अविवाहित अनामिका आमा कसरी बनिन् ? १


पुष २, २०८१, मङ्गलबार | विहान ०३:१४ बजे | 65


अविवाहित अनामिका आमा कसरी बनिन् ? १

अर्जुन कोण्डा 
मलाई थाहा छैन, कहाँबाट कथा सुरु गरुँ ? मनमा डर छ मेरो कथाले कतै अनामिकालाई चोट पुग्ला कि भन्ने ।
बाह्र कक्षाको परीक्षामा राम्रो जि.पि.ए सहित उतीर्ण भएको खबरले मेरो मन प्रफुल्लित थियो । तर नतिजा लगतै भएको एक घटनाले मेरो मन पनि उतिकै पोलिरहन्छ । खोइ के गरुँ, कसो गरुँ केहि भन्न सकिरहेको छैन । मलाई आफ्नै देशको माटोमा केहि गर्ने मन छ । घरमा भने अस्ट्रेलिया जान उतिकै दवाब छ । हिजो राती पनि राम्ररी सुत्न सकिनँ । साथीभाइहरु पनि विभिन्न देशका लागि उड्ने तयारीमा छन् । मेरो मन भने आन्तरिक द्धन्दमा अल्झेको छ । कारण हुन्, विदेशिएकी अनामिकाको निर्मम भोगाइ र विदेशमा पढ्न जाने मेरो तयारी ।
केहि समय अगाडिको कुरा हो, म सुर्यविनायक मन्दिरमा गणेश भगवानको दर्शन गरेर घर फर्कदै थिएँ । सुर्यविनायकको चोक नपुग्दै मेरो नजर एक परिचित महिलातिर पर्न गयो । मैले उक्त महिलालाई हेरिरहेँ । थाहा थिएन, मैले किन उनलार्इृ हेरिरहेँ? हामीबीच बताउन लायक त्यस्तो कुनै सम्बन्घ पनि त थिएन । उनी उमेरले मभन्दा दुई तीन वर्षले जेठी हुनुपर्छ । उनी मलेसियाबाट फर्कनुभएको हिजो जस्तै लाग्थ्यो । फर्कदा उनीसँग एउटा सुटकेश र सामान राख्ने एउटा झोलाबाहेक केहि थिएन भनेर उनकै छिमेकीले भनेको याद छ । उनी अलि मोटाएकी थिइन्, उनको पेट अलि सुनिएजस्तो लाग्थ्यो । निलो कुर्ता सुरुवालमा उनी राम्रै देखिन्थिन् । 
केहि दिनपछि टोलमा अनौठो हल्ला चल्न थाल्यो । हल्ला पनि कस्तो भने बताउन मिल्ने खालको थिएन । विदेश  जानुअघि सम्म उनको विवाह भएको थिएन । विदेशमा पनि उनको कसैसँग सम्बन्ध छ भन्ने सुनेको पनि थिएन । तर अचानक टोलमा उनी गर्भवती भै फर्किएको खबरले चारैतिर हल्ला फैलियो  । आखिर उनी गर्भवती भएकै हुन् भन्ने मलाई  विश्वास पनि लागेको थिएन । यो हल्ला साँचो नै भएपनि अचम्म मान्नुपर्ने कुनै कारण थिएन । सायद उनले विदेशमा नै बिहे गरेकी हुनुपर्छ । परिवारको बोझ थाम्न विदेशिएकी एउटा नारीको चरित्रमाथि प्रश्न गर्ने मेरो अधिकार पनि त छैन । तैपनि हल्ला यसरी फैलियो कि उहाले थेग्नै सक्ने खालकै थिएन । फेरी सबैलाई स्पष्टिकरण दिँदै हिड्ने कुरो पनि त होइन । मलाई मेरै समाजसँग रिस उठ्यो । एक जना महिलाको व्यक्तिगत जिवनमा असर पर्ने गरी बिना प्रमाण चरित्रमा प्रश्न गर्नु कुन नैतिकताले दिन्छ? मनमा यावत् कुराहरु खेलिरहन्थ्यो?
