इम्बोष्ट नम्बर नेपाली भाषामा राख्ने व्यबस्था मिलाउन माग
भदौ १२, २०८२, बिहीबार | साँझ ०६:०१ बजे | 175
काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले सवारी साधनहरुमा राखिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने निर्णयमाथि पुर्नविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । नेपाली भाषा,संस्कृति संकटमा पर्दै गएको आभास भैरहँदा हठात नेपाल सरकारले गरेको सवारी साधनहरुमा जडान गरिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा हुनुपर्ने भन्ने निर्णय सच्याउन पनि आग्रह गरेको छ । अध्यक्ष छविरमण सिलवाल र महासचिव प्रदीप सापकोटाद्धारा संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपालभित्र दर्ता भएका सवारी साधनहरुमा इम्बोस्ट नम्बर नेपालीमा नराखी अँग्रेजी नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषा, जुन सरकारी कामकाजको भाषा पनि हो यसको अबमुल्यन हुन जान्छ । साथै जनस्तर र विभिन्न संघसंस्थाहरुले समेत व्यापक विरोध जनाइ सकेको अबस्थामा सरकारले गरेको यो निर्णय सच्याउनुको विकल्प पनि छैन् ।’ प्रतिष्ठानले नेपालको संविधानको धारा ७ ले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिने संबैधानिक व्यवस्था भएको तर्फपनि सरकारको ध्यानकर्षण गराएको छ । नेपाली भाषाप्रति अवमूल्यन गरिदै जाँदा नेपाली भाषा लोपोन्मुख हुने खतरा तर्फपनि विज्ञप्तिमा संकेत गरिएको छ । विज्ञप्तिमा ‘नेपाली सवारी साधनमा प्रयोग गरिने इम्बोस्ट नम्बर अंग्रेजी होइन् देवनागरी लिपि हुने गरी जडान गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
