इन्जिनियर कृष्णभक्त दुवाल
बेलायत र अमेरिकामा दुई तीन दिन पहिले धन्यवाद ज्ञापन प्रदान गर्ने दिन मनाइएको सामाजिक सञ्जाल फेसबुकमा खुब देखियो । मैले पनि कसलाई धन्यबाद ज्ञापन गर्नुपर्यो भनी सोच्दा विगत तीन वर्षमा एकजना ब्यक्तिलाई धन्यवाद दिनुपर्ने देखे, जसले राष्ट्रियस्तरमा ठूलो मुद्दा उठाउनुका साथै देशमा ठूलो रकम भ्रष्टाचार हुनबाट मात्र बचाएनन् बरु दश हजार इन्जिनियर जन्माउन सफल भएको देशकै ठूलो संस्थालाई बचाए । उनलाई कोटीकोटी धन्यवाद छ ।
नेपाल इन्जिनियरिङ कलेज नेकको म एक पूर्व अध्यापक थिए । तर मलाई पूर्व बनाउने षड्यन्त्र थियो तत्कालीन कलेजका अध्यक्ष लम्बोदर न्यौपाने लगायत उसको टिमको । त्यो मलाई पचेको थिएन ।
लम्बोदर न्यौपाने कलेज संचालक समितिको अध्यक्ष भई आए यता कलेजमा आर्थिक घोटालाले सगरमाथा चुम्दै थियो । लम्बोदर सुनको अण्डा पार्ने कुखुरा नै मार्न तलिन थिए.। कलेजलाई निजीकरण गर्न ऊ आतुर थिए.। तर हामीले हरदम निजीकरणको विरुद्ध औला तेर्साउदै आयौं ।.आर्थिक अनियमितता र कलेज निजीकरणको विरुद्ध आवाज बुलन्द बनाउदा लम्बोदरको निशानामा पहिलो नम्बरमा म परे । र मलाई कलेजबाट हटाइएको थियो ।
२०७४ साल चैत्र महिनातिर होला शनिवार तीनचार बजेतिर म नगरकोटको एउटा शान्त ठाउँमा साथीहरुसँग हप्ताभरिको थकान मेटाउन पुगेको थिए । बिहान विभिन्न कलेजहरूमा अध्यापन र १० बजेदेखि गोर्खा इको प्यानलको सीईओ र लगानीकर्ता भएर भक्तपुरको उत्पादनलाई देशभरि पुगाउन कठोर मेहनत गर्दा शनिवार मात्र साथीहरूसँग बस्न पाउथेँ ।
हामी बसेको टेबल अगाडिको हावा घरमा ल्यापटप खोली केही कुरा टाइप गर्दै मःमः र कफी अर्डर गरी बसेका एक जना चस्मा लगाएका, अलि कपाल नभएका ३८ देखि ४० बर्से व्यक्तिमा मेरो नजर बस्यो । म भावुक भएर साथीहरूसँग ‘म एसएलसी टपर लिस्टको मान्छे, इमानदार भएर काम गर्दा अध्यापन गराउँदा मलाई बदनाम गराएर कलेजबाट निष्कासित गरियो । म छोड्ने छैन’ भन्दै गर्दा  उनले मलाई ‘मित्र एकचोटी मसँग बस्नुपर्यो’ भनी बोलाए । उनले थपे, ‘भावुक भएर दुःख पोख्ने कि सरकारलाई सहयोग गर्ने ? तपाईं मलाई सहयोग गर्नुस्, म तपाईंलाई न्याय दिलाउँछु । यदि तपाईं गलत हुनुहुन्न भने तपाईंलाई क्षतिपूर्ति दिलाउन सक्छु तर त्यो क्षतिपूर्तिबाट आएको रकम विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुपर्छ ।’ म उनको यही तथा अन्य कुराबाट प्रभावित भए । तर तपाईं को ? भनी प्रश्न गर्दा ‘म जिल्ला प्रशासन कार्यालयको अधिकृत’ भनी भने ।
