बागीश्वरी माविको नयाँ भवन शिलान्यास
पुष १३, २०७७, सोमबार | दिउँसो १२:१६ बजे | 55
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित बागीश्वरी माविको नयाँ भवनको शिलान्यास गर्नुभयो ।
भवन शिलान्यास गर्नुहुँदै नगर प्रमुख प्रजापतिले बागीश्वरी माविमा कार्यरत शिक्षक, अभिभावक र स्थानीय जनताको सामूहिक प्रयासले विद्यालयको प्रगति सम्भव भएको बताउनुहुँदै निर्माणाधीन नयाँ भवन गुणस्तरीय ढंगले निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शिक्षकहरूको व्यक्तिगत स्वार्थबाट विद्यालयको प्रगति सम्भव नहुने बताउनुहुँदै बागीश्वरी माविले देशलाई आवश्यक दक्ष र योग्य जनशक्ति उत्पादन गरिरहेको र आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा अवस्थित ३ वटा विद्यालयहरूलाई पुरानै संरचनामा मौलिक प्रविधिबाट परम्परागत शैलीमा पुनःनिर्माण गर्न नगरपालिकाले जोड दिइरहेको बताउनुहुँदै उहाँले देशको सबै सम्पदा हाम्रो सम्पत्ति हो भन्नुभयो ।
२०७२ सालको भूकम्पले क्षति पु¥याएका सम्पदा पुनःनिर्माणलाई प्राथमिकतामा राखी नगरपालिका अगाडि बढिरहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले भूकम्प पीडितहरूलाई प्रदान गरिने पुनःनिर्माणको अनुदान रकम वृद्धि गर्नुपर्ने, अनुदान रकम एकमुष्ठ वितरण गर्नुपर्ने र किस्ता लिने समय सीमा थप गर्नुपर्नेमा निरन्तर पहल गरिरहेको बताउनुभयो ।
विद्यालयका संयोजक ज्ञानसागर प्रजापतिले बागीश्वरी मावि र कलेजका चार वटा भवनहरू निर्माणाधीन अवस्थामा रहेको अवगत गराउनुहुँदै विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन शिक्षक–कर्मचारीहरूले समयअनुसार आफूलाई परिमार्जित गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रअ कृष्णप्रसाद धन्छा, बागीश्वरी भवन रेखदेख समितिका संयोजक ई. कृष्णनीर छुकां र बागीश्वरी माविका सहायक प्रअ कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।