काठमाडौँ । नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको आज बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस हलमा एक समारोहबिच लोकार्पण गरिएको थियो ।
नारी साहित्यकार एवम् समालोचकहरूद्वारा स्थापित ज्ञानचक्षु साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा अपेक्षा बस्नेत, सोनु श्रेष्ठ, दिया थापा, दर्शना थापा, प्रसिका गौतम, श्रीसा श्रेष्ठ, विद्या पौडेल, विपश्वी ढकाल, यमुना शाह, अस्मिता बस्नेत, सम्भवी ढकालसहित एघार जना कन्याहरूको हातबाट उक्त कृति लोकार्पण गरिएको थियो ।
नेपाली साहित्यमा नारी सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित प्रतिष्ठानको आयोजना भएकाले उक्त कार्यक्रमका अध्यक्ष, सञ्चालक एवम् समीक्षक पनि नारीस्रष्टाहरू नै रहेका थिए । कार्यक्रमका अध्यक्षता डा. शान्तिमाया गिरी र सञ्चालन उषा आचार्यले गरेका थिए । समीक्षक द्वयमध्ये मनमाया पोख्रेलले नारीचेतनाका दृष्टिबाट र दिव्येश्वरी जोशीले शिल्पपक्षका आधार लोकार्पित कृतिको समीक्षा गरेका थिए भने डा. शान्तिमाया गिरीले विषयवस्तु र समसायिकताबारे प्रकाश पारेकी थिइन् ।
कृतिसमीक्षाका अन्तरालमा प्रतिष्ठानका तर्फबाट राधिका गुरागाईं र रमा के. सी.ले लोकार्पित कृतिका मुक्तक वचन गरेका थिए भने सहभागिका तर्फबाट साहित्यकार एवम् सञ्चारकर्मी द्वव हेम भण्डारी र भगवती बस्नेत साथै साहित्यकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठले पनि केही मुक्तक वाचन गरेका थिए । वरिष्ठ साहित्यकार पुष्कर लोहनीले शुभकामना मन्तव्य दिएका थिए । नेपाली उपन्यासमा नारीचेतना विषयमा विद्यावारिधि गरेकी र नेपाली विभाग, पद्म कन्या बहुमुखी क्याम्पसकी विभागीय प्रमुख डा. अर्यालका यसअघि अविश्रान्त (२०७५) उपन्यासलगायत आधा दर्जनजति समालोचना कृति प्रकाशित छन् । ‘भावदीप’ मुक्तकसङ्ग्रह सङ्गम बुक्स पब्लिकेसनले २०८१ सालमा प्रकाशित गरेको हो । पृष्ठ ९५ । मूल्य रु. २५० ।