‘सावित्री स्मृति’ पुस्तक ः एक विवेचना
असोज २४, २०८१, बिहीबार | विहान ०३:३२ बजे | 20
रत्नकुमार श्रेष्ठ
‘सावित्री स्मृति’ पुस्तकको विवेचनामा प्रवेश गर्नुअघि डा. इन्दुल केसीसँगको भेटघाटको प्रसङ्ग राख्नु जरुरी ठानेँ । उहाँसँग मेरो पुरानो चिनजान पक्कै होइन । प्रायः सबै घटना र परिघटनाहरू समय र परिस्थितिको खेल हो भन्छन् । शायद होला पनि, किनकि २०८० साल मङ्सिरको अन्तिम साता कोटेश्वर महादेवस्थानको परिसरमा हामी प्रातःकालीन, सन्ध्याकालीन मैत्री समूहको बिहानको नियमित चियापान कार्यक्रममा उहाँसँग भेटघाट र चिनजान हुने अवसर मिल्न गयो । तर थोरै समयको चिनजानमा नै उहाँसँगको सामीप्य र घनिष्टता निकै बढ्न गयो । यही घनिष्टताको उपजस्वरूप हाम्रो समूहले आग्रह गरेकाले उहाँले सरस्वती माध्यमिक विद्यालय कोटेश्वरमा एक दिनको वैकल्पिक उपचार विधि विषयको कार्यक्रममा प्रवचन दिनुभयो । अन्तक्र्रियात्मक भएकाले उक्त कार्यक्रम हामी सबैले धेरै उपयोगी र व्यावहारिक भएको पायौँ ।
बहुआयामिक प्रतिभाका धनी डा. इन्दुल केसी उमेरको हिसाबले ८३ वर्षको खुड्किला पार गरी ८४ वर्षको खुड्किलामा हिँडिरहनुभएको छ । तर अहिले पनि हेर्दा उहाँ साहित्य, कला, दर्शन, अध्यात्म, योगसाधना, गीत–सङ्गीत, भजन जस्ता विभिन्न विधामा उत्तिकै जोस–जाँगर, उत्साह–उमङ्ग, लगनशीलता र दत्तचित्तका साथ कार्य गरिरहनुभएको देखिन्छ । यो उमेरमा आएर यति ऊर्जाशील भएर कार्य गर्न सक्नु अत्यन्त प्रशंसनीय र सह्राहनीय कार्य हो ।
उहाँले पहिलो भेटमा नै मलाई उहाँको ‘शब्दसागरका मोती’ समीक्षासङ्ग्रह र ‘भजन सृष्टि विविध दृष्टि’ उपलब्ध गराउनुभएको थियो । यी कृतिहरूबाट नै उहाँ बहुप्रतिभाका धनी हुनुहुन्छ भन्ने कुराको मलाई अनुभूति भयो । त्यसपछि अर्को चरणमा उहाँले मलाई ‘एक–अर्काको दृष्टिमाथि समीक्षकका पुनर्दृष्टि’ उपलब्ध गराउनुभयो । यो नेपाली साहित्यमा नै नयाँ प्रयोगजस्तो लाग्यो । किनकि एक–अर्काका दृष्टिमाथि समीक्षकको पुनर्दृष्टि गरेर लेखेको पुस्तक मैले अझसम्म देखेको छैन । त्यो साँच्चै नै प्रशंसायोग्य कृति लाग्यो ।
अब मैले चर्चा गर्न लागिरहेको पुस्तक हो यही २०८० साल चैत्रमा प्रकाशित ‘सावित्री स्मृति’, जुन उहाँले मलाई केही दिन अगाडि मात्र उपलब्ध गराउनुभएको थियो । उक्त पुस्तकको आवरणमा दिवङ्गत हुनुभएकी उहाँकी धर्मपत्नी श्रीमती सावित्री राणा केसीको हँसिलो मुहारसहित खादा र पुष्पमाला पहिरिएको रङ्गीन तस्बिर राखिएको छ । अन्तिम पृष्ठमा वंशावली तालिका छ, जहाँ चतुर्भुज झादेखि श्रीजल केसीसम्म नवौँ पुस्ताको शृङ्खला देखाइएको छ । यो पनि नयाँ प्रयोग नै हो ।
