क्रान्तिको आधीबेहेरी
कार्तिक १७, २०८१, शनिबार | दिउँसो ०१:२८ बजे | 30
आमूल परिवर्तनको अर्थ हो,क्रान्ति
उत्पादनको प्रमुख साधन
सामाजिकीकरण गर्नु हो क्रान्ति
सर्वहारा वर्गलाई
शासक वर्गको स्थितिमा उठाउँदै
समाजलाई ज्ञान् र विज्ञानले
बुद्धिजीवीकरण गर्नु हो क्रान्ति ,
पिसिएका दबिएका कामदार वर्गको
संघर्षको आधीबेहेरीले मात्रै ल्याउनेछ
सिङ्गो मानव जातिको न्यायोचित शान्ति ।
राजनीतिशास्त्र मौसम विज्ञान जस्तै
एक अर्को महत्त्वपूर्ण विज्ञान हो,
मार्क्सवाद पनि क्रान्तिको विज्ञान हो,
शाश्वत सत्य हुन्छ क्रान्तिको विज्ञान ,
परिस्थितिको अनुकुलतामा
फरक फरक किसिमबाट लागू हुन्छ
क्रान्तिको विज्ञान ,
कसैको मुर्खताले रोकेर रोक्न सक्दैन
कसैको दुस्साहसले छेकेर छेक्न सक्दैन
कसैको इच्छामा चल्दा पनि चल्दैन।
क्रान्तिको मन्त्र जप गर्दै
मार्क्सवादको क्रान्तिकारी धारलाई
बङ्ग्याउने संशोधनवादीहरू
रातो झण्डाको विरोधमा रातो झन्डा उठाउदै
हँसियाहथौडाको धज्जी उडाउने
छद्मभेषी नक्कली कम्युनिस्टहरू
चामल र भुस बत्तिए झैँ
संघर्षको आधीबेहेरीले
एकदिन अवश्य बत्तिनेछन।
सामूहिक र वर्गीय स्वार्थ भन्दा
व्यक्तिवाद,नातावाद र कृपावादको स्वार्थले
मक्किएका लाचार हुतिहारा
नालायक वामपन्थी अवसरवादीहरू
वर्गसंघर्षको मैदान छोड्दै भागेका
वर्गसमन्वयको टाङ्मुनि छिरेका
प्रतिक्रियावादीहरुको रोहवरमा
प्राणको भिख माग्न तड्पिरहेका
आत्मसमर्पणवादी काँतर लालगद्दारहरू
कुहिदै जाने संशोधनवादको
स्याहारसुसार गर्दागर्दै
शोषण र दमनको
बन्धन बाट्दा बाट्दै
एकदिन गल्नेछन,
न्याय र स्वतन्त्रताको विगुल फुक्दै
रोक,भोग र शोकको अन्त्यको खातिर लड्ने
भोका,नाङ्गा जनताको
संघर्षको ज्वालाले
ती सब सिक्री र बन्धनहरु
एकदिन जलेर ध्वस्त पार्नेछन।
जहाँ, शोषण र दमन हुन्छ
त्यहाँ,विद्रोह र विष्फोट उठ्छ उठ्छ
क्रान्तिको नियम नै यही हो
धनी वर्ग र गरीब वर्ग
हुनेखाने र हुँदाखाने वर्ग
जोताहा वर्ग र जोतिएर रहने वर्ग
रहेसम्म समाजमा वर्गसंघर्ष चलिनैरहन्छ
क्रान्ति अवश्यम्भावी नै हुन्छ।।
दास विद्रोहले
दासमालिकको स्वर्ग
दास युग ढले झैँ
सर्वहारा वर्गलाई साथमा लिएर गरेको
पुँजीपति वर्गको विद्रोहले
सामन्त वर्गको स्वर्ग
सामन्ती युग ढले झैँ
जोतिएका,पिसिएका
संगठित सर्वहारा वर्गको
अजय संघर्षले निम्त्याएको
त्यो क्रान्तिको आधीबेहेरीले
पुँजीपति वर्गको
निर्मम शोषण र दमनको जगमा उभेर
नाङ्गो नाच नाचिरहेको
अमानवीय नरकीय राज्यसत्ता ढल्नेछ्न
शोषण र दमनको सिक्रीहरु चुँडिनेछन
पूर्वबाट उदाउँदै गरेको
बिहानको सूर्य सङ्गै
नयाँ बिहानीको सुरुवात भए झैँ
शोषणको अन्धकारबाट मुक्त हुँदै
स्वतन्त्रता र न्यायको सास
सर्वहारा वर्गले फेर्नेछन
अन्ततः विजय जनताको प्रजातन्त्र र
समाजवादकै हुनेछन् ।