एक असफल शिक्षकको कथा
कार्तिक ४, २०८१, आइतबार | विहान ०२:३३ बजे | 20
अर्जुन कोन्दा
म कहिल्यै सफल शिक्षक हुन सकिनँ । आज मेरो मनमा अनगिन्ती कुराहरु खेलिरहेका छन् । हुन त विद्यार्थीलाई सकेसम्म व्यावहारिक तरिकाले पढाउने प्रयास गरेकै हुन्छु मैले । पढाउँदा पढाउँदा अढाइ दशक कटिसक्यो । तर खोइ कहिले के मिल्दैन, कहिले के मिल्दैन, सफल बनेको अनुभूति मिल्दैन । मैनबत्तीझै आफू जलेर प्रकाश दिनुपर्ने शिक्षण पेशामा धेरै चिज मिल्दैन । सायद अरुलाई सिकाउनु अघि मैले आफैँ सिक्नुपर्ने धेरै चिज बाँकी नैै छ ।
केहि दिन अगाडि मात्र पनि यस्तै एउटा घटना दोहोरियो । मैले एक अखबारमा रमेश श्रेष्ठको कथा पढेँ । कथामा रमेशलाई भक्तपुरको एक सामुदायिक विद्यालयका करार शिक्षकको रुपमा देखाइएको थियो । तेस्रो पुरुषमा अगाडि बढाइएको उक्त कथामा अदृश्य पात्रले रमेशको कथा वाचन गर्छन् । म चाहिँ एकै साथ पाठक र श्रोता बन्छु ।
उमेरले पैतिस लागेको रमेश श्रेष्ठ कक्षा दशमा पढाउँदै थिए । एक दिन एकाएक उनको ध्यान एक छात्रा विद्यार्थीमा पुगेर टक्क अड्कियो । उनी आफ्नो उत्तर पुस्तिकामा अरु नै विषयको अभ्यास गर्दै थिइन् । रमेशलाई त्यो दृश्य सहन गा¥हो भयो । रमेश झोक्किएर उनको अगाडि गए । आफ्ना शिक्षक रिसाएको चाल पाएर रेणुले कापी झोलाभित्र राखिन् । अनि उनले अंग्रेजी भाषामा माफी मागिन् ।
रमेशको मनमा असन्तुष्ति थियो नै । तर गाली गर्न उनको मनले मानेन । असन्तुष्तिलाई थाँती राख्दै उनले भने, यसरी परीक्षामा उत्तीर्ण हुन्छ र, रेणु ? रमेशलाई रेणुको पढाइबारे पूर्ण जानकारी थियो । उनी नेपाली विषयबाहेक प्राय सबै विषयमा कमजोर थिइन् । यसबारे रेणु आफै पनि अवगत नभएको होइन । तापनि बेला मौकामा घरमा काम भएको वा सञ्चो नभएको बहानामा कक्षामा अनुपस्थित हुन्थिन् । अनि कक्षामा उपस्थित हुँदा पनि पढाइमा ध्यान केन्द्रित गरेको रमेशलाई कहिल्यै थाहा भएन । कक्षामा पाठ नबुझेको तथ्य त उनको अनुहारले प्रस्टै बताउँथ्यो । तर नबुझेको पाठबारे प्रश्न गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन वा थाहा भए पनि डराएर हो कि कहिले सोध्दैनथ्यो । रमेश उनकै बेञ्च अगाडि गएर बुझे नबुझेको सोध्थे र नबुझेको पाठ बुझाउने यत्न गथे । हुन त उनी पढाइबारे सोध्दै नसोध्ने र चासो नदिने विद्यार्थी पनि होइन । तर कक्षामा हुने अनियमित उपस्थिति नै उनी पछाडि पर्नुको कारण भनेर उनलाई पनि थाहा थियो र रमेशलाई पनि । रेणुको अनुपस्थितिबारे जान्ने उत्सुकता रमेशमा प्रबल हुँदै गयो । उनी मात्र होइन, कक्षामा अन्य थुप्रै विद्यार्थी थ्एि, जसलाई रमेश नजिकबाट नियालिरहेका थिए । अनि कसरी उनीहरुको सहयोगी हुन सक्छु भनेर उनी सोचिरहेका छन् । उनी कहिले सफल भए त कहिले असफल ।
