साहित्य ः शिक्षक भएर इज्जत कमाएको छु,पैसा हैन


2024-10-19 11:25:32

News Image

हिजो किन किन मन चङ्गा थियो । बिहानदेखि बिना कारण मन फुरुङ्ग  थियो । सधैँझै बिहानीको हिडाइले हो कि जीउ पनि हलुका लागिरहेको थियो। चिया खाँदै गर्दा अनुहारमा चमक देखेर श्रीमतीले सोधिन्, आज त सा¥है खुशी देखिनु हुन्छ । त्यस्तो केहि विशेष केहि छ कि?
कहिलेकाँहि लगामबिनाको मनले पनि गजब गर्दोरहेछ । विद्यालयमा पनि मन चञ्चलै थियो । दिउँसो खाजा खाँदै थिएँ । मोबाइलमा नोटिफिकेसन आयो। सुरुमा त वास्ता गरिनँ । एकक्षण पछि यसो हेर्छु त अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट रहेछ । मलाई एकै चोटि फ्रेण्ड कन्र्फम गर्न मन लागेन । अनि त्यस व्यक्तिको प्रोफाइल खोलेर हेर्दा ताजुब लाग्यो । फ्रोफाइलमा सेलेब्रेटी जस्ती देखिने एक महिलाको तस्बीर देखेँ । त्यस तस्बीरलाई नियालेर हेरेँ । ती महिला हेर्दामा कलेज पढ्दै गर्दाका सँगै पढेका आफ्नै सहपाठी जस्तो लाग्यो । तर मेकअपले हो कि थम्याउन सकिनँ ।
फ्रेण्ड रिक्वेस्ट अस्विकार गर्नु घमण्डीपन हुने ठानेँ र तुरुन्त स्वीकारको बटन थिचेँ । म फेरि खाजा खानमै व्यस्त भएँ । बिद्यालयको नियमानुसार हरेक दिन फरक फरक खाजा हुन्थ्यो । सोमबार भएकाले  खाजामा आज आलु, दहि र चिउरा थियो । म चिउरामा दहि खन्याएर खाजामा रम्दै थिएँ । मेरो एउटा नराम्रो बानी के थियो भने मोबाइल प्रेमले गर्दा खाजा खाँदा पनि फुर्सद हुन्नथ्यो ।  फुर्सद पाइयो कि म मोबाइलमा झुण्डिथेँ । धेरैचोटि मैले शिक्षक साथीहरुबाट यसबारे आलोचना पनि खेपेको छु । तर खोइ मोबाइलले ममा मोहनी नै लागेको छ ।
दहि चिउरा चपाउँदै गर्दा म अरु शिक्षकसँग गफिँदै पनि थिएँ । मोबाइलको फेण्ड रिक्वेस्टबोर गफ पनि चल्यो । आखिर एउटा शिक्षकको मोबाइलमा फेण्ड रिक्वेस्ट पठाउने अरु को नै हुन सक्छ र? आफ्नै साथी, आफन्त, विद्यार्थी र अभिभावक त हो नि । यस्तै छलफल गरिरहँदा फेरि मोबाइलमा नोटिफिकेसन आयो ।
अपरिचित महिलाले लेखिन् , नमस्कार ।
मैले जवाफमा अंग्रेजीमै टाइप गरेँ, नमस्ते ।
उताबाट शुद्ध नेपालीमा टाइप गरेको देखियो । नेपालीमा फेरि लेखिन् , मलाई चिन्नु भयो नि?
म अवाक्क भएँ र केहि उत्सुक पनि । मैले लेखेँ, चिनेजस्तो लाग्यो थम्याउन सकिनँ ।
उनले जिस्किदै भनिन् , अनुमान गर्नुस् न । 
मैले अनुमान गरेँ, तपाई उही विमला हो जस्तो लाग्यो ।
उताबाट आएको इमोजिले देब्रे आँखा झिम्कायो । अनि फेरि उनले लेखिन्, एस.एल.सी. पढ्दै गर्दा कविता प्रतियोगितामा सँगै भाग लिएको बिस्र्याै? 
मैले लेखेँ, अँ याद छ । उनले थपे, अहिले के गर्दैछोेै, तिमी ? औपचारिकताबाट उनी अनौपचारिकतामा ओर्लिन् । 
म स्थानिय बिद्यालयमा पढाउँछु । अनि तपाई नि ? मैले थप जिज्ञासा राखेँ ।
कन्सल्टेन्सीमा काम गर्छु । अनि कहिलेकाँहि गीत पनि गाउँछु, उनले भनिन् ।
हुन त विद्यालय पढ्दै गर्दा उनको स्वर सुरिलो थियो र कविता वाचन त असाध्यै राम्रो । विगतलाई सम्झेर मैले लेखेँ,
तपाई पहिलेदेखि गायनमा पोख्त हुनु हुन्थ्यो ।
उताबाट उनको गीतको लिङ्क आइपुग्यो । लिङक खोलेर हेर्दा उनी आफैले मोडलिङ गरेको गीतको भिडियो थियो । 
मैले लेखेँ, एकदम राम्रो लाग्यो ।
उनले भनिन्, नभेटेको दशकौँ भयो, तिमीलाई भेट्ने मन छ । 
हुन्छ, नि, मैले भनेँ । उनले फुर्सदको समय सोधिन् र मैले बताएँ पनि ।
कुराकानी चल्दै गर्दा उनले सोधिन्, पैसा कति कमायौ त? 
मलाई जवाफ दिन असजिलो भयो । तापनि मैले जवाफमा भनेँ, शिक्षक भएर इज्जत कमाएको छु  । पैसा खासै कमाइएन ।
मेरो जवाफ सक्न पाएको थिएन । उनी मेसेन्जरबाट अफलाइन भइन् । मनमा खल्लो लाग्यो । उनी के कारणले अफलाइन भइन् थाहा भएन । महिनौँसम्म पनि उनको अर्को मेसेज आएन। मैले लेख्दा पनि जवाफ आएन । तर मेरो अन्तिम जवाफ मोबाइलमा अझै सुरक्षित छ । शिक्षक भएर इज्जत कमाएको छु  । पैसा खासै कमाइएन । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *