चोरमाथि चन्डाल


कार्तिक ८, २०८१, बिहीबार | दिउँसो ०२:२९ बजे | 30


चोरमाथि चन्डाल

राजु तामाङ, काभ्रे

देखे आज दृश्यहरु पनि 
अचम्म अचम्मको
चोरले चोरको खुट्टा काटेको
एउटा ठगले अर्को ठगलाई समातेर
आफू पानीमाथिको ओभानो बनेको।

कोही उदाए राजनीतिमा
बर्षको पानीमा बर्सेको असिना झैँ गरि 
कहाँ जाने?कहाँ पुग्ने?किन जाने ?
छैन विचारको मार्ग र गन्तव्यको स्पष्ट टुङ्गो 
हिडेका छन अन्धाधुन्धमा लक्ष्यहीन सरि।

भ्रष्टाचारीलाई कारबाही गर्ने
समाजलाई सुधार गर्ने 
उनको योजना र उदेश्य छरे 
जादुको छडी झै सम्झेको रहेछ उनले 
क्षणिकमै गन्तव्यमा पुग्ने दुस्साहस गरे।

फोहोर पानीमा नुहाएर
सफा हुन्छ भनेर सोच्नु
अरुको बुइ चढेर 
 सिध्याउने कल्पना गर्नु
भ्रष्टाचारीको बैसाखी टेकेर
भ्रष्टाचारको जरा उखेल्छु भनेर सोच्नु
उनको दिवास्वप्न मात्रै हो,
राजनीतिक मुर्खताको पराकाष्ठा हो।

थाहा छैन उनी 
कहाँबाट परिचालित हो,
कसले?कसरी ?पठाएको हो
गर्छन् उनले मौन समर्थन 
देशघाती एमसीसी सम्झौताको
 एसपीपी सम्झौतामा पनि  
उनी चुपचाप बस्छन्।

गर्छन् आलोचना सर्वसाधारणले 
अन्तर्राष्ट्रिय ठग भनी,
ग¥यौं मतदान जनताले
देशको भविस्य र असल युवा नेतृत्व ठानी,
छन रे मुद्दा उनको
अमेरिकी अदालतमा कर छलीको
दुस्साहस जाग्दैछन उनी ,
यहाँ पनि मुद्दा परे सहकारी ठगीको।

सरकार नाम गरेको ठगले देख्दैनन
नेपाली नागरिकलाई नक्कली भुटानी 
शरणार्थी बनाई बेचेको,
देख्दैनन उनले 
ललित निवास जग्गा काण्ड 
गिरिबन्धु टि स्टेटको जग्गा काण्ड 
वाइड्बडी काण्ड 
अरबौ रुपियाँको 
सहकारी ठगी काण्ड ,
काण्डै काण्डमा सरकार मुछेको ।

स्वार्थ मिलुन्जेल 
सदाचारको प्रतिमुर्ति भन्दै काखी च्याप्ने
स्वार्थ नमिलेर साथ छोडेपछि 
भ्रष्टाचारी भन्दै एकाअर्कालाई लात हान्ने,
एउटा ठगलाई खाल्डोमा हालेर
आफू साखुल्ले बन्न खोज्ने
 ठगलाई समातेको कोकोहोला गरि
जनतालाई त्यतै अल्मलाउने
चोरमाथि चन्डाल आइलाग्नु जस्तै हो।

Comments