म रमेशको कथा ध्यान दिएर पढ्न थाल्छु र कक्षाको वातावरण परिकल्पना गर्छु । राजधानीको सामुदायिक विद्यालयमा यस्तो छ, अन्त कस्तो होला । अदृश्य पात्रले कथा अगाडि बढाउँछन् ।
रमेशले रेणुलाई पनि यसरी नै आफ्नो अवलोकनमा राखेका थिए । ताकी उनको अध्ययनमा केहि सहयोग गर्न सकियोस् । तर कहिल्यै असफल भएनन् । कारण उनीहरुबीच शिक्षक र विद्यार्थीको दूरी थियो । त्यसैले रमेश आफूलाई शिक्षकभन्दा पनि सहजकर्ता बनाउन कोसिस गरिरहेको थिए ।
कस्तूरीले आफ्नो नाभीबाट उत्पन्न गन्धबारे जानकारी नभएर भौतारेको कथा अमर न्यौपानेले आफ्नो उपन्यासमा वर्णन गररेजस्तै साहित्यिक तरिकाले पस्कने खुबी त रमेशसँग छैन । उनलाई त प्रत्यक्ष रुपमा रेणुमा लुकेर रहेको उर्बर प्रतिभा चिनेर प्रस्फुटन गराई उनकोे उज्वल भविष्य हेर्ने चाहना मात्र थियो । उनको चाहनालाई विद्यालयको चार भित्ताले रेणुसम्म पुग्न दिइरहेको थिएन ।
रमेश केवल एक शिक्षक न थिए । शिक्षा शास्त्र नपढी विषयगत ज्ञानले शिक्षण पेशामा लागेको उनमा सैद्धान्तिक ज्ञानको अभाव त स्वभाविक नै देखिन्थ्यो । उनले व्यवहारिक अनुभवबाट सिकाइ प्रकृया दोहोरो हुनुपर्छ भन्ने सिकेका थिए ।
एउटा मोबाइलबाट अर्को मोबाइलमा फाइल सार्ने क्रममा प्रेषक र प्रापकबीच सुमधुर सम्बन्ध कायम भए मात्र फाइल हस्तारण हुन्छ । रमेश यसै कुरामा विश्वास गर्थे। अनि आफू सद्धे मोबाइल भएको र केहि विद्यार्थीको ब्लुटुथ अफ रहेको भ्रम पालेर बस्थे ।
यसैले होला, रमेशलाई लागि रेणुको सिकाइ प्रकृयामा ब्लुटुथ अफ भए भैm लाग्यो । उनी रेणुको ब्लुटुथ अन गर्न चाहन्थे । तर कसरी गर्ने उनीसँग कुनै उपाय थिएन । यस्तो असहज परिस्थिती प्राय दोहोरिरहन्थ्यो । तर एक दिन भने उनले ब्लुटुथ अफ हुनुको कारण पत्ता लगाएरै छाड्ने निर्णय गरे ।
किन रेणुले मेरो विषयमा मात्र नभई समग्र विषयमा सिकाइको लागि अग्रसर हुन सकिनन् त ? रमेशले मनमनै सोधे ।
कक्षा सकेको घण्टी बज्यो । उनी अफिसतर्फ लागे । तर रेणुको व्यवहारलाई सम्झिरहे। सधैँ हँसिलो मुहारमा देखिने रेणुलाई आफूले चाहेर पनि रमेशले राम्ररी पढाउन सकिरहेको थिएनन् । तत्कालेै उनले रेणुका साथीहरुलाई अफिसमा बोलाए । तर अफिसमा रेणुको बारे छलफल गर्न उनलाई उचित लागेन । उनले विद्यालय प्राङ्गणमा लगी केहि प्रश्नहरु गर्न थाले ।
