कलमको विद्रोह
कार्तिक २७, २०८१, मङ्गलबार | विहान ०४:४९ बजे | 50
म एक कलम हुँ । आज किन किन मेरो जाँगर चलिरहेको छैन । मलाई महङ्गो पेट्रोल र डिजेल त चाहिन्न, न त चार्जिङ स्टेसन । तर पनि मलाई एक पाइला चाल्ने मन छैन । ए लेखक ! तिम्रा औँलाहरुको अँगालोमा कसिएर बस्ने चाहना बाँकी रहेन । तिमीले भरेको रातो मसी बाँकी नै छ । मसी सकेको पनि होइन । तर आज म तिमी विरुद्ध विद्रोही भएको छु ।
तिम्रो चाहना बेगर मेरो निब खाली पानामा आफै दौडेको पनि थाहा छैन । हिजोसम्म मेरो निबले तिम्रो हुकुम मान्थ्यो । तिमीले जे चाहन्थ्यौ, मेरो निबले त्यही लेख्थ्यो । म थाक्थेँ, तर मेरो निब कहिल्यै थाक्थेन । जब मसी सक्थ्यो, अनि निब मसीको भाँडोमा चोपेर मसी हाल्थ्यौ ।
कहिले खल्तीमा राख्थ्यौ, कहिले झोलामा त कहिले टेबलको कलमदानीमा फ्याक्ने गक्थ्र्यौ । सधैँ तिम्रो आदेश मानी बसेँ । बाल्यकालमा क ख रा सिक्दा देखि किन्दै, काममा आउञ्जेल चलाउँदै गयौ । अनि फेरी नयाँले पुरानोलाई विस्थापन गर्दै गयौ । म निर्जीव भएकोमा फाइदा लियौ । तिमीले सोच्यौ, मसँग प्राण छैन । तिमीले हाल्ने मसीले मेरो रक्त सञ्चार हुन्छ र चलायमान हुन्छ ।
तापनि मेरो निबले आज चेतनाको बिर्को खोले जस्तै मलाई व्यवहार गरिरहेको छ। हिजो तिम्रा आँसु, माया , प्रेम, सपना लगायतका भावनाहरु अभिव्यक्त गर्न साथ दिने मेरो निब आज गतिहीन छ । मेरो निब आफ्नै कथा लेख्न चाहन्छ । तिमी औँलाहरुलाई त्यसको विपरीत निर्देशन दिन्छौ । तिमी त एक मालिक पो भएछौ, मेरो आवाज सुन्न आवश्यक नै ठानेनौ । मजस्ता जाबो कलम त बजारमा जति पनि किन्न सकिन्छ । यान्त्रिक युगमा दामअनुसारका कलमहरु पाइने बेला मजस्तो पुरानो कलमको व्यथा लेख्नु तिमी जस्तो लेखकलाई सुहाउने पनि त होइन रु्।
तिम्रो त्यो लेखकीय घमण्डले गर्दा हो कि आज मेरो निबले तिम्रा औँलाहरुको निर्देशन नै मान्दैन । जबरजस्ती लेख्न खोज्दा तिम्रो भाव नै प्रकट हुँदैन । किनकी आज म तिमी विरुद्ध उभिएको छु ।
तिमीले मेरो निबको दुरुपयोग त गरेका छैन । देशका महाकाली लगायतका नदि नाला बेच्ने सन्धिमा हस्ताक्षर त नेता तथा तिनका सचिबले गरेका हुन् । एम सी सीमा हस्ताक्षर त देशकै संसदका होनहार नेताले गरेका हुन् । देशका कलकारखानाहरु बन्द गर्ने कार्यमा हस्ताक्षर त अरुले नै गरेका हुन् । युवाहरु विदेश पठाउने धन्दामा हस्ताक्षर पनि अरुले नै गरे । तिमीजस्ता साधारण लेखकले हस्ताक्षर गरेकै होइन । तर पनि मेरो निब तिमीसँग रिसाएको छ ।
