सी. टी. एल. मजदुर आन्दोलन पुस्तक सार्वजनिक
मंसिर १८, २०८१, मङ्गलबार | दिउँसो ०१:२३ बजे | 25
मंसीर-१८, भक्तपुर। नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ सि.टि.एल एकाइको प्रकाशन सी. टी. एल. मजदुर आन्दोलन पुस्तक प्रकाशन र परिचर्चा कार्यक्रम सम्पन्न भयो। २०६९/०७० सालमा उक्त उध्योगगमा कार्यरत चार जना मजदुरहरुलाई गैरकानुनी रूपमा निस्कासन गर्न खोज्दा मजदुर आन्दोलन भएको थियो। १०४ दिनसम्म चलेको आन्दोलन अन्तिममा वार्ताद्वारा टुङ्गिएको थियो। उक्त विषयमा प्रकाशित पुस्तकबारे नेपाल क्रान्तिकारी मजदुर संघ जिल्ला समिति भक्तपुरका कोषाध्यक्ष विष्णु राम दुमरूले मजदुर एकताले जस्तो सुकै शक्तिलाई परास्त गर्न सकिने उदाहरण सीटीएल मजदुर आन्दोलन हो भन्नुभयो। पुस्तक प्रकाशनले अन्य उध्योग प्रतिस्थापनको लागि मार्गदर्शन भएको भन्दै उहाँले साम्राज्यवादी अमेरिकाको कारण विश्वमा अशान्ति भइरहेको वताउनु भयो।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले १०४ दिनसम्म चलेको मजदुर आन्दोलनका घटना परिघट्नाबारे सिलसिलेवार चर्चा गर्दै पुस्तक प्रकाशनले इतिहासलाई जिवित पारेकोमा खुशी प्रकट गर्नुभयो।
उध्योगगमा मजदुर आन्दोलन शिथिल पार्न पैसाको बिट्टो दिने, युनियन पदाधिकारीलाई लोभमा फसाउने, डरत्रास देखाउने अनेक घटनाबारे चर्चा गर्दै वौद्धिक मजदुर र शारीरिक मजदुरबीच भेदभाव गर्न नहुने प्रष्ट पार्नुभयो।
कार्यक्रममा अधिवक्ता एवं मेलमिलापकर्ता विकल प्रजापतिले ढिलै भएपनि पुस्तक प्रकाशनले संगठनको योगदानको कदर र महत्व उजागर भएको वताउनु भयो। पुस्तकमा भएका कमीकमजोरीबारे छलफल गरि औल्याउनु पर्ने वताउनु हुँदै उहाँले सीटीएल मजदुर आन्दोलन नेपाल क्रान्तिकारी मजदुर संघको इतिहासको एक उपलब्धि भएको वताउनुभयो।
एकाइ समितिका अध्यक्ष कृष्ण हरि आगनजाको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्व सचिव दिनेश ग्वाच्छा, सल्लाहकार एवं पूर्व अध्यक्ष रूकेश कवां, राजकुमार लिबी, दीपा श्रेष्ठलगायतले पुस्तक र आन्दोलनका विभिन्न पक्षहरूबारे चर्चा गर्नुभएको थियो।