‘हरि मञ्जुश्रीका उद्बोधन गान’ नियाल्दा


भदौ १३, २०८२, शुक्रबार | राति १०:०१ बजे | 405


‘हरि मञ्जुश्रीका उद्बोधन गान’ नियाल्दा

डा. इन्दुल केसी

१. प्राक्कथन नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाज्यू आफू गानविवेचक भई लेख्नुभएको पुस्तकको नाम हो ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ । वि. सं. २०८२ साल जेठ महिनामा शब्दयात्रा प्रकाशन बनेपाबाट यो पुस्तक प्रकाशन भएको रहेछ । उक्त पुस्तकलाई मैले सरसर्ती नियाल्दा देखिएका र मैले बुझेका केही विवरणहरू सङ्क्षिप्त रूपमा प्रस्तुत गर्ने जमर्काे गरेको छु । यस पुस्तकमा शब्दयात्रा प्रकाशन नामक वाङ्मयिक संस्थाका संस्थापक अध्यक्षले रचना गरेका १० वटा उद्बोधन गान र ती गानमाथिका टिप्पणीहरू रहेका छन् । लेखक प्रा. डा. कुलप्रसाद कोइरालाले हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वका साथै उहाँका गानहरूको व्यापक रूपमा समीक्षात्मक विश्लेषण गर्नुभएको पाइयो । यहाँ उल्लेखनीय कुरा भनेको पुस्तकमा उल्लिखित गानहरू हरि मञ्जुश्री आफैंले रचना गरी सङ्गीत (लय–तरज) राखेर आफू लगायत विभिन्न गायक–गायिकाको स्वरमा स्वराङ्कन गराउनुभएको रहेछ । ती गानहरू अक्षरधाम युट्युब च्यानलमा समेत रहिसकेको जानकारी पनि यस पुस्तकमा दिइएको छ । २. उक्त पुस्तकमा रहेका उद्बोधन गानका शीर्षकहरू १) प्रज्ञानं ब्रह्मः, २) खं ब्रह्मः, ३) अयमात्मा ब्रह्मः, ४) अहम् ब्रह्मास्मि, ५) तत्त्वमसि ६) वयं राष्ट्रे जागृयाम पुरोहिताः, ७) माता मे भूमिः पुत्रोऽहं पृथिव्याः, ८) जननी जन्मभूमिश्च, ९) कृण्वन्तो विश्वमार्यम्, १०) गौरीशङ्कर आरति । ३. त्रिवेणी तीनवटा नदीहरू एकै स्थान आएर मिलेपछि त्रिवेणी कहलिन्छ । यहाँ पनि साहित्य, गीति–साङ्गीतिक कला र गायन गरी तीन तत्त्व मिलेर त्रिवेणी भई उद्बोधन गान बनेको छ । ईश्वरीय विषयका भक्तियुक्त शब्दका साथ सङ्गीतको समायोजन गरिएको लयबाट भजन बन्छ, भक्तिसङ्गीत तयार हुन्छ । भक्तिसङ्गीतले भक्तहरूमा ईश्वरप्रति ठूलो श्रद्धा र विश्वास बढ्दै आत्मीय भावभक्ति वृद्धि हुँदै जान्छ । हाम्रा वेद, उपनिषद् आदि शास्त्रहरूले भजनको ठूलो महिमा वर्णन गरेका छन् । भजनबाट ब्रह्मज्ञान, नीतिज्ञान र धर्मशास्त्रका अति रहस्यमय ज्ञानहरू सरल रूपमा पाइन्छ । मानिसहरूमा आइपर्ने विभिन्न रोगहरूलाई समेत साङ्गीतिक उपचार (म्युजिक थेरापी) बाट निको पार्न सकिन्छ । भजन सङ्गीतले मनोरञ्जनका साथै सुख, शान्ति एवम् परमानन्द दिन्छ । ४. उद्बोधन