तत्कालीन भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसँग तीनचार पटक हामीले भेटिसकेको तथा कार्वाही गर्न माग गरिसकेको हुनाले उनले सहयोग गर्न सक्लान् जस्तो लागेन । यद्यपि कुरा गर्दा मलाई मक्ख पार्ने कला चाहिँ उनीमा थियो । प्रत्येक हप्ताजसो केस जिल्ला प्रशासनमा आइराख्ने नेक कलेजको ठूलो बद्नामी भएको पूरा भक्तपुर जिल्लालाई थाहा थियो । यस्तो बेला एक अधिकृतले के काम गर्न सक्ला ? भनी लागेको भए पनि मैले फोन नम्वर आदानप्रदान गरे । यद्यपि द्रोण पोखरेल सकारात्मक थिए । तर उनले आफनो अधिकार नपर्ने भएर कार्वाही गर्नतिर जान नसकिने बताएका थिए । तपाईं प्रशासनको कोठा नम्वर यतिमा भोलि आउनुहोला भनी उनी निस्के ।
बढी बिश्वास नलागेर तथा फुर्सत नभएर म त्यहाँ गइन । करिब ५ देखि ६ दिन पछि फोन गरी मलाई ‘मित्र तपाईंको नै गल्ती रहेछ कि क्या हो । त्यही भएर मलाई भेट्न् आउनु भएन’ भन्यो । ममाथि प्रश्न गर्दा मलाई रिस उठेपछि गाडी स्टार्ट गरी कारखानाबाट १० मिनेटमा म उनको कोठामा पुगे । उनी सानो कोठामा एक्लै बसेका थिए । उनले चिया मगाउदै भने, ‘लामो कुरा छैन । के तपाईं झुठो हो ? के सबुत छ खोज्न लाग्नुस् ।’ उनले मलाई उस्काएको थाहा भयो । तर मसँग विकल्प थिएन । उनले ‘म राष्ट्रिय अनुसन्धानको डीएसपी हु, तपाई मलाई अनुसन्धानमा सहयोग गर्नुस् । म तपाईलाई न्याय दिलाउने कोसिस गर्छु’ भन्नुभयो ।
म मात्र नभएर देशकै इन्जिनियरिङ क्षेत्रमा प्रतिष्ठित ब्यक्तिहरुलाई पनि लम्बोदरले  त्यस्तै गरेको थियो । प्राडा भरत शर्मा जो अक्सफोर्ड युनिभर्सिटीबाट पढेलेखेका व्यक्ति तथा सहरी योजनाकार, प्राडा चिन्तामणि पोखरेल पुल्चोक इन्जिनियरिङ कलेजका प्रतिष्ठित ब्यक्तित्व, बिरोध रिजाल आईटी क्षेत्रमा नाम कमाएका ब्यक्ति लगायत अरु धेरै  साथीहरू  पनि नेकका अध्यक्ष लम्बोदर न्यौपानेको खेलका सिकार भएका थिए । राम्रा नभएर हाम्रा र नबोल्ने अध्यापक लिएर रजाइँ गरिरहेका लम्बोदर उनलाई गलत काममा सहयोग नगर्नेलाई फाल्ने रणनीति लिएर उत्रिएका थिए ।
मैले राजी भए र एक हप्तामा सम्पूर्ण सबुतहरु ल्याइ तपाईकहाँ आउछु भन्दा एक हप्ता होइन, एक महिनामा आउनुस तर मिति अनुसार भएको घटनाक्रम मिलाएर र कोकोले सहयोग गर्दै छ, लिएर आउनुस भन्यो । जिस्केर हामीसंग पैसा हुँदैन बुक जस्तो बनाएर तीनचार प्रति दिनुहोला भन्यो । तत्पश्चात् मैले नेकका तत्कालीन प्राध्यापक मित्र दीपक धामी, लेखा शाखा, कलेजका संस्थापक अध्यक्ष स्व. दीपक भट्टराई तथा अन्य विभिन्न ठाउँबाट उनले भने जसरी कागजात खोजे । तथ्य प्रमाणसहित लेखा परिक्षण गरेको कागजात, बैठकका निर्णय, नक्कली नाममा पैसा निकालेको प्रमाण, सहमति आदिको किताब तयार गर्दै उनलाई सोध्दै एउटा करिब तीन सय पानाको ग्रन्थ तयार गरे । अनि उनलाइ बुझाए ।
