दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टालाई पुरस्कृत गरिने
कार्तिक २३, २०८१, शुक्रबार | विहान ११:१७ बजे | 15
काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले नेपाली वाङ्मयका क्षेत्रमा योगदान गर्ने विभिन्न चार जना महानुभावहरूलाई २०८१ सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले शङ्कर कोइराला आख्यान पुरस्कार (रु. २५,०००÷–) बाट आख्यानकार डा. राजेन्द्र विमल र कुमार–सरस्वती साहित्य पुरस्कार (रु. २५,०००÷–) बाट साहित्यकार समालोचक प्रा. डा. अभि सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यसैगरी चूडामणि गौतम व्याकरण–कोश पुरस्कार (रु. ५१,१११÷–) बाट व्याकरणविद् प्रा. मुकुन्दशरण उपाध्याय र रामप्रसाद पन्त वाङ्मय पुरस्कार (रु. ५५,५५५÷–) बाट साहित्यकार समालोचक प्रा. डा. गोविन्दराज भट्टराईलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यी पुरस्कारहरू नेपाली भाषासाहित्य र समालोचनाका क्षेत्रमा योगदान गर्ने क्रमशः आख्यानकार शङ्कर कोइराला, साहित्यकार समालोचक प्रा.डा. कुमारबहादुर जोशी, कोशकार चूडामणि गौतम र साहित्यकार रामप्रसाद पन्तका नाउँमा स्थापित पुरस्कारहरू हुन् । यी सबै पुरस्कारहरू आगामी मङ्सिर १ गते काठमाडौँमा आयोजना गरिने समारोहमा पुरस्कृत महानुभावहरूलाई समर्पण गरिने प्रतिष्ठानले जानकारी गराएको छ । ●