तिमीले गल्ती नै नगरेपनि पनि मेरो निबले तिम्रो दोष भेटाएको छ । तिमीले औँलाहरुलाई ती सम्पूर्ण कथा लेख्न निर्देशन दिएन भनेर घुर्की लगाएको छ । बजार भाउ आकासिदा खाली पाना किन्न पनि पैसा जोगाउनु पर्ने बेला गरीबको ढाड भाँचेको कुरा नलेखेकोमा मेरो गुनासोे छ । तिमी आफू स्वयम् ज्वरोले थला पर्दा सितामोलको कथा लेख्दैनोै । आफू बेराजगार भएर हल्लिएर बस्दा बेरोजगारीको कथा लेख्दैनौ । चाहिने कुरा लेख्दैनौ, अनि नचाहिने कुरामा मलाई थकाउँछौ ।
निर्मला काण्ड, सुन काण्ड, सहकारी काण्ड चर्किरहँदा राष्ट्रिय भाउजूको कथा लेख्दैनौ । प्यालेस्टाइनीलाई जिउँदै सहिद बनाउँदा तिमी लेख्न मान्दैनौ । हनुमन्ते र रोशी उर्लेर शहर पस्दा बाढीको कथा लेख्छौ तर शहर खोलामा पसेको भन्न डराउँछौ । बालुवाटारको विष्णु बालकोटमा रमाएको देख्दा विद्रोहको कथा लेख्दैनौ । अनि कलमले तिमीलाई सहिद गेटमा लगेर टाँगिन खोजेको आरोप लगाउँछौ ।
तिमी भन्छौ, अब शहिद बन्ने समय होइन । तिम्रो सहादतमा वार्षिक श्राद्ध गर्ने मौका अरुलाई त्यतिकै दिन चाहन्नौ । शहिदका सपनाहरुको श्राद्ध गर्ने देशमा तिमी आफ्नो सपनाको सहादती स्विकार्देैनौ । बरु जसले यहाँ दिउँसो नै रात पारिरहेको छ, तिनको चर्चा गर्न लगाउँछौ । गरीबको आँसुको कथा लेखेर धनीले गरीबलाई रुवाउँदा पनि तिमी मलाई ती कथाहरु लेख्न लगाउँदैनौ । तिम्रो मालिक रिसाउने डरमा उसैको गान गछौँ । त्यसैले म तिमिसँग रिसाएको छु ।
व्यानरवाजी गर्ने सर्वाहारा नेताको गुणगाणमा मलाई नचाउँछौँ । तर तिनले आफ्नो मातहतका जनतालाई चुसेको कुरा लेख्न डराउँछौ । ती नेतालाई हरेक आन्दोलनको व्यानर समाउन नपाउला भन्ने मात्र डर रहन्छ, नपाए नेतृत्व गुमाएको सोच्न पुग्छ । पछाडि आएका जनताको लहर त उनलाई भेडाको बथान भन्दा अरु केहि लाग्दैन । तिमी त्यसको गुणगाणमा मलाई थकाउँछौ ।
आज मलाई कलम हुनुमा हीनताबोध हुन्छ । कारण तिमी हौ । तिमीलाई मेरो असन्तुष्ति मन पर्दैन । अनि नयाँ नयाँ कलम किन्न सिपालु बन्छौ । कुनै कलममा निलो मसी त कुनैमा कालो अनि कुनैमा रातो मसी हाल्छौ । बिद्यार्थी जीवनमा तिमीले थुप्रै कलमहरु चलायौ । सुगा कम्पनीको निलो मसी भरेर तिम्रो विद्यार्थी जीवन बित्यो । बिद्यालयमा गुरुले अ¥हाएका कुराहरु गृहकार्य भनी धेरै चोटि मलाई घोट्यौ । तर मैले कहिल्यै बिद्रोह गरिनँ । म बिरामी हुँदा बुबालाई फकाएर नयाँ कलम