बेतद्यो


मंसिर २२, २०८१, शनिबार | विहान ०२:४४ बजे | 35


बेतद्यो

अर्जुन कोन्दा
बेतद्यो भर्खरको अल्लारे ठिटोका रुपमा बिस्काजात्राकोे रथ तान्न खेत खेतसम्म बोलाउन आउँथे अरे । आमाले सानो छँदा सुनाएको कथा आज पनि सम्झिरहेको छु । मैले उतिखेर सोधेको थिएँ, आमा भगवान पनि मानिस बनेर आउँछ र? आमा मुसुमुसु हाँस्नु हुन्थ्यो ।
म थप व्यग्र भएर सोेध्थेँ, आमा तपाईले भगवानलाई देख्नुभएको छ? 
मैले आफू सानो छँदा सोधेको बाल्यकालको प्रश्न आमा अझै सम्झनुहुन्छ । म आज पनि आमासँग फेरि बेतद्योबारे प्रश्न सोधिरहेको छु । मैले अस्तिमात्र छोरीसँग तमाह्रीको भैरवनाथको दर्शन गरी बेतद्यो मन्दिरमा बेतद्यो दर्शन गर्न गएको थिएँ । त्यहाँ बेतद्योलाई छतमा सिक्रीले बाँधिराखेको देखेर छोरी छक्क परिन् । भगवानलाई पनि किन सिक्रीले बाँधेर राखेको भनी बाल जिज्ञासा राखिन् । मैले हजुर आमासँग सोध्न भनेको थिएँ।
घर नपुग्दै छोरीले हजुुर आमालाई सोधी, तमाह्रीको भैरवनाथ मन्दिरको पछाडि रहेको बेतद्यो मन्दिरमा बेतद्योको मूर्तिलाई किन सिक्रीले बाँधेर राखेको होला, अजि (हजुरआमा )?
अलि उपद्रो स्वभावको भएर, हजुर आमाले जवाफ दिनुभयो । बेतद्यो धेरै चकचके र बदमास भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यति उपद्रो स्वभावको थियो कि महिला भक्तजनलाई पनि शरीरमा छोएर जिस्काउन भ्याइहाल्थे अरे । मानिसहरु रिसाएर सिक्रिले बाँधेको आमाले सुनाउनुभयो । सिक्रीको कहानी टुङ्ग्याउँदै आमाले भन्नुभयो, त्यसैले अरुले भनेको नटेर्ने अटेरी उद्धन्द स्वभावका बच्चाहरुलाई बेत ः वाहन भन्ने गरिन्थ्यो रे । आमाको कथा रमाइलो लाग्यो । अनि बेतद्योको कथा पूरै भन्न आग्रह गरेँ । आमाले फेरि सानो बेला सुनाउने गरेको उलिचाया बाखँ थुलिचाको श्रृङ्खला फेरि सुनाउने जमर्को गर्नुभयो। आमाले भन्नुभयो, सुन्ने हो त बेतद्योको कथा ?
बाल्यकालको उत्सुकता यतिकै जागृत हुन थाल्यो । सायद आफू सानो हुँदो हो त, आमाको कोखमा लडिबुडी गर्दै आमासँग ताँसिएर कथा सुन्न जान्थेँ हुँला । तापनि आमाको छेउमा बस्न गई कथा सुन्दा पनि बेग्लै मज्जा लाग्यो । यो त मेरो सौभाग्यको कुरा हो, छोराछोरीलाई कथा सुनाउने बेला मैले आमाबाट कथा सुन्ने मौका अझ पाइरहेको छु । मैले छोरीहरुलाई पनि आमा भएको कोठामा डाकेँ ।
आमालाई चारैतिर घेरा हाली कथाको श्री गणेश गर्न अनुरोध गरेँ । श्रीमती भने चिया पकाउन भन्दै भान्सामा गइन् । छोरीले नेवारी लवजमा सोधी, अजी (हजुरआमा) आज कुन कथा सुनाउने?