रमेशले रेणुको साथी सन्ध्यालाई उनको परिवारबारे सोधे। उमेरले १५ वर्षमा टेक्दै गरेकी रेणुको जन्म सिन्धुपाल्चोकको एक दुर्गम गाउँमा तामाङ परिवारमा भएको रहेछ । गरीबीले गर्दा रेणुको आमाले गलैँचा बुन्ने काम गर्नुहुँदो रहेछ । अनि बुबा भने भरिया । परिवारको गरीबी हेर्न नसकेर रेणु आफैँ स्कूल छुट्ठ्््ी हुने बितिकै आमालाई गलैँचा बुन्ने काममा सघाउन जाने रहेछ । बेलूकी नौ बजे कामबाट फर्केर आफैँ खाना पकाउनु पर्ने उनको बाध्यता रहेछ । दिनभरिको थकानले रेणुले पढ्न सक्ने त कुरैे भएन । उनी हरेक बिहान पाँच बजे उठेर खाना बसाली बिहानी कक्षाको लागि स्कूलमा आउने रहेछ ।
यसैकारण पो रहेछ, रेणुको गृहकार्य कहिल्यै पूरा हुँदैनथ्यो । दु ःखी हुँदै उनले विद्यार्थीहरुलाई कक्षामा पठाए । उनी भने रेणुको बारेमा सोचेको सोच्यै भए । फेरि उनले रेणुसँगै भेटेर कुरा गर्ने निधो गरे ।
अर्को दिन रेणुलाई कक्षा बाहिर बोलाइयो र अनौपचारिक रुपमा सञ्चो बिसञ्चो सोधियो । रेणुले सञ्चै रहेको बताइन् । रमेशले कुरालाई मोड्न नदिई सिधै सोधे, तपाई कहाँ बस्नुहुन्छ ?घरमा को को हुनु हुन्छ?
रेणुले सहज रुपमा भनिन्, सुर्यमढीको एउटा पुरानो घरमा डेरामा बस्छु । परिवारमा बाआमा र बहिनी हुनुहुन्छ । उनले आमाले गलैँचाको काम गर्ने कुरा सगर्व बताइन् । अनि गर्वका साथ आमालाई सघाउने गरेको पनि बताइन् । उनको कुराबाट रेणु असल छोरी भएको कुरामा दुईमत रहेन । तर उनले खुलदुलीका बीच सोेधे, अनि बहिनी नि ?
बहिनी पनि गलैँचा बुन्न पोख्त छिन् । म जतिकै काम गर्न सिपालु छिन् , रेणुले भनिन्।
रमेले स्थितिलाई असहज नबनोस् भन्ने उद्धेश्यले भने , हो र? कति वर्ष भइन् त बहिनी?
श्रावण महिनाबाट १३ वर्ष लाग्यो , उनले छोटो जवाफ दिइन् । गत वर्ष रमेशको जन्म दिनकै अवसरमा रेणुको बहिनीले आफ्नो पनि जन्म दिन भन्दै चकलेट दिएको सम्झे ।
अनि बहिनीले पनि काम गर्नैपर्ने त्यस्तो के बाध्यता छ त? उनले सोधे । उनले मसिनो स्वरमा घरायसी समस्याबारे सुनाइन् । सुनाउने विद्यार्थीलाई केहि भएन, किनकी उनीहरु यस्ता कुरामा अभ्यस्त थिए ।तर रमेशलाई भने असहज भइसकेको थियो । बाल मजदुरको पिडा सुनेर उनलाई नमज्जा भयो ।
गृहकार्य नगरेकोमा दुबै दिदी बहिनीलाई धेरै पटक सम्झाृउने हेतुले गाली गरेको तस्बीर रमेशको आँखासामु नाच्न थाल्यो । उनीहरुले कापी, किताब नदेखाउँदा अनि पढ्ने चासो नदेखाउँदा गरेको गालीले रमेशलाई नै पोल्यो । उनले रेणुको बहिनीलाई पनि भेटे । बहिनीले पनि उस्तै जवाफ दिइन् । १३ वर्षमा टेक्दै गरेकी बहिनीले आफैँ पनि घरको सबै काम गर्ने गरेको बताइन् । विचरा घरमा खेल्न समेत समय रहेनछ , उनीहरुसँग । खेल्ने उमेरमा घरको बोझ ठाम्ने कलिला नानीहरुको कथा सुनेर रमेशको मनमा खु्शी र दु ःख एकैसाथ मिसिएर आयो । व्यवहारिक जीवनमा अव्वल रेणु र उनको बहिनी बाध्यताले गर्दा चाहेर पनि पढ्न नसकिरहेको कुराले उनी मर्माहत भए ।
