महिलाहरुलाई छमछमी नचाएर भयो रेडियोको वार्षिकोत्सव


भदौ १०, २०८२, मङ्गलबार | राति १०:२२ बजे | 140


महिलाहरुलाई छमछमी नचाएर भयो रेडियोको वार्षिकोत्सव

पनौती, भाद्र १० गते
काभ्रे जिल्लाको दोस्रो सामुदायिक रेडियो, रेडियो मध्यपूर्व एफ.एम.१०४ ले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा, मध्यपूवं सम्मान २०८२ एवं बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा ६ जना श्रष्टाहरुलाई सम्मानित गरेको छ । 
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा पनौती बसपार्क परिसरमा आयोजित एक समारोह बीच रेडियो मध्यपूर्वले शैक्षिक क्षेत्रकोतर्फबाट सरस्वती कडेल, पत्रकारिता क्षेत्रबाट सामुदायिक सूचना नेटवर्कका प्रमुख दिपक आचार्य, कलाकारिता क्षेत्रबाट स्थानीय कलाकार लसुन जोडी लक्ष्मण मातंछे र सुरेन्द्र श्रेष्ठ, समाजसेवी अनिला कायष्ठ र संस्थागततर्फ माइती वृद्धाश्रमका प्राणनाथलाई सम्मानित गरेको थियो । रेडियो मध्यपूर्वका अध्यक्ष एवं कार्यक्रमका सभापति रामहरी बन्जाराको सभापतित्वमा कार्यक्रम भएको थियो । 
बागमती प्रदेशका पूर्व खेलकूद मन्त्री एवं सांसद रत्नप्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित रेडियो मध्यपूर्व एफ.एम.१०४ ले १८ औं वार्षिकोत्सव, मध्यपूवं सम्मान २०८२ एवं बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा प्रमुख अतिथि ढकालले ती श्रष्टाहरुलाई सम्मानित गरेका हुन । “ग्रामिण सुचनाका लागि सामुदायिक रेडियो” नाराका साथ  २०६४ सामा स्थापना गरी २०६५ साल असार १ गतेदेखि प्रशारण सुरु गरेको रेडियो मध्यपूर्व अरनिको जागरण मञ्चले सञ्चालन गर्दै आएको काभ्रे जिल्लाको अग्रणी सामुदायिक रेडियो रहेको छ । 
कार्यक्रममा सामूदायिक सूचना नेटवर्कका प्रमुख दिपक आचार्य, पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जडासहितका अतिथिहरुले सामुदायिक रेडियो मध्यपूर्वको योगदान र भूमिकाको उच्च प्रसंशा गर्दै शुभकाममना मन्तव्य व्यक्त गरेका थिए । 
विभिन्न चर्चित कलाकारहरुले गीत संगीत एवं तीजका गीत गाएर भरपूर मनोरञ्जन दिएको सो कार्यक्रममा तीजका लागि ब्रत बसेका सयौं चेलीहरुले पनि नाँचगानमा सहभागित जनाएका थिए । हरेक वर्ष यसैगरी काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा कार्यक्रम आयोजना गर्दै आएको रेडियो मध्यपूर्वले यसवर्ष आफ्नै स्टेशन परिसर पनौती बसपार्क परिसरमा भव्य कार्यक्रम आयोजना गरेका हुन । 
 

Comments