भक्तपुरका महिला उद्यमीहरुको तीज विशेष कार्यक्रम सम्पन्न


भदौ ९, २०८२, सोमबार | विहान ११:४९ बजे | 250


भक्तपुरका महिला उद्यमीहरुको तीज विशेष कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भक्तपुरमा महिला उद्यमीहरुको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।
भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी उपसमितिको आयोजनामा तीज विशेष कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघकी कार्यसमिति सदस्य एवं सौदर्यविद् कमला श्रेष्ठले तीज कार्यक्रमलाई भव्य बनाउने भन्दा पनि संस्कृतिको जगेर्ना गर्ने तरिकाले मनाउनुपर्नेमा जोड दिइन्। उनले तीज दिदीबहिनी, साथी संगिनीहरुबीच भेटघाट गरी दर खाने अवसर मात्रै नभई एक अर्काबीच आत्मीयता र हार्दिक साट्ने पर्व पनि रहेको बताइन्। उद्यमशील महिलाहरुलाई तीज कार्यक्रमको आयोजना गरी एकै ठाउँमा जमघट गराएर अनुभव साटासाट गर्ने अवसर प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । 
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबञ्जाले संघले कला, संस्कृति, परम्पराको जगेर्ना एवं प्रवद्र्धनका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै हरितालिका तीज नेपाली महिलाहरुको विशेष पर्व भएकाले नेपाली संकृति र संस्कृतिको मौलिकतालाई जोगाई राख्ने उद्देश्यका साथ महिला उद्यमीहरुको तीज विशेष कार्यक्रम आयोजना गरिएको बताइन्। 
सफल महिला उद्यमी एवं व्यवसायी लक्ष्मी अवाल, भक्तपुर उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य एवं संघ अन्तर्गतको महिला उद्यमी उपसमिति संयोजक मञ्जिला सुवेदी, कार्यसमिति सदस्य सरु कार्कीलगायतले चाडपर्वलाई जीवन्तता दिँदै समाजलाई सभ्य दिशा तर्फ लैजानु सबैको दायित्व भएकाले महिला उद्यमीहरुले पनि आफ्नो उद्योग व्यवसाय सञ्चालनसँगै अग्रजहरुले दिएको संस्कारलाई अँगाल्दै नयाँ पुस्तालाई चाडपर्वका मौलिकता हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए। 
कार्यक्रममा सहभागी सबै महिला उद्यमीहरुलाई सौभाग्य सामग्री वितरण गरिएको थियो। भक्तपुर उद्योग वाणिज्य संघले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको यो पहिलो भएको जानकारी दिँदै कार्यक्रम संयोजक मञ्जिला सुवेदी अबदेखि भक्तपुरका महिला उद्यमीहरुको अनुभव साटासाट गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्ने बताइन्।  

Comments