मध्यपुरका शैक्षिक संस्थाहरु नखुल्ने
पुष ३, २०७७, शुक्रबार | विहान १०:२७ बजे | 10
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रका शैक्षिक संस्थाहरु तत्काल नखुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गरी तत्काल नगरभित्रका स्कुल कलेजहरु नखोल्न सूचित गरेको छ ।
लुकिछिपी शैक्षिक संस्थाहरु खुलेको सूचनाको आधारमा अनुगमन गर्दा शैक्षिक संस्थाहरु खुलेको पाइएको भन्दै नगरपालिकाले बन्द गर्न सूचित गरेको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव ज्ञानेन्द्र बनले स्कुलकलेज नखोल्न नगरभित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सूचित गरेको छ ।
कोभिड महामारीको कारण शैषिक सत्र २०७७ को सुरुवातदेखि नै शिक्षक सिकाई क्रियाकलाप अवरुद्ध रहेको र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ ले भोतिक रुपमा विद्यार्थी उपस्थित गराई प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न स्थानीय तहले अनुमति दिन सक्ने व्यवस्था रहेकोमा सो अधिकार प्रयोग गरी स्कुल कलेज नखोल्न अनुरोध गरेको छ । तत्कालका लागि बैकल्पिक विधिबाथ मात्रै शिक्षण सिकाई गराउन नगरपालिकाले अनुरोध गरेको छ । अर्काे सूचना जारी नभएसम्म स्कुल कलेज नखोल्न पनि भनेको छ । यता नजिकैको भक्तपुर नगरपालिकाले भने पुस १ गतेदेखि नै लागू हुनु गरी नगरभित्रका कक्षा ८, ९ र १० कक्षाहरु सुरक्षित रुपमा सञ्चालन गर्न दिएको छ ।