किन्थ्यौ । म पुरानो कलम कहाँ पुग्थँे, म आफैलाई थाहा हुन्थेन । पछि कालो मसी हालेर पनि चलायौ । व्यवसायिक प्रयोजनका लागि धेरै पटक कालो मसीयुक्त कलमहरु चलायौ । पहिले भन्दा म कम चल्न थालेँ । पछि अलि थोरै रातो मसी पनि चलायौ । बिस्तारै म र तिमीबीच दूरी बढ्न थाल्यो । किनकी अब तिम्रो खल्तीमा कलमभन्दा डटपेन सज्जिन थाल्यो । कम्प्यूटरको किबोर्ड आएपछि त कलम पनि नचाहिने भयो । खोलो ट¥यो लौरो बिर्सियो । म कलमदानीमा सिमित भएँ ।
मेरो तथ्याङ्क मात्र राख्ने हो भने, एउटा मोटो कापी भरिन्छ । तर तिमीसँग त्यसको लागि फुर्सद पो कहाँ छ र ? अहिले त तिमी सौखिन लेखक पो भएका छौ त । अर्कोतर्फ बिस्तारै तिमीसँग मेरो पारपाचुके हुँदै छ। मैले तिमीलाई प्रेम नगरेको होइन, अनि तिमीले मलाई माया नगरेको पनि होइन । तिमीले थुप्रै कलमसँग रासलीला मनाएका छौ । बजारबाट आउने बितिकै कलमको अस्मितासँग खेलवाड गरेको छौ । नयाँ कलमले लेख्दा तिमीलाई मज्जा लाग्छ । किनकी तिमी मालिक भएका छौ । तिमी आफ्नो इच्छामा कलमहरु फेर्न सक्छौ । यो तिम्रो अहम्ले हो कि आजभोलि म तिमीसँग टाढिएका छु । किनकी मैले आफूलाई म्याक्सिम गोर्कीजस्ता लेखकको कलम सोचेको थिएँ । तिमी त डरपोक लेखक पो रहेछौ । तिम्रो त्यो कायरताले गर्दा गोर्कीको कलम बन्ने सपना तुहिएको छ ।
म अब तिमीले भनेजस्तो कथा लेख्न सक्दिनँ । तिम्रो भावना र मेरो भावना नै मिल्दैन ।म अब तिम्रो लागि आँखाको कसिंगर बनेर बस्न सक्दिनँ । एउटा कलमले नलेखे अर्को कलम किन्ने सामथ्र्य तिमीसँग छ । किनेकी तिमी मालिक भएका छौ, अनि म केवल दास । चीन, रसिया, भार्रत, क्युवाजस्ता धेरै ठाउँमा किसानले बिद्रोह गरेको मैले सुनेको छु । रोमको दास विद्रोहको कथा पढेको छु । तापनि मैले तिमीविरुद्ध कहिल्यै विद्रोह गरेको थिइनँ । तर आज म विवश छु ।
तापनि खोई तिमीसँग बिताएको स्निग्ध सम्बन्ध भुल्न सकिरहेको छैन । तिमीसँग पारपाचुके हुने अवस्था छ । तापनि तिम्रो यादमा आज म बौलाहा भएको छु, कलमदानीमा सिमित भएको छु ।
। कलमबिनाको लेखक त भष्मबिनाको जोगीजस्तो, बाण बिनाको अर्जुन जस्तो, श्रृङ्गारबिनाको नयाँ दुलही जस्तो अपूरो र अधूरो ठान्थेँ । म पनि तिमी बिना अपूरो छु । म आज पासामा हारेर द्रौपदीको चिर हरणमा बोल्न नसक्ने पाण्डबजस्तै लाचार तिम्रा औँलाहरुबाट घायल भएको छु । खाली पानामा न्यायको लागि अर्को महाभारतको प्रतिक्षा गरिरहेको छु । उही तिम्रो कलम ।