ए सरकार


कार्तिक ४, २०८१, आइतबार | दिउँसो ०२:०० बजे | 35


ए सरकार

राजु तामाङ (काभ्रे)
ए सरकार ,कस्तो मानवता हो तिम्रो?
ए सरकार 
मानवता हाम्रो विचार मात्र होइन 
आचरण र कर्म पनि हो,
पीडित र बिचल्लीमा 
परेकाहरूलाई सघाउनु
हाम्रो मानवीय धर्म हो।

लियौ तिमीले मतदानमा पक्ष 
रुसविरुद्ध अमेरिकी छदम युद्धको,
लियौ तिमीले पक्ष 
युक्रेनी नवनाजीवादको,
गरेउ तिमीले समर्थन 
अमेरिकी प्रोक्सीवारको,
 तोड्यौ तिमीले धम्कीमा
सार्वभौम देशको 
तटस्थ परराष्ट्र नीति पनि।।

बोलेनौ तिमीले
संयुक्त राष्ट्रसंघमा
मध्यपूर्वमा बलिरहेको
अमानवीय नरसंहारको
आगो निभाउने पक्षमा,
उपेक्षा ग¥यौ तिमीले 
गाजापट्टीमा भैरहेको 
इजरायली फासीवादको 
नरसंहार र बर्बरताको,
हेर्न चाहेनन् तिमीले
जातीय सफायाको
आगोमा जलिरहेको
ती प्यालेस्टिनी 
महिला तथा बालबालिकाहरू,
देखेनौ तिमीले 
सिङ्गो प्यालेस्टाइन 
मानव वधशाला बनेको दृश्यहररू।।
पीडकलाई काख 
पीडितलाई पाखा गर्ने,
यो कस्तो मानवता ? सरकार तिम्रो !

गरेनौ तिमीले 
राष्ट्रसङ्घमा मतदान 
छ दशक भन्दा लामो 
क्युवामाथि अमेरिकी साम्राज्यवादको
अमानवीय नाकाबन्दी हटाउने पक्षमा,
 गरेनौ तिमीले विरोध 
समाजवादी देश 
प्रजग कोरियामाथि  
साम्राज्यवादी अमेरिकाको
अमानवीय नाकाबन्दीको,
बन्यौ तिमी
अमेरिकी साम्राज्यवाद र
भारतीय विस्तारवादको 
आज्ञापालक मात्रै ।

फेरि तिमी आफूलाई भन्छौ
कम्युनिस्ट र प्रजातन्त्रवादी पनि ,
लिँदैनौ पक्ष न्याय र मानवताको
गर्दैनन् विरोधमा सङ्घर्ष 
साम्राज्यवादी र विस्तारवादी 
थिचोमिचोको
अन्याय र अत्याचारको ।
कतै शासक नेताहररूको
कम्युनिस्ट र प्रजातन्त्र शब्द 
ट्रेडमार्क त सावित भएको होइन ?

त्यसैले ,
ए मेरो देशको सरकार 
म तिमीलाई के भनौं ?
मानवतावादी भनौं कि अमानवीय भनौं ?
साम्राज्यवादको घोडा भनौं कि नेपालको प्रतिनिधि भनौं ?

Comments