चङ्गाको कथा
असोज २१, २०८१, सोमबार | विहान ११:०५ बजे | 20
Enter
अनन्तराज बज्राचार्य
हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा
जता जाउ उतै भन्छन्, दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो
ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ
सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो उज्यालो चेहरा रंग !
कवि शिरोमणि लेखनाथ पौडेलले दशैंलाई यसरी कवितामै व्यक्त गरेका छन् । सानो हुँदा स्कूलमा दशैंलाई केन्द्रित गरेर लेखिएको यो कविता भट्याएको सम्झना आज पनि छ । साँच्चि नै कवि शिरोमणिले भनेजस्तै दशैंको समयमा पानी पर्न रोकिसकिएको हुन्छ, हिलो मैलो हटिसकेको हुन्छ र आकास नीलो अनि दिन घमाइलो हुन्छ । मौसम न गर्मी, न जाडो निकै रमाइलो ! वसन्त ऋतु सकिएसँगै शरद ऋतुको सुरुवातमा दशैं पर्व पर्छ ।
९० को दशक – नीलो आकासमा रङ्गीचंगी चङ्गा ! हेर्दै रमाइलो ! काठमाडौं सहरका हरेकजसो घरको छतमा हुलका हुल युवायुवतीहरु चङ्गा उडाउँदै गरेका अनि लाउड स्पिकरमा कतै नेपाली पप गुन्जिरहेका हुन्थे त कतै मेटालिका, कतै गन्स एण्ड रोजेज त कतै इरिक लयाप्टनका अंग्रेजी गीतहरु ! त्यसबेला चङ्गा उडाउनुको मज्जा नै बेग्लै हुन्थ्यो । समयको परिवर्तनसंगै अहिलेको पुस्ता मोबाइल र बिभिन्न ग्याजेटमा रमाउने भएपछि चङ्गा उडाउने परम्परामा कमि आएको छ । स्थानिय चङ्गा व्यापारीहरु पनि पहिलेको तुलनामा चङ्गाको ब्यापार निकै घटेको कुरामा एक मत छन् । विगत केही वर्षदेखि काठमाडौंमा भने हरेक वर्ष ‘चङ्गा–चैट’ नामक चङ्गा उडाउने प्रतियोगिता आयोजना गरिंदै आएको छ । यो प्रतियोगिताले युवा पुस्तालाई रंगीन डिजाइन–डिजाइनका चङ्गा बनाउन र चङ्गा उडाउने प्रतियोगितामा भाग लिन केही भएपनि प्रोत्साहित गरेको छ ।
नेपालमा चङ्गा उडाउने परम्परा परापूर्वकालदेखि चलिआएको छ । यो दशैं पर्व संग सम्बन्धित छ । नेपालमा चङ्गा उडाउने परम्परालाइ लिएर एकथरि जनविश्वास रहेको पाइन्छ । चङ्गाले देवताहरुलाई पानी नपार्न सन्देश दिने जनविश्वास रहिआएको छ भने वृद्धवृद्धाहरूले यो रमाइलो परम्परालाई परिवारहरु बीच सम्वृद्धि ल्याउने र यो आफ्ना पितापूर्खाहरुसंग स्वर्गमा सम्पर्क गर्ने माध्यमका रुपमा लिने गरेको पनि पाइन्छ ।
नेपालमा मात्र नभएर चङ्गा उडाउनुलाई विश्वमा नै एक रमाइलो र रोमाञ्चक खेलका रुपमा लिइने गरिएको छ । यो नेपाल लगायत भारत, बंगलादेश, पाकिस्तान, चीन, जापान, थाइल्यान्ड तथा अन्य धेरै एसियाली मूलुकहरुमा विभिन्न पर्व एवं चाडहरुमा चलनचल्तिमा रहेको छ ।
हरेक देशको आ–आफ्नै शैली र चङ्गा उडाउने प्रचलन रहेको पाइन्छ । भारतमा मुगलको समयदेखि नै चङ्गा उडाउने परम्परा रहेको बुझिएको छ । यसलाई भारतमा बिशेष सामाजिक उत्सवको रुपमा लिइएको छ । भारताका केही प्रान्तहरुमा मकर संक्रान्तिको अवसरमा चङ्गा उडाउने परम्परा रहेको छ । हरेक वर्ष जनवरी १४ मा उत्तरी भारतमा लाखौँ मानिसहरु चङ्गा उडाएर यो पर्व मनाउने गरेका छन् । विशेष गरि भारतको अहमदाबाद र जयपुरमा चङ्गा उडाउने परम्परा धुमधामका साथ मनाउने गरिन्छ ।
