जेनजी २.० ले कडा आपत्ति जनाए


मंसिर २१, २०८२, आइतबार | साँझ ०५:०६ बजे | 125


जेनजी २.० ले कडा आपत्ति जनाए

काठमाडौँ। नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्व चयनमा देखिएको सरकारी प्रक्रियाप्रति जेनजी २.० ले कडा आपत्ति जनाएको छ। संगठनका अनुसार भ्रष्टाचार आरोपमा निलम्बित महानिर्देशकको स्थानमा मन्त्रालयकै सहसचिवलाई दोहोरो जिम्मेवारीसहित प्राधिकरणको कार्यकारी नेतृत्व दिनु सुशासन र संस्थागत मर्यादाविरुद्धको कदम हो।

जेनजी २.० ले क्यान ऐनले प्राधिकरणलाई स्वतन्त्र नियामक निकायका रूपमा परिभाषित गरेको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीलाई शक्तियुक्त पदमा राख्नु प्रत्यक्ष हित–विवाद उत्पन्न गर्ने निर्णय भएको टिप्पणी गरेको छ। संगठनका अनुसार यसले क्यान र मन्त्रालय दुवैको निर्भरतामा प्रश्न उठाउँछ र संस्थागत अनुशासन कमजोर पार्छ।

खुला प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने अवसर हुँदाहुँदै मन्त्रालयकै सहसचिवलाई दोहोरो जिम्मेवारी दिइनुले सरकारी अविश्वास देखाएको संगठनको मूल्यांकन छ। धितोपत्र बोर्ड, बीमा प्राधिकरण र क्यानजस्ता नियामक संस्थामा मन्त्रालयबाटै प्रमुख नियुक्त गर्ने क्रम बढ्दै जानु संस्थागत स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेपजस्तै देखिएको जेनजी २.० को भनाइ छ।

जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले सरकारलाई क्यानको नेतृत्व प्राधिकरणभित्रैका योग्य र पेशेवर जनशक्तिबाट नियुक्त गर्न आग्रह गरे। उनले दोहोरो जिम्मेवारी दिने अभ्यास तत्काले रोक्नुपर्ने र निलम्बित महानिर्देशकको मुद्दा निष्कर्षमा पुग्दासम्म निष्पक्ष कार्यवाहक नेतृत्व व्यवस्थित गर्न आवश्यक रहेको बताए।

उनका अनुसार, “नेपाल जस्तो संवेदनशील हवाई–सुरक्षा चुनौती बोकेको देशमा यस्तो अभ्यासले सुरक्षा, पारदर्शिता र अन्तर्राष्ट्रिय विश्वसनीयतामा नकारात्मक असर पर्छ।”

संगठनले सम्बद्ध निकायहरूलाई सुधारात्मक कदम तत्काल चाल्न औपचारिक आग्रह गरेको छ।

Comments