ठोडो भाकाको लोक संस्कृतिक इतिहास पुस्तकमा मेरो विहंगम दृष्टी


जेठ २६, २०८२, सोमबार | दिउँसो ०१:३३ बजे | 200


ठोडो भाकाको लोक संस्कृतिक इतिहास पुस्तकमा मेरो विहंगम दृष्टी

डा इन्दुल केसी 
१. प्राक्कथन
    संसारका प्रायः सबै जाति, भाषा, भाषीहरुले आआफ्नो बासस्थान, गाउँ, सहरमा आफ्नैपनको भाषाको मौलिक गीत गाउने प्रचलन चलिआएको छ । सभ्यता, संस्कृतिका विविध पक्षहरुमा गाइने संगीत कलाको महत्वपूर्ण स्थान छ । गायकहरुले गलाको प्रस्तुति गीत गायन, अभियनका साथ नृत्य प्रदर्शन गरिन्छ । नेपालको गाउँगाउँमा आआफ्नो भाकाको लोक गीत गाउने गरिन्छ । काठमाडौं उपत्यकाका कान्निपुर, ललितपुर र भक्तपुर जिल्लाका नेवार जातिले आफ्नौ भाका नेवारी (नेपाल भाषा) गीत ‘राजमती’ नामका लोकगीत आनन्द मानी गाउने गरिन्छ । यसरी नै नेपालको सुदूर पञ्चिमका जिल्लाहरुमा ‘देउदा’ गीत गाउने र नाच्ने गरिन्छ । वर्तमान समयमा यस प्रकारका लोक गीतहरु क्रमशः लोप हुन थालेको छ । यस्ता लोपन्मुख लोक गीतहरु सम्पदालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो । यसै कुरालाई मनन् गरी अनुसन्धाता श्री लालबहाुदर भुजेलले यो ठाडो भाकाको लोक सांस्कृतिक इतिहास नामक पुस्तक तयार गर्नुभएको छ । लेखक स्वयमले यो पुस्तक एक प्रति मलाई उपहार प्रदान गर्नु भई यस बारे टिप्पणी तयार गर्न अनुरोध गर्नुभयो । त्यसैलाई आधार मानी यो मेरो संक्षिप्त लेख तयार गरेको छु ।
२. पुस्तक परिचय
    ठाडो भाकाको लोक सांस्कृतिक इतिहास अनुसन्धान ग्रन्थ यो पुस्तक चाँगुनारायण साहित्यिक समाज भक्तपुले २०७५ सालमा प्रकाशित गरेको हो । यसमा २४४ पृष्ठ, ६ वटा अध्याय, ४ वटा परिशिष्ट तथा २९ वटा सुन्दर रङ्गिन चित्र तथा आकर्षक कभरले सजिएको छ ।  
३. अनुसन्धाता लालबहादुर भुजेल
    चाँगुनारायण साहित्य समाजका अध्यक्ष भुजेलजीको सक्रिया साहित्यिक कृयाकलापहरु मैले प्रत्यक्ष देखिरहेको छु । उहाँले लेख्नुभएका केहि लेख रचना, केही पुस्तकहरु मैले पढेको छु । उहाँले साहित्यका विविध विधाहरु ः नियात्रा, हाइकु, ताङ्का, कविता, लघुकथा, सिजो ई विषयहरुमा भण्डै एक दर्जन पुस्तकहरु लेखी प्रकाशित गरी सक्नुभएको छ । भुजेलजीले यस पुस्तकको आफ्नो लेखकीयमा भन्नुहुन्छः 
“ठाडो भाकामा विचित्रको स्वाद, शिष्टता, श्रृङ्गारिकता, माया प्रेम, सुख–दुःख, तितो–टर्रो, जीवनजगतको भोगाइ सन्निहित हुन्छ र सुललित पाराले चित्रण गरिन्छ । यो भाका भद्र, शालीन, लोक संस्कृतिको अनुपम झङ्कार, गण्डकी क्षेत्रको लोक सुसेली हो ।”
४. विशिष्ट व्यक्तिको अग्रलेख 
यस पुस्तकमा ३ जना विशिष्ट व्यक्तिहरुको लामो अग्रलेखहरु छन् । त्यसको संक्षिप्त चर्चा निम्न अनुसार छन् ः
क) ठाडोभाका लमजुङ जिल्लामा विशेषतः गुरुङ–दुरालगायत अन्य जातजातिले गाउने गरेको विशिष्ट लोकसंस्कृति एवम् लोकलय हो । गण्डकी भेगमा कुनै बेला ठाडोभाका गायक–गायिकालाई मात्र लोकदोहोरीको कलाकार ठानिने गरिन्छ । यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपाली–माझ हृदयको ढुकढुकी साबित भएको छ ।
राष्ट्रकवि माधव घिमिरे
ख) जनस्तरबाट औधी रुचाएको र कुनै बेला ठाडोभाका गाएर र सुनेर धीतै नमर्ने रैथाने लोकसंस्कृतिको चाहना हुँदाहुँदै पनि यो भाका गाउने कुशल गायक–गायिकाहरूको खडेरी खड्किइरहेको बेला, भुजेलज्यूको ठाडोभाका विधामा प्रकाशन हुन लागेको पहिलो कृतिलाई शुभकामना अर्पण गर्दै उत्तरोत्तर सृजनयात्रा र उज्ज्वल भविष्यको लागि कामना गर्दछु । 
डा. संस्कृतिविद् सत्यमोहन जोशी