अहिले पनि मलाई सम्झँदा आचर्य लाग्दछ — डा. इन्दुल केसीसँग भेट हुँदा धर्मपत्नीको देहावसान भएको करिब तीन महिना मात्र भएको थियो, तर उहाँको मुहारमा पत्नीवियोगको दुःखद अवस्थाको झझल्को रत्तिभर पनि देखिएको थिएन । शायद उहाँले ती पीडाहरूलाई बाह्य रूपमा प्रकट नगरी शब्दहरूमा मनोदशा र पीडालाई माला बनाउँदा फूलको थुँगालाई जसरी उनिन्छ, त्यसरी नै उनी–उनी राख्नुभएको रहेछ । यो कृतिबाट उक्त कुरा स्पष्ट रूपमा झल्किन्छ । जीवनको यति लामो भोगाइले उहाँलाई कठोर र जीवन र मृत्युको दोसाँधमा ल्याएर खडा गरेको हुन सक्छ । यसो हेर्दा उहाँले मनुष्य जीवनलाई पूर्ण रूपले बुझेको, जीवन र मृत्युलाई सहर्ष आत्मसात गरेको देखिन्छ ।
मानिसले आफ्नो पीडा र दुःख देखाएर हुने केही होइन । किनकि एक दिन हामी सबैले यो नश्वर देहलाई त्यागेर जानैपर्दछ । ढिलो र चाँडोको मात्र कुरो हो । यो अकाट्य सत्यलाई कसैले नकार्न पनि सक्दैन । हुन त यसो पनि भन्ने गरिएको छ — ‘बच्चाकी आमा र बुढाकी स्वास्नी छिटै मर्नु राम्रो होइन ।’ जति बेला शारीरिक र मानसिक रूपले सहारा चाहिएको हुन्छ, त्यति बेला नै श्रीमती सदाका लागि बिछोड भएर जान्छे भने आफूमाथि बज्रपात नै परेको ठान्नुपर्छ । तर विधिको विधान कसले टार्न सक्दछ र ? त्यसैले हामी मनुष्य जातिले यो जीवनचक्रलाई बुझ्नैपर्दछ र संयमितसमेत हुनुपर्दछ । किनकि यो जीवन दुई दिनको घामछाया मात्र हो ।
श्रीमान्को देहावसानपश्चात् श्रीमती र परिवारले श्रीमान्को नाममा स्मृतिग्रन्थहरू धेरै निकालेको देखेको छु र पढेको छु । तर यसरी दिवङ्गत श्रीमतीको नाममा श्रीमान्ले स्मृतिपुष्प निकालेको मेरो नजरमा यो पहिलो अवसर हो । शायद अरूहरूले निकालेका होलान्, तर मेरो जानकारीमा छैन । त्यसैले यो नेपाली साहित्यमा नौलो प्रयोग हो कि जस्तो लागेको छ । भनिन्छ श्रीमान् र श्रीमती एक–अर्काका परिपूरक हुन् भनेर । श्रीमतीलाई अर्धाङ्गिनी पनि भनिन्छ । तर अर्धाङ्गिनी भनिएकी श्रीमतीको नाममा यसरी स्मृतिग्रन्थ लेखिएको बिरलै पाइन्छ ।
यो स्मृतिपुष्प ६४ पेजको सानो आकारको भए पनि दिवङ्गत सावित्री राणा केसीको सबै पक्षलाई समेट्न सफल भएको देखिन्छ । सम्पादकीयमा लेखक डा. इन्दुल केसीले उनी अर्धाङ्गिनी मात्र नभएर सामाजिक अभियन्ता पनि थिइन् साथै प्रचारलाई भन्दा बढी कामलाई महत्त्व दिन्थिन् भनेर थोरै शब्दमा धेरै कुराहरू अभिव्यक्त गर्न सफल हुनुभएको देखिन्छ । त्यसै गरी प्रकाशकीय मन्तव्यमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले ‘आधा अङ्ग गएर आधा अङ्ग रहेको त्यस्तो दुःखद अवस्थामा पनि डा. इन्दुल केसीले आफ्नो मनोव्यथालाई मुखले प्रकट नगरी अक्षरहरूमा लेख्न चाहनुभयो र यो पुस्तक तयार पार्नुभयो’ भनेर मुग्ध कण्ठले प्रशंसा गर्नुभएको छ ।
साँच्चै भन्नुपर्दा आफ्नी अर्धाङ्गिनीको देहावसान भएको ६ महिनाभित्र निजको जन्मदेखि मरणसम्मको गाथालाई लिएर निजको सम्झनामा ‘सावित्री स्मृतिपुष्प’ पुस्तक प्रकाशन गर्नु नारी जातिमाथिको नै ठूलो आदरभाव र सम्मान हो जस्तो मैले अनुभूत गरेको छु । नारी जातिको सम्मानको कति महत्त्व छ भन्ने कुरा तलको प्रचलित श्लोकबाट पनि प्रस्ट हुन्छ —