अदृश्य पात्रले कथा त सकाए, तर मेरा मनमा केहि प्रश्नहरु छोडेर गएझै लाग्यो ।
समाजवादी गणतन्त्रको उद्धेश्य बोकेको मेरो देशमा शिक्षामा हुँदै आएको राज्यको दोहारो नितिले आज म विचलित छु । देशमा रेणु जस्तै कति बालबालिका होलान्, जसले चाहेर पनि पढ्न सकिरहेका छैनन् ।
आज रमेशजस्ता शिक्षकहरु लाचार छन्, किनकी उनीहरुले कुनै एक रेणुलाई विद्यालयमा भनेर केहि विद्यालयगत तथा व्यक्तिगत सहयोग गर्न त सक्लान् । तर देशमा यस्ता धेरै रेणुहरु छन्, जसका आआफ्नै समस्या छन् । तिनका समस्या कसले सुनिदिने होला? म भावनामा डुबिरहेको छु । गोष्ठी र सेमिनारमा ठूला–ठूला भाषण गर्ने नेता तथा समाजसेवी कुन चैँ दुलोमा लुकेर बसेका छन्? जान्न मन लाग्यो ।
सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको कथा निजी विद्यालयमा पढ्ने बालबालिकाको कथासँग मेल खाँदैन । रमेशको कथाले हिजो सम्म आफूलाई सफल शिक्षक ठान्ने मेरो अहम् एकाएक विलाएर गएको छ । आफ्नै विद्यार्थीलाई चिन्ने नसक्ने म त केवल कसरी सफल शिक्षक हुन सक्छु ? मजस्तो अव्यवहारिक शिक्षकले विद्यार्थीहरुलाई के शिक्षा दिन सक्ला र ? तैपनि मेरा विद्यार्थीहरु मलाई माया गर्छन् । उनीहरुसँग नजिकिएर आफ्ना कुरा सुनिदिएकोमा धन्यवाद् दिन्छन् । भविष्यमा आफू सफल हुन सकुँला नसकूँला तर असल शिक्षक चैँ जसरी नि हुने विचार एकाएक मनमा पलाएको छ । म अदृश्य पात्र, रमेश, रेणु र उनको बहिनीलाई भित्री मनबाट धन्यवाद् दिन चाहन्छु ,। मजस्तो असफल शिक्षकलाई शिक्षक बन्न सिकाएकोमा म उनीहरुप्रति कृतज्ञ छु ।
हाल सरकार र समाजले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको असफलतालाई लिएर त्यहाँ पढाउने शिक्षकहरुलाई दोषी करार गरेको छ । तर आफू भने पानीमाथिको ओभानो बन्ने गरेको छ । तर यसमा के शिक्षक मात्र जिम्मेवार छन् त? जुन्् विद्यालयमा अभिभावकहरुले किताब कापी बिना आफ्ना छोराछोरीलाई विद्यालय पठाउन सक्नु नै ठूलो कुरा ठान्छन्, त्यस्तो विद्यालयका बालबालिकालाई निजि बिद्यालयको विद्यार्थीसँग दाँज्नु बेतुक लाग्छ । मेरो आशय सामुदायिक विद्यालयमा कमजोरी छैनन् भन्ने पटक्कै होइन । तर सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थी र अध्यापन गराउने शिक्षकबारे गरिने हल्का टिप्पणीले अलि चित्त दुख्दो रहेछ ।