आर्थिक सफलताको सिढीँ चढ्न उहाँ विदेशिनु भएको धेरै वर्ष भएको पनि त छैन । मध्यम वर्गीय परिवारमा जन्मेकी उक्त महिलाको बारे यसअघि खासै सुनेको पनि थिएन । परिवारले गर्ने चचाृले यस्तो लाग्थ्यो, सायद कुनै विवशताले विदेशिनु परेको हुनुपर्छ । मलाई पनि त आफ्नै विवशता त छ । विदेशमा पुगेर सुनको मान्छे होइने पनि त होइन । दश नंग्रा नखियाई आफ्नो देशमा त खान पाइन्न भने झन विदेशमा के पाइएला र ? तर मलाई विदेशिन हौस्याउनेको पनि कमी छैन । आफन्तहरु जापान, अमेरिका, अस्ट्रेलियादेखि खाडी मुलुकसम्म छरिएर रहेका छन् । फेसबुकमा राखिने रंगीन तस्बीरलाई आफन्तको प्रगति देख्ने मनुवालाई मेरो भन्नु केहि छैन । तर खोइ किन हो, उक्त महिलासँग भएको भेटले मेरो मनमा विभिन्न तरंग आइरहन्थ्यो। अनि त के चाहियो र? मनमा उक्त महिला बारेमा जानकारी प्राप्त गर्ने उत्सुकता बढ्दै गयो । बेलूकी आमासँग ठूलो हिम्मत गरी सोधेँ , “आमा, अनामिका को हुन्? किन उनलाई सबैले नराम्रो नजरले हेर्छन्?”
आमाले भन्नुभयो – को? उही अनामिका?
हो, आमा – मैले भनेँ । अनि फेरी सोधेँ – अनामिकालाई किन अरुले जथाभावी भनेको, आमा ? अनामिकाको केहि गल्ती थियो र? आमालाई पनि अनामिकाको बारे अरुले कुरा कुरा काटेको मन परेको थिएन । उहाँले भन्नुभयो – समाजको जात नै कुरा काट्ने हो । विदेश जानुअघि हुटिहारा भने, जाँदा अरुसँग सल्की भने अनि फर्कदा अस्मितामाथि नै धावा बोलेर पेट बोकेर आई भने । नारी भएर बाँच्न गा¥हो छ, बाबु । 
म भर्खर विद्यालय सकेको अल्लारे ठिटोले आमाको कुरा के बुझ्नु ? 
म विभिन्न कन्सल्टेन्सी धाउँदैमा व्यस्त थिएँ । यस्तैमा केहि दिन पछि मैले फेरी अनामिकालाई भेटेँ । म सुर्यविनायकको तरकारी बजारमा तरकारी किनेर फर्कदै थिएँ । मेरो बाइकको अगाडि प्रहरीको गाडी थियो । गाडीभित्र अनामिका प्रहरीको बीचमा मलिन अनुहार लिएर निहुरेर बसेकी थिइन् । परैबाट देखेँ, उनका हातमा पछ्योेैरीले बेरिएको नवजात शिशु । म निशब्द भएँ । 
त्यतिखेर मैले उनको मुहारमा के देखेँ, अहिले बताउन सक्दिनँ । सायद ती आँखाहरुमा मैले आश्चर्य , विश्मय र मातृस्नेह देखेको हुनुपर्छ । घर पुगी आमालाई सोधेँ– आखिर के भएको रहेछ?
आमा भावविह्वल भै सुक्सुकाउनुभयो । मैले केहि बुझ्न सकिनँ– आमाले भन्नुभयो । यसै क्रममा आमाले मेरो हातमा एउटा डायरी राखी भन्नु भयो – अनामिकालाई प्रहरीले घेर्दा उनको हातबाट खसेको देखेर मैले टिपेको, उनलाई फर्काउनू है ।
मैले डायरीलाई नियालेर हेरेँ, आवरणमा एउटा मनमोहक चित्र थियो– काठमाण्डौ उपत्यकाको जिवित देवी कुमारीको रंगीन चित्र । भित्र पाना पल्टाएर हेर्ने इच्छा त थियो । आमाले गाली गर्दै भन्नुभयोे – अर्काको निजि जिवनबारे लेखिएको डायरी पढ्न हुँदैन । म लुसुक्क आफ्नो कोठामा पसेँ र डायरीलाई टेबुलमा राखी विस्तरामा पल्टिएँ ।
