सेन्सर गर्न छनौट गर्ने निर्णायक मण्डलहरुको भेला
असोज १०, २०८१, बिहीबार | विहान ०७:१० बजे | 50
भक्तपुर, १० असोज । चवालीसौं नेपाल भाषा साहित्य तःमुज्याको साँस्कृतिक विधाहरुको सेन्सर गर्न छनौट गर्ने निर्णायक मण्डलहरुको भेला लाँम्हुग टोल ग्वसाखलको हलमा बुधबार सम्पन्न भयो ।
भेलामा अध्यक्ष कृष्ण भक्त लवजुले यसपाली साँस्कृतिक विधामा ख्याल र नाटकमात्र चौध वटा भएको बताउँदै गीत, नृत्य लगायत विविध विधाहरु धेरै भए राती अवेरसम्म देखाउँदा स्थानीयहरुलाई अप्ठ्यारो हुने भएकोले यसपाली भजन विधालाई सकेसम्म नदेखाउने बरु प्रगतिशील भजन प्रतियोगिताहरु गराउन संघसंस्थाहरुलाई अनुरोध गर्ने बताउनुभयो ।
भेलामा उपाध्यक्ष लक्ष्मी प्रसाद चवालले ख्याल नाटकको स्क्रिप्ट बाचन कार्यक्रम भई सकेकोले त्यसमा सच्याउनुपर्ने सच्याउन दिई स्तरीय विधाहरुमात्र प्रस्तुत गराउनु पर्ने बताउँदै ख्याल, नाटक, गीत र नृत्य सिकाई रहेको स्थानमा गई अनुगमन गर्ने र आधिकारीक दर्ताको लागि पहल गर्नुपर्ने बताउनुभयो ।
साँस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले यहि असोज २० र २१ गते बिहान १०ः०० बजेदेखि सरस्वति विद्या गृहको प्राङ्गणमा गर्ने निर्णय भएको बताउनुभयो । साथै सांस्कृतिक विधामा दर्ता गरेका विभिन्न संघसंस्थाहरुलाई उक्त दिन सेन्सर(छनौट) कार्यक्रममा सहभागी हुन समेत अनुरोध गर्नुभयो ।
भेलामा लक्ष्मणराज जोशी, विष्णुगोपाल कुसी, आशराम बैद्य, राजेन्द्र श्रेष्ठ, आशाकाजी थकू, लक्ष्मी नारायण दुवाल, सत्य नारायण दिदिया, सिताराम होरा, शिबराम राजचल, सुलोचना छ्वाजु, ईन्दिरा लाछिमस्यु, रामशरण खानिबञ्जारलगायतले छनौटको मुल्याङ्कन फारम व्यबस्थित गर्नुपर्ने लगायत सांस्कृतिक कार्यक्रम सभ्य र भव्य बनाउन आ–आफ्नो सुझाब दिनुभयो ।