्ठीमा नेपाल इन्जिनियरिङ कलेजका (नेक) पूर्व विद्यार्थी इन्जिनियर भाग्यश्री महर्जन रू ७५ हजारको नगदसहित पाँचौं केशवमान अमात्य शैक्षिक उत्कृस्तता पुरस्कारबाट पुरस्कृत भएकी छिन् । नेकको विडिएच शाखाबाट हालै अध्ययन पुरा गरेका सिभिल इन्जिनियर महर्जनले पोखरा विश्पविद्यालयबाट संचालित स्नातक तहको परीक्षाहरूमा सर्वोत्कृष्ट अंक ल्याई उक्त पुरस्कार हाल पार्न सफल भएकी हुन्। सिभिल इन्जिनियरिङ वा आर्किटेक्चर विषय लिई डिप्लोमा तह पास गरेका विद्यार्थीहरूलाई स्नातक तहको सिभिल इन्जिनियरिङ अध्ययन गर्ने अवसर नेपालमा पोखरा विश्पविद्यालयको सम्वन्धनमा नेकमा मात्र संचालित छ। कक्षाहरू साँझ संचालन हुने भएकोले नेकको विडिएचका विद्यार्थीहरूले दिउँसो जागिर खाई पनि अध्ययन पुरा गर्न पाउँछन्। यहि अवसरको सदुपयोग गरी सुश्री भाग्यश्री महर्जनले नेकबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह पुरा गरेकी हुन्। स्वर्गीय केशवमान अमात्यको स्मृतिमा वहाँको परिवारले उक्त पुरस्कारको स्थापना पाँच वर्ष अगाडि गरेका थिए। आजको पुरस्कार श्रीमती तारा अमात्य र स्काफका अध्यक्ष इन्जिनियर तुकलाल अधिकारीले संयुक्तरुपमा प्रदान गरेका थिए। शैक्षिक क्षेत्रमा उत्कृस्तता हासिल गर्न सफल विद्यार्थीहरूलाई यस प्रकारको पुरस्कारको प्रावधानले विद्यार्थी जीवनमा राजनितीमा भन्दा पढाईमा ध्यान दिन प्रेरित गर्ने भएकोले पुरस्कारले शैक्षिक गुणस्तर उकास्न पनि उचित वातावरण निर्माण हुने देखिन्छ।






Comments