नेकमा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको संख्या वढ्दो


माघ ११, २०७७, आइतबार | दिउँसो ०१:५३ बजे | 10


काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको संख्या वढदो देखिएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा भर्ना हुन आइतबार प्रवेश परीक्षामा सहभागी विद्यार्थी अत्याधिक देखिए । कक्षा १२ को परीक्षाफल नआउँंदै आइतबार कलेजमा विईतर्फको प्रवेश परीक्षा भएको थियो । विद्यार्थीको अत्याधिक चाप हुने भएकाले कक्षा १२ को नतिजा नआउँंदै प्रवेश परीक्षा लिनुपर्ने कलेजले जनाएको छ ।
कलेजले राखेको तथ्यांक  अनुसार इन्जिनियरिङतर्फ पनि सिभिल इन्जिनियरमा चाप वढ्दो छ । इन्जिनियरिंगतर्फ कलेजमा प्रत्येक वर्ष विद्यार्थीको संख्या वढ्दो छ कलेजको प्रवेश परीक्षा समितिका संयोजक सहप्राचार्य बाबुराम भटराईले भने, यसमा पनि सिभिलतर्फ सवैभन्दा वढी आकर्षण छ ।
कलेजमा बिई सिभिलमा १४४, बिई सिभिल एण्ड रुलरमा ४८, बि आर्किटेक्चरमा ४८, बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८, बिई कम्प्युटर इन्जिनियरिङमा ९६, बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा ९६, बिई सिभिल फर डिप्लोमा होल्डर्समा ४८ कोटा रहेको छ ।
सहप्राध्यापक भट्टराईले कलेजमा ५० प्रतिशतसम्म छात्रबृत्तिको व्यवस्था रहेको जानकारी गराए । बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन अध्ययन गर्न चाहने विद्यार्थीलाई ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको प्रवेश परीक्षा समिति संयोजक सहप्राध्यापक भट्टराईले जानकारी गराए । त्यस्तै कलेजमा बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिई कम्प्युटर इन्जिनियरिङमा २५ प्रतिशत छुटको व्यवस्था रहेको भट्टराईले जानकारी गराए । यसबाहेक प्रादेशिक छात्रबृति, स्थानीय छात्रबृति र प्रवेश परीक्षामा सर्वाधिक अंकल्याएका तथा उच्च अंक ल्याउन सफल विद्यार्थीहरूलाई पनि विभिन्न छात्रवृत्तिको व्यवस्था भएको उनले जानकारी गराए । पहिलो चरणको आइतबारको प्रवेश परीक्षाका लागि पाँंच सय ३० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित भई पाँंच सय १३ जना परीषामा सहभागी भएकाले कलेजले जनाएको छ । परीक्षाको नतिजा सोमबार नै आउने जनाएको छ ।
२०५१ सालमा सिभिलमा ६० जना विद्यार्थीबाट पढाई सुरु गरेको नेकमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत रहेको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले जनाए । माष्टर्ससम्मको पढाई हुने यस कलेजमा प्रत्येक वर्ष व्याचलर लेभलको इन्जिनियरिंगमा मात्रै पाँंच सय र माष्टर्सतर्फ डेढ सय विद्यार्थी भर्ना हुने जनाइएको छ । यसवर्ष माष्टर्सतर्फको एमएस्सी कन्ष्ट्रक्सन म्यानेजमेन्ट (सीएम) मा पहिलो चरणमै कोटा अनुसारको विद्यार्थी भर्ना भई कोटा पूर्ण भएको प्राडा श्रेष्ठले जनाए ।
शिक्षा क्षेत्रमा विगत २६ वर्षदेखि सञ्चालित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त गैरनाफामुलक सामाजिक संस्थाको रुपमा रहेको कलेजमा प्रत्येक वर्ष अध्ययन गर्न चाहने विद्यार्थीहरुको संख्या अत्याधिक रहने गरेको कलेजले जनाएको छ । कलेजको गाडी तथा सार्वजनिक यातायातबाट पनि सजिलै पुग्न सक्ने भई यातायातको सुविधा राम्रो रहेकाले यहाँ पढन आउने विद्यार्थीको आकर्षण बढेको कलेजको भनाई छ । पूर्णकालिन तथा अनुभबी शिक्षकका कारण यहाँको शैक्षिक गुणस्तर उच्च रहेकाले पनि कलेजप्रति विद्यार्थीको आकर्षण वढ्दो रहेको कलेजको भनाई छ । भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटका ठूलो क्षेत्र र प्रसस्त पूर्वाधार (भबन तथा प्रयोगशाला)हरूसमेत रहेको कारण कोभिडको समयमा पनि सामाजिक दुरी कायम गरी पठनपाठन गराउन सकिने कलेजले जनाएको छ ।
प्रवेश परीक्षाको अवलोकन गर्न बिहानै कलेजमा चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद मिश्र, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराई, एसपी तारादेवी थापा पुगेका थिए ।

Comments