मैले भनेँ, आज हजुरआमाबाट बेतद्योको कथा सुन्ने है । ध्यान दिएर सुन । स्कूलमा साथीहरुलाई पनि सुनाउनू नि ।
छोरीले भनी, हस् । छोरीको हातको मोबाइल लिई गोजीमा राखेँ ।
आमाले भन्न थाल्नुभयो, तिमीहरुले  बेतद्यो भन्ने सुनेका छौ त?
 छोरीले छैन भनी ।
त्यसोभए लौ सुन । धेरै वर्ष पहिले भक्तपुरलाई ख्वप भन्ने गरिन्थ्यो । अनि हामी ख्वपमा बस्नेलाई ख्वपय् भनेर चिनिन्थ्यो । भैरवनाथलाई काशी विश्वनाथ र बेतद्योलाई शिव भगवानको वाहन रुपमा चिन्ने गरिन्थ्यो । मैले जिज्ञासा राखेँ, काशी विश्वनाथ चैँ किन भनिएको नि? आमाले काशी विश्वनाथ मान्छेको रुप धारण गरेर बिस्का जात्रा हेर्न आउँदा ख्वपका तान्त्रिकले समाउन खोजेको कुरा बताउनुभयो । अनि के भयो त?
 समाउन खोजेको चाल पाएर जमिनमा ढसिएर जाँदा शीर छेदन गरेर भैरवनाथको मन्दिरमा स्थापना गरेको किवदन्ती सुनाउनुभयो । आमाले फेरि भन्नुभयो, आज चैँ बेतद्योको कथा नै सुनाउँछु ल ।
 धेरै वर्ष पहिलेको कुरा हो, चैत्र महिना सकिनै लागेको थियो । मानिसहरु बिस्का जात्राको तयारी गर्दै थिए। त्यस समय ङातापोल्हँ पनि बन्दै थियो सायद । त्यतिबेला बेतद्यो मान्छे बनी खेत –खेतमा गई किसानहरुलाई सहयोग गर्ने गर्थे भनी विश्वास गर्थे ।
आशामरु नाम गरेका एक जना ज्यापू नगरको पूर्वमा रहेको आफ्नो खेतमा ढिलासम्म काम गरिरहेको थियो । त्यतिखेर त्यस ज्यापूको हातमा घडी पनि थिएन । उतिखेर खेतमा काम गर्ने ज्यापूहरु आकाशमा सुर्यको अवस्थिति हेरेर समयको अन्दाज गर्थे । त्यस दिन त्यो ज्यापूलाई समयको अन्दाज नै भएन । ऊ काममा नै भुलिरह्यो ।
छोरीले सोधी, हजुरआमा, ज्यापू भनेको को हो? आमाले मुसुमुसु हाँस्दै भन्नुभयो, नेवारी भाषामा ज्या भनेको काम हो । अनि भूतले जसरी धेरै काम गर्ने भएकोले ज्याया भूत् हुँदै ज्यापू भनेको हो ।
 हामी पनि ज्यापू हो र आमा? खेतको काम गर्ने सबै किसान ज्यापू हुन् । ए! भन्दै छोरीले फेरि सोधी, बाबा सुर्य हेरेर पनि समय थाहा हुन्छ र? मैले हुन्छ भनेँ ।  पहिले पानी घडी र सुर्य घडी प्रचलनमा रहेको बताएँ । छोरीको प्रश्नमा अल्झिएमा कथा सुन्न पाइन्न भन्ने लागेर छोरीलाई थोरै हप्काउँदै कथा सुन्न र बीचमा नबोल्न भनेँ ।
