नेपालभाषा साहित्य सम्मेलन सुरु ः भोलिसम्म चल्ने
असोज २८, २०८१, सोमबार | विहान ११:५२ बजे | 65
भक्तपुर । भक्तपुरमा जनकवि दुर्गालाल श्रेष्ठलगायतका विशिष्ट व्यक्तित्वहरु सम्मानित भएका छन् । जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने उदघोषका साथ सोमबारदेखि भक्तपुरको कमलविनायकमा सुरु भएको ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) का क्रममा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले दोसल्ला ओढाई नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
जनकवि श्रेष्ठका साथमा सम्पदा संरक्षणमा निरन्तर लागिपरेका भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति पनि सम्मानित भएका छन् । त्यस्तै समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, पुराना सफाइ मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी पनि सम्मानित हुने जनाइएको छ ।
तःमुंज्याले समाज, देश र जनताको निम्ति महच्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएकोमा यसवर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले जनाए । सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनको निम्ति आवाज उठाउँदै आएको तःमुंज्या यो वर्ष पनि असोज २८ र २९ गते दुई दिन चल्ने उनले जनाए । यो दुई दिनको क्रममा साहित्य सम्मेलन तथा सांस्कृतिक कायक्रमका साथ हुने जनाइएको छ ।
द्वादशी र त्रयोदशीका दुई दिन हुने सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष वरिष्ठ राजनीतिज्ञ एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) को समुपस्थिस्तिमा भएको आयोजकले जनाएको छ ।
साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ९ स्थित लाँम्हुग (लामगााल) टोलमा बिहान ११ बजे सुरु भएको थियो । सम्मेलनको उदघाटन विहान स्थानीय सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले गरे ।
पहिलो दिनको सम्मेलनको सभापतित्व इन्जिनियर एवं उपप्राचार्य रत्नशोभा प्रजापतिको सभापतित्वमा भएको छ । दोस्रो दिन भोलि मंगलबारको सभापतित्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले गर्ने कार्यक्रमा तय भएको आयोजकले जनाएको छ ।
सम्मेलनमा पुराना तथा नयाँ नयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले आ–आफनो कविता, कथा र निबन्ध वाचन गर्ने छन् । बिच–बिचमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले आ–आफनो अनुभव र ज्ञानबारे जानकारी दिनेछन् । यस क्रममा पहिलो दिन सोमबार साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिनालगायतले पनि मन्तव्य राखेका छन् । यस्तै पूर्र्व न्यायाधिस गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठलगायतले पनि मन्तव्य राखेका छन् ।
सम्मेलनको पहिलो दिन नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूले सम्मेलनका विषयमा चर्चा गरे । दोस्रो दिन भोलि तःमुंज्याका सचिव नरेश खत्री र आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवालले मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ । सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मानन्धरले धन्यवाद तथा कोषाध्यक्ष नातिभाइ ह्योम्बाले भोलि आय–व्यय प्रस्तुत गर्ने कायृक्रम रहेको जनाइएको छ ।
सम्मेलनको क्रममा दुवै दिन विभिन्न नृत्य, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत हुने जनाइएको छ । सम्मेलनमा स्वागत गीत राजेश हाडाको लयमा रवि हाडा, लक्ष्मण पलिखेल र अन्य साथीहरूको स्वरमा भएको थियो ।