अनामिकाको डायरी ३


पुष १८, २०८१, बिहीबार | विहान ०७:२१ बजे | 75


अनामिकाको डायरी ३

अर्जुन कोण्डा अनामिकाको डायरीले मलाई टेबुलबाट हेरिरहेको थियो । म भने पलङमा लम्पसार । रातभरि के के सोचिबसेँ, कतिखेर सुतेँ थाहै भएन । झ्याल बाहिर हेर्दा झिसमिसे उज्यालो भइसकेछ । छिमेकीको घरमा रहेको रातो भालेले बिहान भइसकेको सूचना दिन र्ककस आवाजमा चार पाँच चोटि बाँसिसकेका रहेछन् । म भने अझै सपनामै अल्झिरहेछु । पलङबाट उठेर फेरी मैले डायरीलाई नियालेर हेरेँ, डायरीको आवरणमा मनमोहक चित्र थियो – काठमाण्डौ उपत्यकाको जिवित देवी कुमारी । कालो मसीले मुनि लेखिएको थियो, अनामिका । हिजोको सपना अझै आँखामा झलझल नाचिरहेको छ । त्यो रंगीन नाचमा अनामिका कुण्ठित मुहार लिएर स्पष्टिकरण दिई रहेकिछिन् । उनकी आमाले रोपेको संगीन प्रश्नको जवाफ दिन अनामिको किन मेरो सुत्ने कोठालाई कठघराको रुपमा प्रयोग गरिन्, भन्न सक्दिनँ । म अनामिकालाई न्याय दिन सक्ने न्यायधिस पनि त होइन। अदालतमा हुने पक्ष र विपक्षकोे जुहारीजस्तै मेरो कोठाको पलङ छेउ आएर अनामिकाले वादीको रुपमा आफ्नो भनाइ राखिन् । तर म भने छुट्याउन सक्दिनँ, उनी वादी हुन् की प्रतिवादी? समाजको नजरमा प्रतिवादी देखिएपनि उनी वादी जस्तै लाग्छ । वास्तविक प्रतिवादी देश र विदेशको त्यो परिवेश हो, जसले उनलाई कुमारी आमा बन्न बाध्य पारे । बिहान ७ बजिसकेछ, चिया खान बाहिर निस्किएँ । पसलमा गन्थन चल्दै थियो । आखिर नवजात शिशु फालिएकोमा मान्छेहरु क्रुद्ध थिए । कोहि भने छलफ गर्दै थिए, अनामिका कसरी आमा बनिन् ? चियाको गिलाससँगै टेबुलमा कान्तिपुर पत्रिका थियो, पत्रिकामा लेखिएको थियो, “ फोहरको डङ्गुरमा नवजात शिशु फेला, छोरी रोएको हेर्न आएकी आमा पक्राउ ” चियामा आज चिनी अलि बढि नै थियो । तैपनि किन किन चिया खल्लो लाग्यो । घर फर्कदा मेरो नजर फेरी उही आवरणले तानिरह्यो । आवरणमा देखिएकी कुमारी अनामिकाकै प्रतिरुप जस्तो लाग्यो। निधारमा रहेको रातो रंग, अनि रातो रङलाई पहेँलो रङले घेरा लगाएको देखिन्थ्यो । मलाई त्यो घेराको मिथक त थाहा छैन । तर त्यो पहेलो घेराले जिवित देवी कुमारीको मुहारमा सुन्दरता थपिएको भान हुन्थो । अनि तेस्रो आँखाले विशेष अर्थ राख्थ्यो । मनमा उत्सुकता लाग्यो , अनामिकाले किन कुमारी चित्र भएको आवरण नै छानिन्? तलेजु भवानीको अवतार मानिने कुमारीमा रजस्वला सुरु नभएसम्म दुर्गा माता या तलेजु भगवानले बास गर्ने काठमाण्डाँै बासीमा विश्वास छ । सायद अनामिकाले पनि कुमारीको महत्वबारे सुनेकी हुनुपर्छ ।