त्यस दिन खेतमा अनौठो घटना घट्यो । भर्खर एक जना बा¥ह ते¥ह वर्षको गहुँ वर्णको अल्लारे ठिटो त्यस ज्यापूको खेतको आलीमा आएर बसिरहे । कामको धूनमा आशामरुलाई त्यो अल्लारे ठिटोलाई ध्यान दिइरहेकै थिएन । हुन त त्यो समयमा ज्यापूको काम खेतमा मरिमेट्ने मात्र थियो र उब्जनीमा साहू महाजनकै रजाइँ हुन्थ्यो । वर्षभरि काम गरेर पनि घरमा बच्चाहरु भोकै हुन्थे । ज्यापूलाई त्यतिखेर मोनी– बिस्काजस्ता चाडवाड भन्नु त दशा नै ठहरिन्थ्यो । तर उनीहरुसँग अर्को विकल्प पनि थिएन । त्यसैले होला, आशामरुलाई पनि बिस्का जात्राले छोएकै थिएन ।
अचानक आशामरुको कानमा भैरवनाथको रथ तानेको आवाज गुञ्जिएजस्तो भयो ।
हस्से हाँइस्सेको आवाज आफ्नो कानमा बज्दा उनी छक्क परे । उनलाई विश्वास नै लाग्न सकेन कि रथ तानेको र गुडेको आवाज उनको खेतसम्म आइपुग्छ भन्ने । हुन त उतिखेर नगरको वरिपरि नगन्य मात्रामा मात्र घरहरु भएकाले उनलाई असम्भवजस्तो पनि लागेन ।
बल्ल उनले त्यो अल्लारे ठिटोलाई याद गरे । आशामरुले सोधे, बिस्काजात्रा हेर्न जानु पर्दैन? त्यस अल्लारे ठिटोले भने, म त तपाईलाई नै कुरेर बसेको । रथ तान्न जानलाई साथी नै मिलेन। सँगै जाऔँ, न हुन्न?
आशामरुले भनिहाले, होइन, नजाने । खेतको काम कसले गर्दिन्छ र? त्यस ठिटोले भने, रमाइलो गर्न छाडेर हजुर पनि । आशामरुलाई पनि हो जस्तो लाग्यो । उनले त्यस केटाको घर कहाँ हो? भनी सोधे । तमाह्रीनेर, उनले जवाफ  दिए ।
आशामरुमा भैरवनाथको रथ तान्ने अभिलाषा बढ्न थाल्यो । उनले नजिकको कुवामा हात गोडा धोई घर फर्किन तयार भए । आशामरुले खेतमा काम गर्ने सामानहरु खर्पनमा मिलाइरहँदा फेरि हस्से हाइस्सेको आवाज उनको कानमा ठूलो स्वरमा गुञ्जियो । मान्छेहरुको कोलाहलले आशामरु खेतमा बसिरहनै सकेन । 
त्यतिकैमा त्यस अल्लारे ठिटोले भने, म अरु साथीहरुलाई पनि बोलाएर आउँछु । तपाई जाँदै गर्नुस् न है । आशामरुले सँगै जान भनेपनि त्यस ठिटाले मान्दै मानेनन् । त्यस ठिटो बेतद्यो भनेर अझ सम्म पनि आशामरुले चिन्नै सकेन । उनी एक्लै खर्पन बोकेर सुजमारीमा वाकुपति नारायणको दर्शन गर्दै घर पुगे । घर फर्किदै गर्दा साँच्चिकै बजारमा रथ तान्नेहरुको घुइचो नै थियो । रथ बन्दै गरेको ङातापोल्हँ अगाडि नै थियो । रथ कहिले थनेतिर र कहिले क्वनेतिर तान्ने प्रयास हुँदै थियो । मानिसहरु नयाँ घरबुना लुगा लगाएर बिस्कामा सरिक हुँदै थिए ।
आशामरु घर पुगे । घर पुग्दा बच्चाहरु घरमा थिएनन् । सायद बाहिर खेल्न गएका थिए । तैपनि आशामरुले ःश्रीमती हाकुमायालाई सोधे, बच्चाहरु खोई त? बच्चाहरु बाहिर खेल्न गएको जवाफ हाकुमायाले दिइन् । आशामरुले श्रीमतीलाई आफू पनि बजार पुगेर आउँछु भने । हाकुमायाले भान्सामा छ्वाली बालेर चुल्हामा खाना पकाउँदै थिइन् । बाँसको ढुङ्ग्रोले फु फु गर्दा उनका आँखा गोलभेडाजस्ता राता देखिन्थे । आशामरुले कसैको कुरा सुन्नै मानेनन् । घरमै बनेको एक कचौरा जाँड खाई उनी बजार तिर हुत्तिए । बजारमा पुग्दा रथ साँकोठा भन्ने ठाउँमा पुगिसकेको थियो । उनले बजारमा आफ्नो साथी लक्ष्मीनाराँलाई भेटे ।लक्ष्मी नाराँसँग दिउँसोको घटना बताउँदै रथ तान्न तम्सिए ।