‘यत्र नार्यस्त पुज्यन्ते रमन्ते तत्र देवताः ।
अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ र जहाँ नारीहरूको पूजा हुँदैन वा सम्मान हुँदैन, त्यहाँ गरिने सम्पूर्ण राम्रा कार्यहरू निष्फल हुन्छन् । जुन घरमा कुशल गृहणीको बास हुन्छ, त्यो घर स्वर्गतुल्य हुन्छ, त्यहाँ ठूलाहरूले मान, मर्यादा, सम्मान र सानाहरूले माया, ममता, स्नह पाउँछन् । नत्रभने घर नरकमा परिणत हुन कत्ति पनि बेर लाग्दैन । यो हाम्रो वर्तमान सामाजिक संरचनाले समेत स्पष्ट देखाएको छ ।
उक्त पुस्तकमा सम्पादकीय र प्रकाशकीय मन्तव्यका अतिरिक्त सावित्री राणा केसीको जीवनवृत्त, स्वास्थ्य समस्याको विवरण, उहाँको सम्झनामा रचिएका रचनाहरू, निधनका समाचारहरू, निधनपछिका समवेदनाहरू र केही महत्त्वपूर्ण अवसरहरूका तस्बिरहरू राखिएका छन् । सावित्री केसीको जीवनवृत्त शीर्षकमा उहाँको तस्बिरसहित जन्मकुण्डली र मृत्युको प्रमाणपत्र राखी जन्म र मृत्यु, मातापिताको नाम, शिक्षा, विवाह, पति, सन्तान, पेस र यात्रासहित धार्मिक क्रियाकलापहरूको २ पृष्ठमा चुस्त र दुरुस्त रूपमा वर्णन गरिएको छ ।
दोस्रो पाठमा ‘सावित्री राणा केसीको स्वास्थ्यसमस्या विवरण’ भनी वि. सं. २०७३ सालमा डा. भगवान कोइरालाबाट काठमाडौँको त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जमा मुटुको शल्यक्रिया भएको अवस्थादेखि लिएर वि. सं. २०७५ देखि २०८० सम्मको विभिन्न चरणमा रोगको उपचार हुँदाको जीवन्त वर्णन गरिएको छ । यसरी उपचार गर्दागर्दै २०८० असोज २१ गते राति ११ बजे स्वर्गारोहण भएको कुरा शुरुदेखि नै क्रमागत रूपमा उल्लेख गरिएको छ । त्यसपछि पनि भोलिपल्ट बिहान ८ बजे पशुपति आर्यघाटमा पु¥याएको, आँखा दान गरेको, ब्रह्मनालमा राखेको, चितामा राखी अन्तिम श्रद्धाञ्जली दिएको र पुत्र उज्वल केसीबाट दागबत्ती दिइएको समेत क्रमागत रूपले मितिसमेत उल्लेख गरी वर्णन गरिएको छ । यसका साथसाथै कोटेश्वर महादेवस्थानस्थित पितृमुक्ति सदनमा १३ औँ दिनको क्रियाकर्मलाई समेत सविस्तार वर्णन गरिएको पाएँ ।
पत्नीशोकमा परेको बेला यी सबै घटनाक्रमलाई मितिसमेत टिपोट राखी स्मृतिग्रन्थमा प्रकाशन गर्न सक्नु पनि सानो कुरा होइन, त्यो पनि ८३ वर्षको ढल्दो उमेरमा । यसरी नै उहाँले ‘स्वर्गीय सावित्रीको सम्झना’ भनेर वि. सं. २०२४ सालमा सावित्री राणासँग विवाह भएको सन्दर्भदेखि लिएर वि. सं. २०२६ सालमा श्रीमती सिकिस्त बिरामी भएको अवस्था अनि निजको उपचारका लागि विभिन्न ठाउँमा धाउँदाको अवस्था, आर्थिक सङ्कटलाई टारेको अवस्था र उपचारका लागि भक्तपुरबाट वीर अस्पताल काठमाडौँमा लगेको अवस्थालाई बडो मार्मिक ढङ्गले प्रस्तुत गर्न सक्षम हुनुभएको छ । तर कस्तो बिमारीका कारणले उपर्युक्त परिस्थिति झेल्नुप¥यो भन्ने कुराचाहिँ कतै खुलाउनुभएको छैन, पाठकवर्गलाई कौतूहलता र उत्सुकतामा नै राख्नुभएको छ । यो कुरालाई छर्लङ्ग पारेको भए अझ राम्रो हुन्थ्यो कि ?
