समीक्षा ‘विविध आयाम’ कविताको व्यायाम
कार्तिक २५, २०८१, आइतबार | विहान १०:१४ बजे | 20
प्रा. डा. कृष्ण प्रसाद दाहाल
कवि डा. इन्दुल केसी जति पाको हुँदै गइरहेका छन्, त्यतिनै उनीभित्र सिर्जनाले छलाङ मार्न थालेको छ । अब उनी कविताभित्र जीवन दर्शन दिन थालेका छन् । अध्ययन र अनुभवको पुँजीलाई काव्यमा ढाल्दै जाने क्रममा ‘विविध आयाम’ शीर्षकको कविता लेखेर मेरो हातमा राख्दछन् र भन्दछन्, “कविता पढेर छोटो पाठकीय दृष्टिकोण प्रस्तुत गर्नुहोस् है ।” जसलाई मैले पाठकीय अभिमतका रूपमा समीक्षा गरेको छु ।
कविता लेखेर पाठककामाझ छिटोभन्दा छिटो सम्प्रेषण गर्न खप्पिस छन् कवि इन्दुल । विद्युतीय सञ्जालबाट होस् वा छापा माध्यमबाट होस्, जुन किसिमबाट सहज हुन्छ, त्यही विधि अपनाएर पाठकका मन–मस्तिष्कमा रसास्वादन गराउन पछि पर्दैनन् ।
दुई–दुई हरफका सातओटा गुच्छीबाट ‘विविध आयाम’ कविताको कलेबर तयार भएको छ । कविले यस कवितामा समय गतिमान् छ । त्यसकै गतिमा सारा कुरा सञ्चालित छन् भन्ने कुरा देखाएका छन् । प्रकृति र पुरुषबाट सृष्टिको क्रम चलिरहेको छ । सृष्टिको मेरुदण्ड भन्नु समय हो । मान्छेका जीवनमा समयले नै उत्साह र उमङ्ग भर्दछ भने नैराश्य, उदासीनता एवम् हीनताको भावको कण्टक पनि उमार्दछ । यी सबैका बीचमा मान्छेको नियति भन्नु नै सम्झौता हो । समय र परिस्थितिसँग सम्झौता नगरी मान्छेको केही चल्दैन । यिनै विषयलाई कविले काव्यात्मक बान्की प्रदान गरेका छन् ः–
“दिन र रात, महिना र वर्ष
समय चक्र आफ्नै चालमा”
समय चक्रले नै सृष्टि चक्र चलाइरहेको छ । यो कसैको करबल र इच्छाले चल्दैन । सुख र दुःख, हाँसो र आँसु समयले निर्धारण गरेको विशेषता हो ।
कवि भन्छन्ः–
“शुक्ल पक्ष र कृष्ण पक्ष
उज्यालो र अँध्यारोका द्योतक”
यो शाश्वत कथन हो । सरलताद्वारा गम्भीरभावको विन्यास गर्न कवि सफल छन् ।
“पुरुष र प्रकृति, पनि दुई पक्ष
यिनका मिलनमा नव सृष्टि हुन्छ ।”
प्राकृतिक विम्बलाई टपक्क टिपेर कविले मानवीय सृष्टिको इतिहास केलाएका छन् । प्रकृति र पुरुषको महत्व दर्शाएका छन् ।
“उत्साह उमङ्ग सकारात्मक पक्ष
उदासीनता हीनता नकारात्मक पक्ष ।”
यस पङ्क्तिमा कविले मान्छेभित्र उत्पन्न भइरहने सकारात्मक भाव र नकारात्मक भावको विश्लेषण गरेका छन् । मनकै भाव र विचारले गर्दा मान्छे पक्ष – विपक्षमा बाँडिने गरेको छ । स्वयम्मा यो प्राकृतिक कुरा हो ।
उकालो वा सुख मात्रै जीवन होइन । जीवन भन्नु उकालो वा ओरालो पनि हो । जीवनको उकालो र ओरालोमा चाकाचुली गर्दागर्दै अन्ततोगत्व मान्छे मृत्युको मुखमा पस्ने गर्छ । उकालो र ओरालो गर्दागदै मान्छेले जे–जे प्राप्त गर्दै जान्छ त्यो नै जीवनको सार्थकता हो । यसैले मानिसलाई अमरत्व प्रदान गर्दछ ।