त्यस दिन कसैले रथ तान्नै सकिरहेकेो थिएन । भैरवनाथको अगाडि रहेको बेतालको मुहार मलिन थियो । मानिसहरु हस्से र हाइँस्से गर्दै थिए । रथले डेग चलेन। कोही अनिष्ट हुने भयो भनेर गफ गरिहेका थिए । जसै आशामरुले डोरी समाते बेताद्योको मुहारमा हाँसो देखियो । रथ बेस्सरी कुद्न थाल्यो । रथ बेस्सरी कुद्देै आशामरु भएतिर आइपुग्यो ।् मान्छेहरु हस्से हाँइसेमा रम्दै रथ तान्न थाले ।
उनले भाग्न त खोजे, तर सकेनन्, उनी डोरीमै अल्झे । एकाएक भागदौड मच्चियो । मान्छेहरु भन्न थाले, मान्छे किचियो । लक्ष्मीनाराँ पनि भीडमा आशामरुलाई खोज्न थाले । भेटाउनै सकेनन् । आशामरु त भैरवनाथको रथको पाङ्ग्रा मुनि उखुझै पिसिएका थिए । तर भुइमा खासै रगत देखिन्नथ्यो । मान्छेहरु भनिरहेका थिए, बेताद्योले मान्छे खाए । 
आमालाई बीचमै रोकेर भनेँ, त्यो त दुर्घटना पो हो त, आमा । बेतद्योको के दोष ? आमाले मुन्टो हल्लाउँदै भन्नुभयो, त्यसपछि लक्ष्मीनाराँ आशामरुको मृत्युको खबर लिएर हाकुमायाको घर पुग्दा सबैजना सुतिसकेका थिए । हाकुमायाले उठेर ढोका खोल्दा लोग्ने मरेको खबर पाइन् । मृत्यको खबरले हाकुमाया ठाउँको ठाउँ बेहोस भइन् । होसमा आउँदा गुठिहारहरुले लाश घरसामु ल्याइसकेका थिए । छोराहरु पनि आशामरुलाई अँगालो हालेर रोइरहेका थिए । त्यसबेलादेखि बेतद्यो हाँसेमा वा रिसाएमा अनिष्ट हुने विश्वास गर्न थालियो रे, आमाले बताउनुभयो । अनि खेतमा रथ तान्न बोलाउन आउँदा जान नहुने पनि विश्वास गर्न थालियो रे ।
आमाले कथा सकाउनुभयो । छोरीहरु त हजुर आमाको छेवैमा सुतिसकेका थिए । मैले सोधेँ, ङातापोल्हँको गजुर पनि बेताद्योले नै राखेको रे, हो र, आमा ?आमाले आफूले पनि त्यस्तै सुनेको बताउन्ुभयो । मैले अर्को दिन ङातापोल्हँको कथा सुनाउन आग्रह गर्दै कोठाबाट बाहिर निस्किएँ । राती सपनामा मान्छेहरुले भैरवनाथको रथ थनेतिर तान्दै गरेको देखेँ  थने र क्वने तान्ने रस्साकसीका बीच हस्से हाइस्से गर्दै गर्दा बेतद्योले मलाई नै हेरिरहेको महसुस भयो । मनमा डर र खुशी दुबै बढ्न थाल्यो । मनमनै बेतद्योलाई नमस्कार गरेँ ।


















Comments