केही दिन अध्ययन गरी उनले फोन गरी ‘धन्यवाद मित्र ! तपाईंले साथ दिनुभयो । अब आगो म लगाउछु’ भने । ‘अब गल्ती गर्नेलाई त्यस आगोको तापले पोल्छ र गल्ती नगर्नेले त्यही आगोमा  सेकुवा बनाउनु पर्छ’ भन्नुभयो । तपाईंले ठूलो भ्रस्टाचार घोटाला बाहिर ल्याउनु सहयोग गर्नुभयो भने । तपाईलाई अब पूरा नेक परिवार याद गर्नेछ ।
मैले ‘सरकारले यो कार्वाही गर्छ त ? भन्दा सरकार मुकुट लगाएर घोडामा आउदैन । म जस्तै रूपमा देशभरि छरिएको छ’ भनी उनी गज्जबले हाँसे ।
करिब ३ महिना हाम्रो भेटघाट भएन र एकदिन उनले मलाई चिया खान तपाईं कहाँ आउछु भने । मेरो कारखानामा आएर मेरो त पदोन्नति र सरुवा भयो भन्नुभयो । उनले केही कागजात निकालेर तपाईं हेर्नुस् भनी लम्बोदर न्यौपानेको  नामसहितको पासपोर्ट नम्वर, बिदेश गएको मिति, समय, बैंक खाता नम्वर देखाए । चिन्ता नगर्नुस्, तपाईंको मेहेनेतले काम गर्नेछ भनी ढाडस दिए । मैले अख्तियार, आफनो मुख्यालय, प्रधानमन्त्री कार्यालय, गृहमन्त्री कहाँदेखि जिल्ला प्रशासनमा पुगाइसकेको भने । प्रमुख जिल्ला अधिकारी नयाँ आएकाले मेरो कुरा सुनेका छैनन् । तर तपाईंको काम हुन्छ भने । केही दिनसम्म पनि केही नहुदा कतै मेरो फाइदा उठाएर, उनीहरुलाइ धम्काएर रकमको पछि लागेका त होइनन् ? भन्ने मलाई लाग्यो । तर यो समयमा मैले उनकोबारेमा धेरै बुझे । ऊ पनि एकेडेमिक ब्याक ग्राउन्डबाट आएको एक कुशल अनुसन्धान अधिकृत हो भने बुझें । उनी यति मात्र नभएर अर्थशाश्त्री पनि हुनुहुदो रहेछ ।
केही समयपश्चात् पत्रिकामा नेककोबारे समाचार आगो लागे सरह आउन थाले र मैले पनि त्यतिकै शेयर गर्दै गए । एकदिन उनले धनुषाबाट फोन गरेर मित्र ! लम्बोदर न्यौपाने अख्तियारमा मिलाउन लागेको छ, विचार गर्नुहोला भने । नभन्दै केही दिनपश्चात् नेकको भाग्यबस अख्तियार आयुक्त पाठकको ८० लाखको घटना बाहिर आयो ।
आज मलाई नेक कलेजको भ्रष्टाचार बाहिर ल्याएको, हजारौं बिद्यार्थीहरुको भबिष्यसंग  खेलवाड हुनबाट बचेको, सरकारको २५ करोड रकम असुल हुने तथा संस्थागत सयौं रोपनी जग्गा, करोडौंको भवन दुईचार जना ठगहरुको प्रा लिमा जानबाट जोगाउन सफल भएको अभियानको एक योद्धा भएकामा छाती ठूलो भएको छ तथा भ्रष्टाचारीहरुलाई जेलमा देख्दा हजारौं विद्यार्थीको पैसा गलत ठाउमा नगएको भनी गर्ब भएको छ ।
उनले भने जसरी नै मैले आफुले क्षतिपूर्ति वापत पाउने  पैसा ६ बर्ष बराबरको तलब करिब ४० लाख पाउने भएको छु । जुन म  बुवाआमाको नाममा अक्षय कोष बनाइ छात्रवृत्ति चलाउने निधो गरेको छु ।
लेखक इन्जिनियर दुवाल नेकका पूर्व प्राध्यापक हुन् ।

...

All Comments.......


Please Login/Register To Comments