जीवाको चौतारी भित्र डुबुल्की मार्दा
मंसिर ३, २०८१, सोमबार | विहान ०५:५७ बजे | 35
डा इन्दुल केसी
श्री मुकुन्द अर्यालज्यूले लेख्नुभएको ‘जीबाको चौतारी’ उपन्यास मैले सरसर्ती पढेँ । यस पुस्तकमा लेखिएको आधारमा मुकुन्द अर्यालजीको संक्षिप्त परिचय, उहाँको माताको नाम दुर्गा अर्याल हो भने बुबाको नाम स्व. द्रोणराज अर्याल हो । उहाँ पुतलीबजार न.पा.–११, जैसीडाँडा, स्याङ्जामा जन्मनु भयो । उहाँको शैक्षिक योग्यता एम.बि.ए. रहेको छ । उहाँका हालसम्म प्रकाशित कृतिहरु ः आँधीखोलाको सुसेली (कवितासङ्ग्रह), मान्छेभित्रको मान्छे (कवितासङ्ग्रह), सुखको बाटो (लघु उपन्यास, प्रकाशक रावाबैङ्क) रहेका छन् ।
पुस्तक परिचय
श्री मुकुन्द अर्यालले लेख्नुभएको यस पुस्तकको आवरण आइडियल डिजाइनर्स, बागबजारले गरेको हो । पुस्तकको शीर्षकसँग मेलखाने गरी चौतारीको रङ्गीन चित्र प्रस्तुत गरिएको छ । यसै उपन्यासबाट कभरको अन्तिम पृष्ठमा एक अनुच्छेद प्रस्तुत गरिएको छ । “जीबाले सकीनसकी तबेलामा गएर आफ्नो घोडा सुम्सुम्याए । म्वाइ खाए । एकाएक घोडाका आँखा आँसुले टिलपिल भए ।
घोडासँगै धित मरिन्जेल रोए जीबा, यो कारुणिक दृश्य देखेर कान्जीबा, परिवारका सदस्य र गाउँलेहरुले पीडाको बेग रोक्न सकेनन् । र, फेरि एकपटक आँधीखोलाले आँसुको अन्जुली पायो ।”
मुकुन्द अर्यालजीद्वारा लिखित ‘जीबाको चौतारी’ नामक पुस्तकको नामाकरण नै आकर्षक यस अर्थमा रहन गयो की जीबाहरु भेटघाट र विचार आदान प्रदान गर्ने बिसौनी हो यो पुस्तक । यस सामाजिक उपन्यासलाई मानव जीवनका विविध आयाम समेटेको छ । पुस्तकको समर्पण “मानव जीवनको सार खोज्ने र समस्त लोकको भलो चाहने सबैमा” भनेर गरिएको छ । विश्राम खोजिरहेकालाई विश्राम र प्रेरणा खोजिरहेकालाई प्रेरण दिनसक्ने यस सामाजिक उपनिषदले जीवनलाई सार्थक गराउने छ भन्ने विश्वास मैले लिएको छु ।
उपनिषदकालीन दध्यङ ऋषि, देवराज इन्द्र, अश्वीनीकुमार र चेतक घोडाबीचको प्रसङ्ग उठाएर जीबा दध्यङ ऋषिको वंशज र उनले चढ्ने गरेको घोडा चेतक घोडाको वंशज हुनसक्ने संकेत मेरो बुझाइ रह्यो । जीबा र घोडाको सम्बन्धको अन्तर्यलाई दैवी अंशको रुपमा प्रस्तुत गरेर उपन्यासमा लेखकको कल्पनाशीलत्वको उत्कर्षको संकेत पाइन्छ ।
जीबाको चौतारीमा आर्य संस्कृतिको परमपुरुषार्थ धर्म, अर्थ, काम, मोक्षका सम्बन्धमा बिचार विमर्श हुने थलोका रुप दिएर नेपाली ग्रामिण समाजमा रहेको दार्शनिक चेतको संकेत गरिएको छ ।
जीबा, एक महर्षि र घोडामा दैवी अंश, जीवभन्दा माथिल्लो स्तरको बताएर घोडाको व्यवहारलाई अझ बढि रहस्यमयी बताइएको छ । पूर्वीय वैदिक दर्शनको ज्ञानबाट आलोकित भएर आत्म÷विश्वकल्याणमा लाग्नुपर्ने हामीहरु आत्महनन् तर्फ किन लागिरहेका छौ भनेर चिन्ता व्यक्त गरिएको छ ।
ज्ञान÷अध्यात्मले शरीर र शरीरबीचको सम्बन्ध बुझाउँछ भने धर्मले धारणीय÷पालनीय व्यवहार नै भगवद् धामसम्म पुग्ने उपाय हो भन्ने निक्र्यौल निकाल्नु लेखकको गहन आध्यात्मिक यात्राको संकेतक हो । धर्म भनेको सत्य, न्याय र सत्कर्म हो भन्ने लेखिदिएर लेखकले कल्याणकामीहरुलाई बाटो तय गर्न सहज बनाइदिनु भएको छ ।
विभिन्न पन्थहरु, फरक स्वरुपका भगवान्प्रति आस्थावान् छन् भनेर धार्मिक एकताको जग बसालिदिनुभएको छ लेखकले । मानव संस्कृति, परम्परा र मानव – मानवसम्बन्ध, मानव – इश्वरसम्बन्ध र मानव – प्रकृतिसम्बन्ध जस्ता विषय चौतारी चर्यामा प्रस्तुत गर्न सफल अर्यालजीको प्रशंसा नगरी रहन सकिन्न ।
काञ्जीबाले जीबाको भनाइको स्मरण गरे भनेर यस प्रकारको शैलीमा लेखकले प्रस्तुत गर्नुभएको विचार पुस्तक भरी नै यथेष्ट मात्रामा पाइन्छ । यीमध्ये एक नमूना विचार हो “धेरै लामो आयुभन्दा पनि सुखी, स्वस्थ, पौरखी, आनन्दी र सार्थक जीवन माग्नु उचित हुने”
विश्व साहित्यको क्षेत्रमा विविध विधाहरुमध्ये उपन्यास विधा पनि एक महत्वपूर्ण विधा हो । नेपाली साहित्यमा पनि धेरै उपन्यासकारहरुले विविध सामाजिक, धार्मिक, आर्थिक आदि विषयहरुमा केन्द्रित भइ लेख्नुभएका उपन्यासहरु प्रसस्त छन् । यीनै क्रममा मुकुन्द अर्यालजीद्वारा लिखित यस ‘जीबाका चौतारी’ उपन्यास १५८ पृष्ठमा फैलिएको छ । प्रस्तुत उपन्यासलाई ६ वटा प्रकरणहरुमा विभाजन गरिएको छ । साथै पुस्तकको अन्तमा जैसी डाँडा, काठमाडौं समाज नेपालसमेत ४६ वटा संघ संस्थाहरु र व्यक्तिहरुलाई धन्यवादसमेत दिनुभएको छ । पुस्तकको आरम्भीय प्रकरण चौतारी हो भने समापनीय प्रकरण पनि चौतारी नै रहेको छ । प्रस्तुत पुस्तक समाजको लागि अन्त्यन्त उपयोगी भएकोले पाठकहरुले यस उपन्यासलाई पूर्ण रुपमा मनन् गर्न र अरुलाई पनि यस पुस्तक अध्ययन गर्नका लागि प्रेरित गर्नुहुन म अनुरोध गर्न चाहन्छु ।
०००