ै बाह्र कक्षाको नतिजा आइसकेको हुँदा म अलि फुर्सदमै थिएँ । मलाई कहीँ जानु थिएन । त्यसैले मेरो ध्यान डायरीमै गयो । आमाको अनुमति बेगर डायरीलाई ओल्टाइ पल्टाई हेरेँ । डायरीका केहि पाना च्याटिएका थिए भने केहि पाना खाली नै थिए । तर डायरीको अघिल्ला केहि पाना र पछिल्ला केहि पाना भने निलो मसीले भरिएका थिए । मलेसियाको एक होटलमा वेटरको काम गर्थेँ । काम राम्रै थियो, मालिक पनि राम्रै थियो । घरमा पैसा पनि पठाएकै हो । दुः ख सुख गरी मलेसियाको जोहोर सहरमा दुई वर्षसम्म एउटा सानो रेस्टुरेन्टमा काम गरेकै हो । जोहोरमा आफु बाँचेर बाआमालाई पनि सास धान्न उर्जा पु¥याउनुपर्ने । मैले मेरो परिवार र समाजलाई गुमाइरहेँ । बाआमालाई केहि पैसा पठाउँदा अलि खुशी लाग्थ्यो । तर कहिल्यै आफ्नो स्वाभिमान बेचिनँ । साहूसँग नराम्रो सम्बन्ध पनि थिएन । छोरी जस्तै मान्थी । हरेक बेलूका काम सकेपछि सञ्चो विसञ्चो सोध्थे । बिहान कलिेकाँही तल्लो पेट दुखेको महसुस हुन्थ्यो ।तर साहुले कहिले जुस त कहिले फलफूल दिएर माया गर्थे । सोच्थेँ, मलेसियामा पनि अभिभावकत्व त राम्रो पाएकै हो । बिहान उठ्दा पनि उतिकै माया देखाउथे तर आमा, फर्कने बेला मेरो महिनाबारी रोकेको समयमै भएन । महिनाबारी कहिलेकाँही सर्ने गथ्र्यो । केहि समयपछि तल्लो पेट अलि बढी दुख्न थाल्यो । मेरो पेट अलि फुले पनि जस्तो लाग्यो ।मैले सोचेँ, पेट सुनिएको होला वा पेटमा केहि खराबी छ । खानामा रुची थिएन । मैले सोचेँ, देशको यादले होला । होइन रहेछ, आमा, म गर्भवती भएकै रहेछु । अस्पतालमा जाँचका लागि जाँदा चिकित्सकले आमा बन्न लागेकोमा बधाई दिए । म भने छक्क परेँ । कुनै पुरुषसँग बोल्न पनि लाज मान्ने अनि बोल्नै परे एक कोश पर बसी जोगिएर हिड्ने म कसरी गर्भवती हुन सक्छु? मैले गल्ती गरेकै छैन, आमा । मलाई नै विश्वास भएन, म आमा हुन लागेको भनेर । किन किन मलाइ बेस्सरी डर लाग्यो । मसँग हजुरको प्रश्नको जवाफ छैन । म कसलाई मेरो लोग्ने मानूँ ? डरले काम्दै म हजुरको छत्र छायाँमा फर्कदै थिएँ । नेपाल फर्कने बितिकै समाजले प्रश्न तेर्साए , मेरो गर्भबारे । मेरो अस्मितामाथि प्रहार गरे । म के जवाफ दिऊँ, आमा । मलाई हजुरको साथ र सहयोग चाहिएको थियो । तर उल्टै मलाई हजुरले अनेक शंका उपशंका गर्नुभयो । म सबै कुरा बताउन चाहन्थेँ । न त मेरो समाजले बुझ्न चाह्यो न त मेरो परिवारले । मैले माइती घर मण्डलामा