त्यसै गरी प्रा. डा. कृष्णप्रसाद दाहालले ‘सावित्री केसी शब्दश्रद्धाञ्जली’ मा भाग १ मा ‘कवितामा सावित्री’ भनी भाग २ मा सावित्रीको व्यक्तित्वका बारेमा वर्णन गर्नुभएको छ । अनि ‘श्रद्धाका दुई थुँगा फूल’ जीवनाथ अधिकारीबाट र ‘ठूलो योगदान’ टीका ढुङ्गेल ‘रटन’ बाट प्रस्तुत गरिएको छ । यही क्रममा नवीना श्रेष्ठले ‘फूलको श्रद्धाञ्जली’ नामक शीर्षकबाट डा. केसीजस्तै उहाँको परिवारका सदस्यहरू पनि सहृदयी र मिलनसार पाएँ, मृत्यु एक तीतो सत्य हो, सबैले सामना गर्नुपर्छ, मर्नु भनेको ठाउँ फेर्नु मात्र हो भनी उल्लेख गर्नुभएको छ । यसमा सान्त्वनासहित यथार्थ चित्रण गर्नुभएको पाएँ ।
‘इन्दुलजीकी सहधर्मिणी सावित्री दिदीलाई यसरी सम्झन्छु म’ भनेर पदम दाहालले उहाँको निवासमा जाँदाको आतिथ्यलाई लिएर ‘हामीलाई प्रदान गर्नुभएको खाजानास्ताका साथमा सद्भाव, मीठो बोली र सावित्री दिदीले थप्नुभएको मन्द मुस्कानले उहाँमा एक असल गृहणीको सुपरिचय सहजै झल्किन्थ्यो’ भनेर वर्णन गर्नुभएको छ । साथै डा. केसीको विषयलाई लिएर उहाँ लेख्नुहुन्छ — ‘अन्तरदिलमा जतिसुकै पीडा र दर्द परेको भए पनि विचलित देखिनुहुन्नथ्यो । शोकलाई शक्तिमा बदल्न सक्ने सामथ्र्य भरपूर अटाएको लाग्थ्यो उहाँमा ।’
यसरी नै ‘बलियोले चाहेपछि’ भनेर प्रजापति तिमिल्सिनाले र ‘हाम्री जननी’ शीर्षकमा उहाँकी छोरी रजनी केसी मानन्धरले मातृवियोग, सावित्री आमाको प्रशंसा, सिर्जना र श्रद्धाञ्जली उजागर गर्नुभएको छ ।
यही क्रममा हरि मञ्जुश्रीले ‘अनेकमध्येकी एक सावित्री’ भनेर विभिन्न सावित्रीहरूको क्रमागत रूपमा वर्णन गरेर अन्तमा सावित्री राणा केसीलाई भेट्दा आफूलाई लागेका कुराहरू शृङ्खलाबद्ध रूपमा उल्लेख गर्नुभएको छ । हरेक पुरुषको प्रगतिका पछाडि महिला हुन्छन् भन्ने भनाइलाई सार्थकता दिँदै डा. केसीले हरेक विधामा गरेका प्रगतिको पछाडि उहाँको हात थियो भन्ने कुरासमेत उल्लेख गर्नुभएको छ ।
उक्त स्मृतिपुष्पमा विभिन्न लेखकहरूद्वारा लेखिएका नौवटै लेखमा सावित्री केसीका बारेमा उल्लेख गरिएको छ । त्यसपछि समाचारहरूमा शब्दयात्रा प्रकाशन परिवारबाट हार्दिक समवेदना, स्वर्गीय राणाको श्रद्धाञ्जलीस्वरूप भक्तपुरमा भजन–कीर्तन, भक्तपुरमा नै स्वर्गीय सावित्रीको सम्झनामा सिद्धिस्मृति शान्तिग्रामका बृद्धबृद्धालाई भोजन आदि उल्लेख छ ।
समवेदना सन्देशहरू भन्ने शीर्षक अन्तर्गत विभिन्न सङ्घ–संस्थाहरू र व्यक्तिहरूबाट व्यक्त गरिएका समवेदना सन्देशहरू उल्लेख गरिएको छ । पुस्तकको अन्तमा विभिन्न अवसरमा लिएका तस्बिरहरू राखिएका छन् ।
यो लेखलाई बिट मार्नुअगाडि म र मेरो परिवार डा. इन्दुल केसीकी अर्धाङ्गिनी, दिवङ्गत हुनुभएकी सावित्री राणा केसीको आत्माको चिरशान्तिको कामनासहित परिवारजनमा सदैव ईश्वरको कृपा रहोस् भनी कामना गर्दछौँ । अन्तमा डा. इन्दुल केसीलाई ‘सावित्री स्मृति’ जस्तो स्मृतिपुष्प सिर्जना गर्न सक्नुभएकोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको दुई हरफ समर्पण गर्न चाहन्छु — ‘सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रदर्शन गर्नु नै कला हो ।