यो वर्ष जेष्ठ महिनामा अचाक्ली गर्मी थियो । असार  र श्रावणमा पनि तापक्रम घट्ने छाँटकाँट थिएन । पानी परेपनि गर्मी घटेको थिएन । निन्द्रा नलागेकोले कोठाको पंखालाई नचलाइरहन सकिनँ । पंखा आफ्नो लयमा चल्दै थियो, दिमागमा चल्दै थियो , त केवल अनामिका ।
एकाएक निस्पट्ट अँध्यारो भयो । सायद बत्ती गएको हुनुपर्छ । सपनामा आइन् उनै अनामिका । अनामिका मेरो पलङ सामुन्ने उभिएकी थिइन् । । म भन्न सक्दिनँ, उनी किन आइन्? दिउँसो प्रहरीको गाडीमा लगाएकै निलो कुर्ता सुरुवालमा उनी मेरो सामू उभिइन् । पछाडी अनामिकाकी आमा । अनामिकाको आँखामा आँसु पिलपिल बगिरहेको थियो । उनकी आमा अनामिकालाई भन्दै थिइन् , तँ समाजको कलङ्क होस्, कन्यादान अघि छोरी जन्माउन तँलाई लाज लाग्दैन ? कोसँग लागिस् र पेट बोकेर आइस्, भन् । जसको पेट बोकेकी होस् , उसैकोमा जा ।
रिसको आगो ओकेलिरहेकी उनकी आमाको मुखबाट आएको आगोको लप्काले अनामिका नराम्ररी जलिन् । उक्त जलनलाई आँसुको वर्षाले उनी कम गर्ने प्रयास गर्दै थिइन् । तर सकिनन् । उनी भन्दै थिइन् – आमा, मैले नहुने केहि काम गरेकै छैन, कोहि पुरुषसँग लसपस गरेकै छैन । मलाई त यो पनि थाहा छैन, म कसरी गर्भवती भएँ ? भन्नुुुस् न आमा, म कसरी अपराधी भएँ ? म न बाँच्न सक्छु, न त मर्न सक्छु । म कुण्ठित छु, विखण्डित छु, ऐनाझै फुटिएकी छु , कहिल्यै नजोडिने गरी।यो समाजले मेरो कथा  बुझेन, आमा । तपाई त आमा हुनुहन्छ, म के गरुँ, आमा? मजस्ती कुमारी आमाको कथा कहाँ गएर कसलाई पोखूँ ? कसले सुन्ने, कसलाई भन्ने ? कुन कानूनले मेरो रक्षा गर्छ ? बोल्दा बोल्दा उनको बोली नै अवरुद्ध भयो र आँसु लिएर ठिङ्ग उभिइरहिन् । उनकी आमा उनको कुरा सुनेर अघि नै मुर्छा परिसकेकी रहिछिन् ।मैेले सोचेँ, वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूला मानवियता रहेछ। अनामिकाले आफ्नो अमूल्य जिवनको महत्वपूर्ण दुई वर्ष परिवारको भविष्यका लागि विदेशमा बिताइन् तर विदेशले उनको नारी अस्मिता माथि भदा मजाक ग¥यो । भोलिपल्ट बिहान आँखा खोल्दा पलङबाट खसेछु । ब्युझिदा अनामिका र उनकी आमा कोठामा थिइनन् । 

पछि चिया खान जाँदा पसलमा मान्छेहरुको गनगन सुनेँ । कान्तिपुर पत्रिकाको  पहिलो पृष्ठमा नवजात शिशुको फोटो सहित छापिएको रहेछ,
“ फोहरको डङ्गुरमा नवजात शिशु फेला,
छोरी रोएको हेर्न आएकी आमा पक्राउ ”
घर फर्कदा डायरी टेबुलमै थियो, फेरी मैले डायरीलाई नियालेर हेरेँ, आवरणमा उही मनमोहक चित्र – काठमाण्डौ उपत्यकाको जिवित देवी कुमारी । कालो मसीले मुनि लेखिएको थियो, अनामिका । तर मनमा कुरा खेलिरह्यो –अविवाहित अनामिका आमा कसरी बनिन् ?

Comments