ग) लमजुङ, दुराडाँडा थातथलो भएका मेहनती र कर्मठ लालबहादुर भुजेलले ठाडोभाकाजस्तो ओझेलमा परेको अमूर्त लोक–सांस्कृतिक सम्पदालाई अध्ययन, खोज गरी आजसम्म कृतिको रूपमा आउन नसकेको इतिहास, भावी पुस्तालाई सुम्पने जमर्को गरी बहुतै सह्राहनीय र प्रेरणाप्रद कार्य गर्नुभएको छ ।
–डा. जगमान गुरुङ
५. यस पुस्तकमा रहेका गीत
    यस पुस्तकको तेस्रो अध्यायमा २९ वटा ठाडो भाकामा गीतहरु छन् । गीतका शीर्षकहरुले यसको विविधता दर्शाउँछन् । प्राकृतिक प्रकोप, स्वदेश, विदेशमा रहेका वस्तु, मानवबेचविखन, जेष्ठ नागरिक, व्यवसाय यी विषयका गीतहरुले पुस्तक पढ्ने पाठकहरुलाई नयाँ–नयाँ कुराको जानकारी प्रदान गर्दछ । उक्त गीतहरुमध्ये नमूनाको रुपमा ‘जुजुधौ’ शीर्षकको एउटा गीतलाई यहाँ प्रस्तुत गर्दछु ।
जुजुधौ ः
केटा ः हा ..... हा..... हो ......... दाल खानु रहर–गोरु दाउनु बहर,
काउली खानु बन्दा, जीवन धान्न मन्द, रोटी खानु गहुँ–जौ, 
दही खानु धौ–धौ भो’ !
हा .... दही खानु धौ–धौ भो’ !
हो .... भन्छ र यसै मायाजाल, दही खानु धौ–धौ भो’ !
हा .... भक्तपुरको जुजुधौ, दहीको राजा भै’ गुणस्तरमा गाह्रो भो’ !
हा .... गुणस्तरमा गाह्रो भो’
हो .... भन्छ र यसै मायाजाल, गुणस्तरमा गाह्रो भो’ 
केटी ः हा ....हा ... जो आउँछन् भक्तपुरमा, यसको विशेषता, नाम चलेको 
जुजुधौ, ऐतिहासिक शहरमा घुम्न गर्छन् रहर, माग पुरÞ्याउन गाह्रो भो’ !
हा .... माग पु¥याउन गाह्रो भो’ !
हो .... भन्छ र यसै मायाजाल, माग पुरÞ्याउन गाह्रो भो’ !
हा .... हा .... भक्तपुर सांस्कृतिक शहर, देशी–विदेशी भुतुक्क हुन्छन् हेर्न
गर्छन् रहर, भक्तपुर र जुजुधौ एकअर्काकाका पर्याय छन्, दरबार स्क्वायर छिर्नेले दही खान खोज्छन्, जुजुधौको प्यासी हुन्छन् 
उत्पादन नै साह्रो भो !
हा .... .... उत्पादन नै साह्रो भो
हो .... .... भन्छ र यसै मायाजाल, उत्पादन नै साह्रो भो !
केटा ः हा... हा... पुस्तौँदेखि चली आ’को लङ, सुकुमेल, चिनी, बचाइराख्न नाम गाह्रो पहिले थियो खुलेआम अहिले भित्र गोप्य, पाहुनाहरू भुत्तिने ! 
हा .... पाहुनाहरु झुत्तिने
ऐ. ..... होला र यसै मायाजाल, पाहुनाहरू भुत्तिने !
हा .... हा ... न्यूरोड गेट’को गुदपाकजस्तो नहोस् जुजुधौ, जनता झुक्किने, जिब्रोमा नै झुण्डिने !
हा ... जिब्रोमा नै झुण्डिने !
ऐ .... होला र यसै मायाजाल, जिब्रोमा नै झुण्डिने ! 
६. निष्कर्ष
क) पुस्तक वास्तवमा अनुसन्धान ग्रन्थ हो भने कुरा यसलाई गहिरिएर वस्तुनिष्ट आधारमा अध्ययन गरेपछि, सत्य सावित हुन्छ ।
ख) यस पुस्तकमा ठाडो भाकाको उत्पत्ति र विकास क्रमश बौद्धसिं गुरुङ लगायत ७ जना तथा दोश्रो पुस्ताका श्री भेडीखर्के साईला जीले ठाडो भाकाको लागि गर्नुभएको योगदानलाई उजागर गर्नुका साथै ठाडो भाकाका गायक, गायिकाहरुको नामावली समेत उल्लेख गर्ने राम्रो कार्य भएको छ ।
ग) लोक गीतबारे अध्ययन अनुसन्धानमा लाग्न चाहने व्यक्तिहरुको लागि यो पुस्तकले प्रेरणा र मार्ग निर्देशन गर्दछ ।
घ) पुस्तकमा रहेका ४ वटा परिशिष्टहरुले यो पुस्तकको गरिमा बढाएको छ । यहाँ पुस्तकको निष्कर्ष र केहि सुझावहरु ठाडो भाका बारे भेटी खर्के साइलासँग दिइको अन्तर्वार्ताबाट यो पुस्तक अनुसन्धान ग्रन्थ हो भन्ने कुरामा म सहमत छु ।
७. अन्तमा
     लेखक लाल बहादुर भुजेलजीले निकै परिश्रम लगाएर शोध ग्रन्थको पुस्तक तयार गर्नुभएको देखिन्छ । यसमा वहाँको समय, खर्च, आर्थिक व्यवस्था गर्नु, लगनशिल भएर नेपाली साहित्यको भण्डारमा एउटा महत्वपूर्ण पुस्तक थपिनुभएको छ । यसले नेपालको मौलिक ठाडो भाकाको लोक संस्कृतिक इतिहास तयार भएको छ। पुस्तक सराहनीय छ । यस कार्यको लागि लेखकलाई मुरी मुरी धन्यवाद ।
०००

Comments