त्यसैगरी पाकिस्तानमा पनि त्यहाँको पर्व “बसन्त” चङ्गा उडाएर धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व विशेष गरि पाकिस्तानको लाहोरमा भव्यताका साथ मनाइन्छ । यस अवसरमा मानिसहरु विभिन्न किसिमका चङ्गा बनाउन र चङ्गा प्रतियोगिता जित्न उपयुक्त धागोका लागि मनग्य खर्च गर्छन् । यस अवसरका लागि डिजाइन गरिने चङ्गाहरु सामान्यभन्दा फरक र अलि बिशेष प्रकृतिको हुन्छ । हरेक वर्ष मनाइने यो पर्व पाकिस्तानको प्रशिद्ध सामाजिक उत्सव मध्येको एक पनि मानिन्छ ।
जापानमा पनि चङ्गा उडाउने चलन रहेको छ । त्यहाँ खराब आत्माहरूबाट टाढा रहन चङ्गा उडाउने विश्वास गरिन्छ भने र त्यसले अन्न उत्पादनमा राम्रो हुने विश्वास गरिन्छ भने चिनियाहरूले नवौं महिनाको ९ औं दिन, दुष्ट आत्माहरुबाट मुक्ति पाएको संकेत गर्ने दिन, चङ्गा उडाएर मनाउने गरेका छन् ।
चङ्गा कसरी, कहाँ र के उद्देश्यका लागि प्रयोग गरियो भनेर चङ्गा उडाउने परम्परा सम्बन्धमा विभिन्न रोचक प्रसंगहरु पाइन्छन् । कतिपय मानिसहरुले चङ्गालाई शौकका रूपमा उडाएको पाइन्छ भने कतिपयको लागि चङ्गा वैज्ञानिक प्रयोगका उपयोगी सावित भएको छ । हवाईजहाजको आविस्कार भन्दा अघि सैन्य गतिविधीका लागि चङ्गाहरू व्यापक रूपमा प्रयोग गरिएका उदाहरणहरु पनि पाइन्छ । करिव १८०० वर्ष अगाडी सिल्ला वंशको शासनकालमा कोरियाली विद्रोहको क्रममा पनि चङ्गाले ठूलो भूमिका खेलेको मानिन्छ । जनरल गिम यु–सिनलाई विद्रोहीहरूसँग युद्ध गर्ने आदेश दिइएको थियो । तर उनका सिपाहीहरूले आकासबाट ठूलो ताराहरु झरिरहेको देखे र त्यस क्षणमा आक्रमण गरे उनीहरू पराजित हुने ठानेर आक्रमण गर्न हिचकिचाए । तिनीहरूलाई प्रोत्साहित गर्न जनरल गिमले फायरबल जोडिएको चङ्गा प्रयोग गरे र उडाए। उनका सिपाहीहरुले त्यसलाई ताराहरु आकास तर्फ उडिरहेको देखे । यसरी ताराहरु आकासमा उडिरहेको देख्नु राम्रो संकेत हो भन्ने उनीहरुको विश्वास अनुसार सिपाहीहरूले विद्रोहीहरु माथि हमला गरे र अन्ततः विद्रोहीहरूलाई पराजित गरे ।
चीनमा इसापूर्व १००० वर्ष अगाडिदेखि नै चङ्गा उडाउने चलन भएकोले चङ्गाको आविस्कार धेरै पहिले भएको हुनु पर्ने अनुमान विज्ञहरुको रहेको छ । एक चिनियाँ किसानले आफ्नो टोपीलाई तेज हावाले उडाउनबाट बचाउनका लागि धागोमा बाँधेका थिए, यही सम्भवतः पहिलो पटक उडेको चङ्गा हुनु पर्ने विश्वास एक थरी विज्ञहरुको रहेको पाइन्छ । हान वंशका एक सेनापतिले चङ्गालाई युद्धको औजारको रूपमा दरबारमा प्रवेश गर्न र घेराबन्दी अन्त्य गर्न सुरुङ खन्नको लागि दूरी निर्धारण गर्न प्रयोग गरेको भन्ने तथ्यबाट पनि चीनमा चङ्गा ईसापूर्व २०० भन्दा पहिले नै प्रयोगमा आएको हुनु पर्ने अनुमान लगाउन सकिन्छ । चीनमा चङ्गा उडाउने मनोरञ्जनको लोकप्रिय गतिविधिको रुपमा लिइन्छ ।
वर्तमान अवस्थामा चङ्गा उडाउने परम्परालाई धेरैजसो देशमा मनोरञ्जनको गतिविधिका रुपमा हेरिएको भए पनि यसले मानव समाजलाई हवाई यातायातको सिद्धान्त (बभचयमथलबmष्अ उचष्लअष्उभिक) बुझ्न मद्दत गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ भन्दा सायदै कसैको दुईमत होला । आज हामी यही हवाई यातायातको सिद्धान्त प्रयोग गर्ने हवाईजहाज, प्यारासुट, प्याराग्लाइडर आदिका माध्यमबाट आकासमा उड्न सफल भएका छौं भने अहिलेको अवस्थामा यि मध्ये कतिपय साधनलाई प्रयोग गरि विश्वमा खेलकुद प्रतियोगिताहरु पनि आयोजना भइरहेका छन् ।