कलेज सञ्चालनबारे कलेजका प्राचार्यहरूसँग बैठक
पुष १, २०७७, बुधबार | दिउँसो ०१:४७ बजे | 20
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कलेज सञ्चालनबारे भक्तपुर नगरभित्रका कलेजका प्राचार्यको बैठक सोमबार बस्यो ।
लामो समयदेखि बन्द रहेका कलेजहरु विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्ने सम्बन्धमा बसेको बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकास र उन्नतिको निम्ति भक्तपुरका विद्यालय तथा कलेजहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुहुँदै सामुदायिक र संस्थागत शैक्षिक संस्थाहरुबीच गुणस्तरमा समानता ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न पाउनुपर्ने धारणा व्यक्त गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका शैक्षिक क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्दैै अगाडि बढिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले कलेज सञ्चालन र लकडाउनको समयको शुल्क समायोजनबारे नगरवासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक—शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूसँग राय सुझाव संकलनको क्रममा रहेको बताउनुभयो ।
बैठकमा उपस्थित ११ वटा कलेजका प्राचार्य तथा प्रतिनिधिहरूले नगरपालिकाको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न तयार भएको र अनलाइन कक्षालाई पनि निरन्तरता दिँदै शिक्षकमार्फत विद्यार्थीलाई मनोपरामर्शका कक्षाहरू पनि सञ्चालन गर्ने बताउनुभयो ।
लकडाउन अवधिभर पनि भक्तपुरका अधिकांश कलेजहरूमा अनलाइनबाट पठनपाठन, परीक्षा, भर्नाका कार्यक्रमहरू सञ्चालन हुँदै आएको अवगत गराउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न विद्यार्थी तथा अभिभावकहरूबाट सुझावहरू प्राप्त भएको हुँदा शैक्षिक सत्रलाई सदुपयोग गर्न पनि भौतिक उपस्थितिमा कक्षाहरूलाई सुचारु गर्नुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।
बैठकमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, भक्तपुर नपा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरू रबिन्द्र ज्याख्व, उकेश कवां, प्रेमगोपाल कर्माचार्य, छोरीमैयाँ सुजखुलगायतको उपस्थिति थियो ।