महानगरको पाठयक्रम, संस्कृति सिकाउन ऐतिहासिक कदम


मंसिर २५, २०७७, बिहीबार | दिउँसो ०१:३१ बजे | 55


सुनील महर्जन    
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म येँ देय् म्हसिके’ पाठयपुस्तक पढाउने तयारी अघि बढाएको छ ।
स्थानीय पाठ्यक्रम अन्तर्गत महानगरपालिकाले नेपाल भाषाको माध्यमबाट सो विषय अनिवार्य रुपमा पढाउन लागिएको हो । यसका लागि महानगरपालिकाले सो पाठयक्रम तयार गरिसकेको छ । सो पाठयक्रम आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने महानगरपालिकाले जनाएको छ ।
पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको छ । त्यसैगरी पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवाःको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् ।
महानगरपालिकाको ५१ आँै कार्यपालिका बैठकले चालु आर्थिक वर्षको शैक्षिक शत्रबाटै पठन–पाठन शुरु गर्ने निर्णय गरेको थियो । तर, कोरोना र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइ लगायतका काममा केही ढिलाई भएको महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनालले बताउनुभयो । यद्यपि, महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्यम ममार्फत पठन–पाठन अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो ।
स्थानीय तहले स्थानीय पाठयक्रम पढाउने सक्ने संविधान प्रदत्त मौलिक हक अन्तर्गत सो पाठयक्रम तयारी गरी पढाउन लागिएको हो । संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
सोही अनुरुप महानगरपालिको पढाउने तयारी गरेको हो । महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, तीन वटा विशेष र तीन वटा विद्यालय बन्दीहरुका लागि रहेको छ । संस्थागत विद्यालयको संख्या करिब ६ सय ४० रहेको छ । ती सबै विद्यालयमा १०० पूर्णाङ्ककोे पठन–पाठन हुने महानगरपालिकाले जनाएको छ ।
‘ महानगरपालिकाले चाडपर्व, संस्कार मूृत र अमूर्त संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन शुरु गरेका हौँ,’ उहाँले भन्नुभयो ।
महानगरपालिकामा ऐतिहासिक काल देखि नेपालभाषा मातृभाषा हुनेहरुको विशेष बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपालभाषामै तयार गरेको पनि अधिकृत मोती खनालले बताउनुभयो ।
काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको हो ।
पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिकालाई नेपाल भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ यो पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिन्छ । यसको उद्देश्य पनि यही नै हो ।’
बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिनुभयो । ‘कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ उहाँले भन्नुभयो, ‘कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरेका छौँ ।’संस्कृतिविद् बज्राचार्यले भन्नुभयो ।
महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ ।
 ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने तयारी भएको छ,’ डा. वज्राचार्यले भन्नुभयो ।
महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजायनमा गइसकेको छ । पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ । पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ ।
‘ऐतिहासिक निर्णय’
महानगरपालिकाको यस निर्णयप्रति मातृभाषाको माध्यमबाट पढाउनुपर्ने अभियानमा दशकौेदेखि लागेको अभियन्ताहरु सकारात्मक रुपमा लिँदै खुशी व्यक्त गरेका छन् ।
विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास अभियन्ताहरुले रहेको छ । ‘यस निर्णय मातृभाषाको माध्यमबाट बालबालिकालाई आफ्नो थातथलो, संस्कृति संस्कार बुझाउने दिशामा ऐतिहासिक महत्वको रहेको छ ।’ अभियन्ता दीपक तुलाधरले भन्नुभयो ।

Comments

ताजा खबर