सकियो दुईदिने बृहत नेपालभाषा साहित्य सम्मेलन


असोज २९, २०८१, मङ्गलबार | दिउँसो ०२:१३ बजे | 75


सकियो दुईदिने बृहत नेपालभाषा साहित्य सम्मेलन

भक्तपुर । सम्भबतः नेपाल भाषा (नेवारी भाषा) को क्षेत्रमा नेपालकै सवैभन्दा ठूलो बृहत नेपालभाषा साहित्य सम्मेलन मंगलबार भक्तपुरमा सकिएको छ । जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने उदघोषका साथ सोमबारदेखि भक्तपुरको कमलविनायकमा सुरु भएको ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सकिएको हो ।
दुवै दिनको सम्मेलनमा हजारौं सर्वसाधारण सहभागी रहेका थिए । साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ९ स्थित लाँम्हुग (लामगााल) टोलको खुल्ला ठाउँंमा भएको थियो । सम्मेलन सोमबार बिहान ११ बजेबाट सुरु भएको थियो ।
सम्मेलनमा दर्जनौ पुराना तथा नयाँनयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले आ–आफनो कविता, कथा र निबन्ध वाचन गरेका थिए । बिच–बिचमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले आ–आफनो अनुभव र ज्ञानबारे जानकारी दिएका थिए ।
यस क्रममा पहिलो दिन सोमबार साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिना, पूर्र्व न्यायाधिस गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, संस्कृतिविद् एवं प्राध्यापक सुदर्शनराज तिवारी, जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षण अभियानकर्ता भागवतनरसिंह प्रधान, कवि प्राडा रामप्रसाद ज्ञवाली, गीतकार एवं कवि नारायणकुमार आचार्य, मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजू, ज्योतिषशाश्त्री वीरेन्द्र कायष्ठ, इतिहास एवं नियात्राकार देवीचन्द्र श्रेष्ठ, कवि अनिल पौडेललगायतका विशिष्ट व्यक्तित्वहरुले आआफनो क्षेत्रका विषयमा जानकारी गराएका थिए । साथै उनीहरुले पनि आगन्तुक साहित्यका रुपमा आआफनो साहित्य वाचन गरेका थिए ।
दोश्रो तथा अन्तिम दिन मंगलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, संघीय सांसद प्रेम सुवाल, डा सम्भु पहाडी, डा सरोज धिताल, डा स्त्री तथा प्रसुतिसेवा विशेषज्ञ डा सानुमैयाँं श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, साहित्यकार, पत्रकारलगायतले पनि आआफनो विचार राखेका थिए ।    
कार्यक्रमको क्रममा जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षणमा निरन्तर लागिपरेका भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति, समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, पुराना सफाइ मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी पनि सम्मानित गरियो ।
तःमुंज्याले समाज, देश र जनताको निम्ति महच्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएकोमा यसवर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले जनाए । सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनको निम्ति आवाज उठाउँदै आएको तःमुंज्या यो वर्ष पनि असोज २८ र २९ गते चलेको थियो । यो दुई दिनको क्रममा साहित्य सम्मेलन तथा सांस्कृतिक कायक्रम भएको थियो ।
द्वादशी र त्रयोदशीका दुई दिन भएको सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष वरिष्ठ राजनीतिज्ञ एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) को समुपस्थिस्तिमा भएको थियो । सम्मेलनको उदघाटन स्थानीय सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले गरेका थिए ।
पहिलो दिनको सम्मेलनको सभापतित्व इन्जिनियर एवं उपप्राचार्य रत्नशोभा प्रजापतिको सभापतित्वमा भएको थियो । दोस्रो दिन  मंगलबारको सभापतित्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले गरेका थिए ।
सम्मेलनको पहिलो दिन नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूले सम्मेलनका विषयमा चर्चा गरेका थिए । दोस्रो दिन  तःमुंज्याका सचिव नरेश खत्री र आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवालले मन्तव्य दिएका थिए । सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मानन्धरले धन्यवाद तथा कोषाध्यक्ष नातिभाइ ह्योम्बाले आय–व्यय प्रस्तुत गरेका थिए ।
सम्मेलनको क्रममा दुवै दिन विभिन्न नृत्य, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत गरिएको थियो । सम्मेलनमा स्वागत गीत राजेश हाडाको लयमा रवि हाडा, लक्ष्मण पलिखेल र अन्य साथीहरूको स्वरमा भएको थियो ।
सम्मेलनको दुवै दिन दर्जनौ विशिष्ट अतिथि, साहित्यकारहरुले साहित्य वाचन गरेका थिए । दुवैदिन दिनभरि साहित्यिक र राति साँंस्कृतिक कार्यक्रम भएको थियो । प्रतियोगितात्मक साहित्य तथा साँंस्कृतिकर्मीको मूल्यांकन गरी पुरस्तकार तथा प्रमाणपत्र पनि प्रदान गरिने गर्दै आएको छ ।


फाेटाेमा हेर्नुहाेस्...

सकियो दुईदिने बृहत नेपालभाषा साहित्य सम्मेलन

Comments

ताजा खबर