गान सुरिलो स्वरमा गाइने गीतको बोलले दिने भाव, सन्देश, गाइने तरिका इत्यादिका आधारमा गीतको वर्गीकरण गरिएको हुन्छ । वैदिक गान, शास्त्रीय (राग) गान, राष्ट्रगान, संस्थागत गान, लोकगीत, दोहोरी गीत, प्रेमगीत, विभिन्न भाषामा तयार गरिएका भाषागत गान र ईश्वरीय भजनगान इत्यादि भनी गीतलाई वर्गीकरण गरिएको पाइन्छ । श्रोताहरूलाई आह्वान गरी शिक्षादीक्षा, उपदेश र सन्देश दिइएका गानलाई उद्बोधन गान भनिएको छ । यसै आधारमा हरि मञ्जुश्रीका गानहरूलाई प्रा. डा. कुलप्रसाद कोइरालाले उद्बोधन गान नामकरण गर्नुभएको छ । हरि मञ्जुश्रीले चार वेदका चार महावाक्यलाई गीतिकरण गर्नुभएको छ । अथर्ववेद अन्तर्गतको माण्डुक्योपनिषद्को अजपा गायत्री (सोऽहं वा त्यो मै हुँ) राखेर ‘प्रज्ञानं ब्रह्मः’ नामक वैदिक गान पहिलो गानका रूपमा रहेको छ । दोस्रो गानको नाम ‘खं ब्रह्मः’ रहेको छ । ‘वेदोऽखिलो धर्ममूलम्’ बुझाउन ‘ॐ खं ब्रह्मः’ को चर्चा यहाँ गरिएको छ । वृहदारण्यकोनिषद्, केनोपनिषद् र ब्रह्मसूत्रले बताएको सन्देश यस गानले दिएको छ । तेस्रो गान ‘अयमात्मा ब्रह्मः’ ले आत्मा नै ब्रह्म हो भनेको छ । ईश्वरलाई बुझ्न नसकेर भक्तहरू भौंतारिरहेको चर्चा गरेर मन्दिर, मस्जिद, चर्च, गुम्बा आदिमा धाएर पनि नपाएको ईश्वर आफूसँग नै रहेको प्रमाणका रूपमा हाम्रो आत्मा नै ब्रह्म हो र त्यही ब्रह्म नै ईश्वर हो भनिएको छ । चौथो गान ‘अहम् ब्रह्मास्मि’ मा म नै ब्रह्म हुँ भन्ने कुरामा यजुर्वेदको मुण्डकोनिषद,् गीता आदिको आधार लिइएको छ । ईश्वर बुझ्ने, चिन्ने, जान्ने हाम्रो आत्मा हो र त्यही ईश्वर हो, त्यही आत्मा या ईश्वर नै म हुँ भन्ने जानकारी यस गानले दिएको छ । पाँचौं गान ‘तत्त्वमसि’ अर्थात् त्यो तिमी नै हौ हो । यस गानको चर्चा गर्दा गानविवेचक प्रा. डा. कुलप्रसाद कोइरालाको हरि मञ्जुश्रीको विचारमा सहमत हुन नसकेको कुरा जनाउनुभएको छ । छैटौं गान ‘वयं राष्ट्रे जागृयाम पुरोहिताः’ हो । यस गानले राष्ट्र जोगाउन जागौं भनी आह्वान गरेको छ । हामी नसुतौं उठौं, हामी नफुटौं जुटौं, हामी एकै स्वरमा बोलौं भन्ने गानलाई लिएर हरि मञ्जुश्रीलाई राष्ट्रप्रेमी दिलदिमाग भएका गीतकार भनी प्रा. डा. कुलप्रसाद कोइरालाले मूल्याङ्कन गर्नुभएको छ । सातौं गीत ‘माता मे भूमिः पुत्रोऽहं पृथिव्याः’ हो । यस गीतमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र कर्मका आधारमा हुन्छन्, यी जाति होइनन्, हामी सबै एकै पृथ्वीमाताका सन्तानहरू भएकाले जातजातिको भेदभाव गर्न हुँदैन भन्ने प्रगतिशील विचार प्रस्तुत भएको देखिन्छ । आठौं गान ‘जननी जन्मभूमिश्च’ जन्मभूमि नै स्वर्ग हो, जुन देशमा हामी जन्म्यौं, हुक्र्यौ, त्यही देशमा निरोगी भई बाँच्न पाऊँ र यही जन्मभूमिमै मर्न पाइयोस् भन्ने अभिलाषासहितको उच्च विचारले पूर्ण भएको छ । नवौं गान ‘कृण्वन्तो विश्वमार्यम्’ मा मानिस विभक्त नहोस्, अन्याय नहोस्, सबैको जय होस् भन्ने उदार भाव व्यक्त भएको पाइन्छ । यसलाई पनि एउटा उदाहरणीय जागरण गान मान्नुपर्दछ । अन्तिम गान ‘गौरीशङ्कर आरति’ मा हाम्रो हिमपर्वतको महिमाको बखान भएको छ । हाम्रो देशका धन भएका तर बुद्धि र दिमागमा डढेलो लागेका मान्छेहरूको चर्चा गर्दै हाम्रो हिमाल, पहाड र तराईका मानिसहरूमा आफन्तको र एकताको भाव जागोस् भन्ने कुरा यस गानमा प्रस्तुत भएको छ । वैदिक उपमानका लागि लोकलयमा उद्बोधन गान लेखेर हरि मञ्जुश्रीले एउटा मानक स्तम्भ खडा गर्नुभएको प्रा. डा. कुलप्रसाद कोइरालाको ठम्याइ छ । ५. विविध यस पुस्तकमा मच्छेश्वर सापकोटाको ‘गानबाट वेदको सन्देश’ शीर्षकको अग्रलेख रहेको छ । उहाँले सबै गानको सुपरिवेक्षण गर्नुभएको रहेछ । गानविवेचक प्रा. डा. कुलप्रसाद कोइरालाको ‘आत्मनिवेदन’ शीर्षकको लेखकीय रहेको छ । शब्दयात्रा प्रकाशनको प्रकाशकीय लेख पनि समावेश गरिएको छ । यी गानहरूको बाद्यसंयोजन र ध्वनिमिश्रण बालकृष्ण सेवाचार्यले गर्नुभएको देखिन्छ । ६. अन्तमा निर्गुण सत्तासँग सम्बन्धित गानहरू रचना गरी, सङ्गीत पनि आफैंले भरी विभिन्न गायक–गायिकाहरूका साथमा स्वयम् रचनाकारले समेत गाएका उद्बोधन या जागरण गानहरूलाई परिशिष्टमा प्रकाशित गरी ती गानका विषयमा महत्त्वपूर्ण विश्लेषण गर्नुभएकोमा प्रा. डा. कुलप्रसाद कोइरालाप्रति नेपाली भक्तिसाङ्गीतिक जगत् कृतज्ञ छ । यस कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न भएका विभिन्न महानुभावहरू र सङ्घसंस्थाहरू पनि धन्यवादका पात्र बनेका छन् । नेपाली भजन विधाको भण्डारमा महत्त्वपूर्ण विवेचनात्मक पुस्तकका रूपमा यो पुस्तक रहेको छ । विभिन्न शास्त्रीय, दार्शनिक र आध्यात्मिक कुराहरू जुन संस्कृत भाषामा रहेका छन्, तिनलाई सर्वसाधारणले पनि सरल रूपमा बुझ्न सक्ने गरी नेपाली भाषामा हरि मञ्जुश्रीले तयार गर्नुभएका उद्बोधन गानहरू श्रद्धावान् भक्तहरूले पढ्न, गाउन र भक्तिभाव दर्शाउन योग्य छन् । ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ पुस्तक पनि यस विधाको महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको छ ।

Comments