देशको सरकार हो कि छिमेकीको घोडा ?
कार्तिक ५, २०८१, सोमबार | दिउँसो ०२:४८ बजे | 95
राजु तामाङ ,काभ्रे
देशघाती शासकहरु,
सत्तामा विराजमान हुने बित्तिकै
गर्छन् मिचाह छिमेकीको यात्रा,
दिन्छन् प्रसाद देशका नदीनालाहरू,
हेर्छन् र देख्छन छिमेकीको मुर्राहरु
ल्याउछन र अर्थहीन झगडा गर्छन्
मुर्रा राँगा होकि पाडो हो भन्दै,
देख्दैनन देशका मिचिएको सीमाहरु,
गर्दैनन् झगडा मिचेको भूमि फिर्ता ल्याउन
हेर्दैनन देशका गायब गरिएको सीमास्तम्भहरु।।(१)
गर्छन् देशघाती सन्धि सम्झौताहरु
गर्दैनन् देशको खुल्ला सीमा नियमन,
बर्षौदेखि उपेक्षा गरिरहेछौ तिमीले
सिमानामा तारबार लगाउने
प्रस्ताव र कदमहरुको,
सीमातस्कर र सीमाअपराध रोक्ने
जनआवाजहरुको।। (२)
हेपाह छिमेकीको बोलीमै देख्छौ तिमी
मानवता र मित्रता
देख्दैनन देशको सीमा रक्षाको खातिर
ढुङ्गा र गुलेली बोकेर विस्तारवादको विरुद्धमा
संघर्षमा उत्रेका यादव बन्धुहरुको शरीरको गोली
देख्दैनन छिमेकीको झुठो वक्तव्य र बोली।।।(३)
हेर्दैनन सनः१९५० को असमान सन्धि
खारेज गर्ने हिम्मत छैन दलाल शासकहरुको
देशघाती सम्झौता र सन्धी,
देख्छन आफ्नो देशको भुमि डुबेको
देख्दैनन कोशी,महाकाली र गण्डक
सम्झौतामा देशघात भएको।।।।(४)
हेर्छन दाल,चामल र चिनी मात्र पठाएको
चेकजाँच गर्दैनन् त्यसमा मिसाएर पठाएको विषहरु,
सम्झन्छन दानापानी पठाई सहयोग गरेको
ठान्छन् छिमेकीले गरेरै देशमा चुलो बलेको,
भुलिदिन्छन प्राकृतिक विपत्तिमा पनि
अमानवीय नाकाबन्दी लगाई
आर्थिक युद्ध गरेर यातना दिएको ।।(५)
ए मेरो देशको सरकार
तिमीलाई म के भनौं ?
दृष्टि भएको भनौं कि दृष्टिविहीन भनौं ?
विवेकशील भनौं कि विवेकहीन भनौं ?
ए पेलाह छिमेकी
कतिन्जेल पेल्छौ अझै तिमीले?
पेलेकै छ अर्थतन्त्रमा पनि
पेलेकै छ राजनीतिमा पनि
पेलेकै छ सिमानामा पनि ,
पेल्नकै निम्ति तयार पारिएका हुन् र?
ति माओवादी र जबजवादी
लोकतन्त्रवादी र पृथकतावादी नामको
गणतन्त्रभित्रको नयाँ घोडाहरू?।।।(६)
थाकिदै आइसक्यो
तिमीलाई बोक्ने घोडाहरू,
गलिदै आइसक्यो
तिम्रो स्वार्थलाई बोक्ने घोडाहरू,
कहिले एकापसमा मिलाइदिने
कहिले एकापसमा भिडाइदिने गर्दागर्दै,
सत्ता गुमाउनु पर्ने डर भएपछि
आशीर्वादको आशामा तिम्रो
कठपुतली भएर विचरण गर्दोरहेछ।(७)
त्यसैले ,
ए मेरो देशको सरकार
तिमीलाई म के भनौं ?
नेपाली भनौं कि विदेशी भनौं ?
पेलाह छिमेकीको घोडा भनौं कि नेपालको शासक भनौं ?