सावित्री स्मृति ग्रन्थभित्र रुमलिँदा


कार्तिक ७, २०८१, बुधबार | विहान ०५:५० बजे | 50


सावित्री स्मृति ग्रन्थभित्र रुमलिँदा

तारा सुवेदी
नेपाल स्रष्टा समाज
काठमाडौं । ‘सावित्री स्मृति’ पुस्तकका बारेमा केही लेख्नुपूर्व नेपाल स्रष्टा समाजका आजीवन विशिष्टि सदस्य डा. इन्दुल के सीज्यूकी धर्मपत्नी स्व सावित्री राणा केसीको दुःखद निधनप्रति हृदयदेखिकै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
 समाजसेवी ÷ लेखक तथा योगविज्ञ डा. इन्दुल केसीले सम्पादन तथा संकलन गरी आफ्नी धर्मपत्नीको स्मृति ग्रन्थ प्रकाशनमा ल्याउनुभएको छ। स्मृतिपुष्पका पराग टिप्पणीसंग्रह – २०८१ पुस्तकभित्र हेर्दैजाँदा सम्पादकले सम्पादन गर्नुभएका र विभिन्न लेखकहरुले लेख्नुभएका सबै मर्मस्पर्शीसाथै भावनात्मक रुपमा पनि हृदय छुने लेखहरु रहेका छन् । सुरुमा नै डा. सुरेशराज शर्माको शुभकामना रहेको छ । ग्रन्थमा डा. इन्दुल केसीको सम्पादकी छ भने प्रकाशन शब्दयात्रा प्रकाशनले गरेको छ । 
प्रा. डा. कृष्णप्रसाद दाहालको ‘कवितामा सावित्री’ काव्यात्मक सृजनाका हरेक हरफले मन छुने खालका छन्। ’मलाई सावित्री भएको इन्दुल मन पर्छ, मलाई इन्दुल भएको सावित्री मन पर्छ’ भन्ने हरफले मन छुन्छ । । सावित्रीको व्यक्तित्व वर्णन गर्ने अन्य भावनाहरु पनि साह्रै ओजिला छन । हरि मञ्जुश्रीको ’अनेकमध्येकी एक सावित्री’ संस्मरणले डा. इन्दुल केसीमा विद्यमान बहुआयामिक व्यक्तित्व प्रस्फुटनका लागि दिदी सावित्रीको कस्तो योगदान रहेछ भन्ने कुराको यथार्थ चित्रण गरेको पाइन्छ । त्यस्तै छोरी रजनीको ’हाम्री जननी’ शीर्षक कवितामा आमाप्रतिको जुन गहिरो माया, स्नेहभाव व्यक्त गरिएको छ, त्योआमा आफैमा प्रिय शब्द हो। यस संसारमा सदापण भएका र हुने समस्तमानवजातिकी जननी आमाप्रति सद्भाव जनाइरहेकै हुन्छन । स्मृतिपुष्पमा ५० भन्दा बढी धार्मिक, सामाजिक एवम् विभिन्न पेसागत संघ– संस्थाहरुको समवेदना सन्देश, ३२५ भन्दा बढी व्यक्तिगत सन्देश सावित्री राणा केसीलाई विभिन्न संघ–संस्थाहरुले प्रदान गरेका सम्मानपत्र, पारिवारिक, धार्मिक एवम् तीर्थयात्रा सम्बन्धी करिब पन्ध्रवटा सुन्दर फोटाहरु समावेश गरिएको छन् । साथै आधा दर्जनजति विभिन्न सञ्चार माध्यमका शोक समाचारहरु, पुस्तकको भित्री गातामा कृष्ण, राधा, रुक्मिणीको सुन्दर प्रतिमासहित छापिएको १९८३ मा स्थापना भई २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएको ’श्री श्यामसुन्दर रास भजन’ को रंगिन फोटो र सगुन भजनले पनि पुस्तकको स्तरीयता वृद्धिमा निकै बल पुरÞ्याएको छ । पुस्तकको अन्तिम गातामा रंगिन कलेवरयुक्त ’वंशावली तालिका’ पनि उहाँहरुको पारिवारिक पुख्र्यौली चिनाउने ऐतिहासिक दस्तावेज बनेको छ । सरल, भद्र, मिलनसार आदर्श नारी सावित्री दिदी सहनशीलताकी प्रतिमूर्ति हुनुहुन्थ्यो । पतिव्रता आफ्नी पत्नीको सम्झनामा पति साहित्यकार, प्राकृतिक चिकित्सक, शैक्षिक अभियन्ता, सदा सबैको प्रिय पात्र हुन सफल रहनुभएका आदरणीय व्यक्तित्व डा. इन्दुल केसीले जुन सम्पादकीय कौशल एवम् सीप पुस्तक प्रकाशनमा देखाउनुभएको छ, त्यो ज्यादै उच्च कोटिको र सम्मान जनक छ । हुन त विधिको विधान यस्तै छ, यो धरामा आएपछि एक दिन सबैले जानु नै छ, तर पनि एक आदर्श पत्नीलाई गुमाउनुपर्दा पति डा. इन्दुलमाथि असह्य पीडाको बज्रपात परेकै हुनुपर्छ । मनभित्र परेको यस्तो असहनीय पीडाबाट कत्ति विचलित नभई शोकलाई शक्तिमा रुपान्तरित गर्न सक्ने सामर्थ्य उहाँमा भरपुर देखिन्छ। यो उहाँभित्रको विशाल धैर्यको प्रतिक हो । जे होस्, ‘सावित्री स्मृति’ पुस्तकमा समावेश भएका सम्पूर्ण सामग्री पठनीय त छँदैछन्, उदाहरणीय पनि छन् भन्ने मेरो निक्र्योल छ । सावित्री दिदीको जीवनवृत्त, स्वास्थ्य समस्याको विवरण, उहाँसँगका संस्मरणहरु, उहाँको निधनसम्बन्धी समाचारहरु, निधनपछि प्राप्त सन्देशहरु समावेश गरेर प्रकाशित गरिएको यो पुस्तक प्रकाशकीयमा भनिएझैँ एउटा सिङ्गो जीवनी हो ।
देशप्रेम राष्ट्रिय साप्ताहिक, वर्ष २५, अंक २५, २०८१ कात्तिक ४ गते, आइतबार ।


Comments