श्रद्धासुमन समर्पण


असोज ९, २०८१, बुधबार | विहान ०५:०३ बजे | 45


श्रद्धासुमन समर्पण

पं. विनोदराज शर्मा
(भक्तपुर ः अनुसन्धाता तथा लेखक)
भक्तपुर नगरमा डा. इन्दुल केसी कुनै नौलो नाम होइन । बेलामौकामा हाम्रो भेटघाट भइरहन्थ्यो । उहाँ उमेरमा मभन्दा १२ वर्षले जेठो हुनुहुन्छ । मेरा पिताजीलाई उपचार गर्नका लागि मेरो घरमा पनि उहाँ आउने गर्नुहुन्थ्यो । 
ख्यालठट्टा, सरसल्लाह एवम् विचार आदानप्रदानयुक्त हाम्रो सम्बन्ध घनिष्ठ थियो र छ ।
२०८० साल असोज २१ गते आइतबारको दिन उहाँकी धर्मपत्नी सावित्री राणा केसीको निधनको खबर सुन्नुपर्दा मलाई धेरै दुःख लाग्यो । सावित्री भाउजूको देहावसानबाट इन्दुल दाइको परिवारलाई परेको बज्रपातलाई सहने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक कामना व्यक्त गर्दछु ।
संसारमा जन्म भएपछि एक दिन मानव मात्रले धर्तीबाट बिदा लिनुपर्छ, यो शाश्वत सत्य हो । 
कसैको मृत्यु हुँदा असह्य वेदना हुने रहेछ । यो धु्रवसत्य हो । तर डा. इन्दुल केसी शोकलाई शक्तिमा बदल्ने क्षमतावान् व्यक्ति हुनुहुन्छ । उहाँ शताब्दी पुरुष सत्यमोहन जोशीबाट उद्घाटित कला–संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष, शब्दयात्रा प्रकाशन, नेपाल स्रष्टा समाजलगायत विभिन्न साहित्यिक, सामाजिक, धार्मिक सङ्घ–संस्थाहरूको आजीवन सदस्य, सल्लाहकार, संरक्षक भई सक्रिय कार्य गरी आउनुभएको मैले देखिरहेको छु । 
यस्तो बहुप्रतिभाका धनीलाई परेको दुःखको बेला समवेदना प्रकट गर्दछु । इन्दुलजीकी दिवङ्गत पत्नीको सद्गुणलाई अक्षुण्ण राख्न सकून् भनी कामना व्यक्त गर्दछु ।
यो समवेदना र श्रद्धाञ्जलीका साथ सावित्रीको जीवनीयुक्त पुस्तकको सम्पादन डा. इन्दुल केसी स्वयम्ले गर्नुभएको छ । यस पुस्तकमा समावेश भएका विभिन्न विषयहरू मैले मेरो दैनिकीसँग जोडेर हेरँे । म एक राजोपाध्याय ब्राह्मण हुँ । मेरा पुर्खाका पालादेखि हाम्रा यजमानहरूको अनुरोध अनुसार मैले पनि विभिन्न धार्मिक कार्यहरू, पूजापाठ, पुराणवाचन, श्राद्ध आदि पण्डित पुरोहितको कार्यमा लागिरहेको छु । साथै म एक लेखक पनि हुँ । मैले विभिन्न लेखरचना लेख्ने, आफ्ना पुस्तक प्रकाशन गर्ने गरिआएको छु ।
मैले ‘सावित्री स्मृति’ पुस्तक सरसर्ती पढ्दा यसमा विभिन्न विशेषताहरू भएको पाएँ । आ–आफ्नो कुलधर्म, रीतिरिवाज अनुसार मृतकको काजक्रियाकर्म गर्नुका साथै सम्बन्धित कामकुराको सँगालो स्मृतिपुस्तक प्रकाशन गर्नु पनि एउटा महत्त्वपूर्ण एवम् स्तुत्य कार्य भएको पाएँ । 
नेपाली भाषामा विभिन्न व्यक्तिहरूको शोककाव्य, शोकग्रन्थ आदि पुस्तकहरू मैले पढेको छु । तर यो प्रस्तुत पुस्तकको रूपरेखा भिन्नै पारा तथा एउटा नौलो रूपमा देखापरेको छ । आफन्तजनको देहावसानपछि यस प्रकारको पुस्तक प्रकाशन गर्नु अनुकरण गर्न लायकको कार्यका रूपमा रहेको पाएँ । 


Comments