बैकल्पिक शक्तिसँग डराएर सरकारले सामाजिक संजाल बन्द गरेकाे दावी
भदौ २१, २०८२, शनिबार | साँझ ०४:३३ बजे | 145
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अशाेक कुमार चाैधरीले बैकल्पिक शक्तिसँग डराएर सरकारले सामाजिक संजाल बन्द गरेकाे दावी गरेका छन् ।
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर ४ समितिकाे कार्यालय उद्घाटन गर्दै सांसद चाैधरीले यस्ताे दावी गरेका हुन् । उनले सामाजिक संजाल बन्द गर्ने कार्य तत्काल सच्चाउन माग गर्दै नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको उल्लंघन नगर्न सचेत पनि गराए । उनले सामाजिक संजाल बन्द गरेर ओली सरकार उल्टाे बाटाे हिडेकाे टिप्पणी पनि गरे । यस्तै, सांसद चाैधरीले सरकारले बहुमतकाे दम्बमा संसद संचालन गरेकाे आराेप पनि लगाए ।
उनले संसदमा एक जना उठेर विराेध जनाउदा पनि बैठक अवरुद्ध हुने भए पनि रास्वपाले करिब एक सय दिनदेखि बैठक अवरुद्ध गर्दा पनि सरकारले नसुनेकाे भन्दै आपत्ति जनाए । भिजिट भिसाकाे आवरणमा भएकाे मानव तस्करी प्रकरणकाे छानबिन र गृहमन्त्री रमेश लेखककाे राजिनामा माग्दै रास्वपा सहित राप्रपाले जेठकाे १३ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर ४ समितिका सभापति भाेला नाथ न्याैपानेकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा वागमती प्रदेश प्रवक्ता उत्सव अर्याल, वागमती प्रदेश सदस्य अमिर न्याैपाने, वाग्मती प्रदेश संगठन विभाग प्रमुख उपेन्द्र के सी, जिल्ला सभापती रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, सूर्यविनायक नगर सभापति भाईकृष्ण श्रेष्ठसहित चार वटै नगर समितिका सभापती लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
