दुई उपनयन २००७ साल र प्रजातन्त्रको अम्यदय कालका संस्मरण २००७ सालमा फागुन ३ गतेदेखि ७ गतेसम्म दुई उपनयन


पुष १२, २०८१, शुक्रबार | विहान ०९:४३ बजे | 60


दुई उपनयन २००७ साल र प्रजातन्त्रको अम्यदय कालका संस्मरण  २००७ सालमा फागुन ३ गतेदेखि ७ गतेसम्म दुई उपनयन

डा इन्दुल केसी 
मेरो बाल्यकालका केही घटनाहरु सुनाउने जमर्को गर्दैछु । हामी भक्तपुरबासीहरुको लागि पुरानो ठिमी हुँदै गौचरण एयरपोर्टसम्म पुग्ने बाटो एक प्रकारको फाँटको रमाइलोहरु हेर्दै प्रकृति प्रदत्त आनन्दमा रमाउँदै हिँड्ने बाटो थियो । यसैक्रममा नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतमा केही महिना निर्वासनमा बिताएर राजा, राणा र नेपाली जनतासमेतको सम्झौता अनुरुप श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव फागुन ३ गते एयरपोर्टमा फर्कने भन्ने गाइगुई भक्तपुरमासमेत आइपुगेपछि भक्तपुरका बासिन्दाहरु पनि राजा त्रिभुवनको स्वागतार्थ गौचरण एयरपोर्टमा जाने भन्ने निर्णय भएकाले म पनि उमेरमा ९ वर्ष मात्रको भएपनि त्यस टोलीमा सहभागी भएर गौचरण एयरपोर्ट पुगेको थिएँ । त्यस अवसरमा राजा त्रिभुवनको फिर्ती साथसाथै बालसुलभ व्यहोराले गर्दा हवाइजहाजको समेत दृष्यावलोकनमा रमाउँदै दिन बितोको हामी कसैलाई पनि पत्ता नै भएन । त्यस समयमा गौचरणमा मानव सागर उर्लेको आँखामा झल्झल्ती आइरहेछ । राजा त्रिभुवन हवाइजहाजको ढोका खोल्ने बित्तिकै दाहिनै हात उठाएर हात हल्लाउँदै गरेका, मयलपोस, सुरुवाल, कोट र टोपीमा सजिएर मुस्काउँदै प्रफुल्लित हुँदै मेरो मनसमेत जितेको तस्बिर मनमा अहिले पनि ट्डकारो रुपमा उत्रिरहेछ । यसरी ३ गतेको सो घटना त त्यसको ४ दिपछि नेपालमा १०४ वर्षको जहानिया राणा शासनका समाप्ति र नेपाली जनताको चाहनाअनुसारको प्रजातन्त्रको बहाली भएको घोषणा सुन्न पाइयो ।
यस प्रकारले त्यो अवधिमा मेरो बैदिक उपनयन भयो भने राष्ट्रले प्रजातान्त्रिक उपनयन विधिवत ग्रहण ग¥यो । एकातर्फ म पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा शायद सबैभन्दा फुच्चे सहभागी भइरहेको थिएँ भने अर्कोतर्फ, त्यसदिनको भोलिपल्ट हाम्रो बैदिक परम्परानुसार मेरो उपनयन संस्कारको काम भइरहेको थियो । बेलुकीसम्म पनि म घरमा पुग्न नसक्दा र सानो उमेरको छोरा कता गयो, कता हरायो वा कसैले चोरेर कहाँ पो पु¥यायो कि ? भन्दै चिन्तित हुँदै शोकसविग्नमानस हुँदै, छोराको खोजीमा मेरो आमाको तन र मन विचलित पनि भइरहेको थियो । आमाको मात्र होइन, दाजुहरु र बुबाले पनि चारैतर्फ मेरो खोजी गरिरहनु भएको रहेछ । परिवारका सबै सदस्यहरुसमेत चिन्त्तातुर हुँदै खोजी गरिरहँदा बेलुका पख भत्तःपुरे टोलीहरुसहित म पनि मेरो घर पुगेको थिएँ । प्रजातन्त्रको सानो सिपाहीले गाली मात्र खाएन, गालामासमेत चपेता खानु परेको स्मरण गरिरहँदा अहिले मलाई मेरो आफ्नै बाललीलाले आनन्द दिइरहेछ । 
०००

Comments