विष खाई आत्म हत्या पनि गर्न नखोजेको होइन, आमा तर सकिनँ वा ममा आँट आएन । गर्भपतनको लागि निजि अस्पताल पनि नगएको होइन, ढिलो भइसकेछ । जसै वास्तविकतालाई स्विकार्न तयार भएँ, आमा । म घरबाट निस्किएर बहाल कोठामै आमा बनेँ । सालनाल काट््ने पनि कोहि थिएन । मृत्युसँग जुधेर जसै छोरीलाई जन्म दिएँ , फेरी समाजसँग डराएँ । मलाई मेरी छोरीले भोलि मेरो बुबा खोई भनी सोधेमा के जवाफ दिने? अनि गर्भवती भनी शंका गर्ने यो समाजलाई के भनेर अनुहार देखाउने ?अचम्म लाग्छ, आमा । किन महिलाको इज्जत पुरुषसँग मात्र जोडिन्छ ? पुरुष आफ्नो तृष्णा मेट्ने बहानामा नारीहरुको अस्मिता लुटिरहँदा उसको इज्जत जाँदैन । तर नारीको चाहिँ थाहै नपाई आफू बलात्कृत हुँदा पनि नारीकै मात्र इज्जत जाने यो कस्तो समाज हो, आमा ? भन्न त धेरै चाहन्छु , तर उचित शब्द मसँग छैन। समाजको डरले नवजात छोरीलाई अरु कसैको कोखमा दिन चाहन्थेँ । तर दिने कसरी? समाजको नजरमा म कुमारी आमा हुँ र मसँग अवैध सम्बन्धबाट जन्मिएकी छोरी छे, जसको नामाकरण पनि भएको छैन । हामीलाई न्याय कसले दिन्छ ? म एक्ली कुमारी आमाको कथा कसले सुन्ने? मलाई समेत गुमराहमा पारी मेरो इज्जत लुट्ने त्यो बलात्कारी पुरुषलाई कसले कारवाह िगर्छ? अन्तमा केहि सीप नलागी बिहान सबेरै सुर्यविनायक चोकको एक कुनामा कसैले पाल्ने आशामा छोरीलाई एक्लै छोड्न विवश भएँ। आमा, समाजसँग भाग्दा भाग्दै आमाको भूमिकाबाट कर्तव्यच्यूत भै आफूले आमाको हैसियत समेत गुमाइसकेको बारे मलाई थाहा नै भएन। म फेरी आफूलाई अविवाहित युवतीको रुपमा देखाउन चाहन्थेँ । तर नियतिले ठगेपछि केहि नलाग्दो रहेछ । ममा आमाको ममता बोध भयो । आफूलाई रोक्न सकिनँ। तुरन्त मेरो छोरी छोडेको ठाउँमा छोरीको खबर बुझ्न हुतिएँ । रातको बाह्र बजिसकेछ । आमाले पल्लो कोठाबाट बोल्नुभयो– अझै सुत्या छैन, बाबु । मैले भनेँ, सुत्न लागेँ आमा । निन्द्रा त कहाँ लाग्नु, उही अनामिका र उनकी आमा दिमागमा रहिरहिन् । घडीको सुइले टिकटिक आवाज निकाली रह्यो । रातभरि मनमा कु्रा खेलिरह्यो, अविवाहित अनामिका आमा कसरी बनिन् ? कहिले सुतेँ चाल नै पाइनँ । मान्छेको हुलमुलको बीचमा छोरी थिई, प्रहरीकै अँगालो बेरिएर रोइरहेकी थिइन् । सायद आमाको दूध सम्झेर होला छोरी रोइरहिन् । मैले पनि आफूलाई सम्हाल्न सकिनँ, आँखाबाट आँसु झरिरह्यो । एकक्षणमै प्रहरीले मेसो पाइहाले, म समातिएँ । भोलिपल्ट मैले आफ्नी आमालाई भनेँ – आमा अब म विदेश जान्नँ ।

Comments