मान्छेभित्र मानवीय सद्भाव रहनुपर्दछ । वर्गीय विभाजनको रेखा कोरेर हिंसात्मक मनोवृत्ति अपनाउन हुन्न । यही भावलाई पुष्टि गर्न कवि लेख्छन् ः
“धनी गरिब भौतिक भिन्नता
लोभी पापी वृत्ति भिन्नता”
प्राकृतिक विशेषता मान्छेले बदल्न सक्दैन तर सामाजिक कुरीति भने अन्त्य गर्न सक्छ । तसर्थ ठूलो–सानो, धनी–गरिब, लोभी–पापीजस्ता नकारात्मक व्यवहारबाट माथि उठ्न सक्नुपर्छ भन्ने सन्देश दिने काम यहाँ गरिएको छ । कसैले पनि मानवतावादी चिन्तनलाई धमिल्याउने कार्य गर्नुहुन्न । ‘वसुधैव कुटुम्बकम्’को भावनालाई आत्मसात गर्नुपर्छ भनी कवि इन्दुल आफ्नो काव्यात्मक भाव यसरी प्रस्तुत गर्दछन् ः
“दाता र मगन्ते, राजा र रङक
शोषक र शोषित विपरीत धर्मी ।।”
कवि म.वि.वि. शाहको “गर्छिन् पुकार आमा” कविताको प्रभाव कवि इन्दुललाई परेको छ । कवि शाह लेख्छन् ः
“काहीँ छ सुनको थाली
काहीँ छ पात खाली ।”
किन मान्छे–मान्छेका बीचमा यस्तो वर्गीय विरोध विभेद ? के यो वर्गीय विभेद अन्त्य गर्न सकिंदैन ? अवश्य नै मान्छेले चाह्यो भने गर्नसक्छ । त्यसैले कवि इन्दुल वर्गीय विभेदको जालो बढार्न सक्नुपर्छ भन्ने कुरा गर्दछन् ।
अन्त्यमा यो कविताको लेखन र प्रकाशन २०८१ सालको शारदीय नवरात्रमा भएको हो । कवि डा. इन्दुल केसीले ‘विविध आयाम’ कवितामा मानवीय मूल्यको जगेर्ना गर्नुपर्दछ भनी काव्यात्मक सूक्ष्म वाणी प्रस्तुत गर्दछन् । जीवन दर्शनको आयोजना गर्दै मानवतावादको झण्डा फहराउन यो कविताको विशेषता हो । कविले मान्छेको जीवनलाई विभिन्न आयामबाट हेरेका छन् । मान्छे प्राकृतिक प्राणी भएको हुनाले प्राकृतिक बिम्ब र प्रतीकद्वारा मान्छेको अस्तित्वको खोज पनि गरिएको छ । अन्त्यानुप्रासको विन्यास मिलाउने प्रयत्न गर्दै लयात्मकतालाई पनि सकेसम्म मिलाउने प्रयास गरिएको छ । यिनै कुराहरूले गर्दा डा. इन्दुलको यो कविता पठनीय बन्न पुगेको छ । कविमा साधुवाद व्यक्त गर्दै यो आलेखको बिट यहिँ मार्दछु ।
सम्प्रति ः गौशाला, रातोपुल काठमाडौँ
९८४१७२४०६७
२०८१÷७÷२४
कविता
विविध आयाम
दिन र रात, महिना र वर्ष
समय चक्र आफ्नै चालमा ।
शुक्ल पक्ष र कृष्ण पक्ष
उज्यालो र अँध्यारोका द्योतक ।
पुरुष र प्रकृति पनि दुई पक्ष
यिनका मिलनमा नवसृष्टि हुन्छ ।
उत्साह उमङ्ग सकारात्मक पक्ष
उदासीनता हीनता नकारात्मक पक्ष ।
उकालो ओरालो पनि दुई पक्ष
जीवन यसरी नै मृत्युमा बित्छ ।
धनी गरीब भौतिक भिन्नता
लोभी पापी वृत्ति भिन्नता ।
दाता र मगन्ते, राजा र रङ्क
शोषक र शोषित विपरीत धर्मी ।