‘सावित्री स्मृति’ भित्र रुमलिँदा


असोज ७, २०८१, सोमबार | विहान ०९:२१ बजे | 90


‘सावित्री स्मृति’ भित्र रुमलिँदा

रवीन्द्र गिरी
(काठमाडौं ः लेखक तथा सामाजिक अभियन्ता) 
‘सावित्री स्मृति’ पुस्तकका बारेमा केही लेख्नुपूर्व हामी हाम्री प्यारी मितिनी दिदी सावित्री राणा केसीको दुःखद निधनप्रति हृदयदेखिकै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । 
हाम्रा भिनाजु विद्वान् डा. इन्दुल केसीले सम्पादन तथा सङ्कलन गरी आफ्नी आदर्श धर्मपत्नीको स्मृतिमा प्रकाशनमा ल्याउनुभएको ‘सावित्री स्मृति’ पुस्तकभित्र दृष्टि दिँदै गर्दा सम्पादक महोदयले सङ्कलन गर्नुभएका र विभिन्न विद्वान्हरूले अभिव्यक्त गर्नुभएका सबै सामग्री गहकिला र मर्मस्पर्शी त छँदैछन्, साथै भावनात्मक रूपमा पनि साह्रै हृदय छुने छन् । 
‘स्वर्गीय सावित्रीको सम्झनामा’ शीर्षक लेखनीमा डा. इन्दुल केसीले मनका भावना र आफ्ना जीवनका तत्कालीन यथार्थताको जुन चित्रण गर्नुभएको छ, त्यसले उहाँहरूबीचको आत्मीय सम्बन्ध कति प्रगाढ रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ । 
प्रा. डा. कृष्णप्रसाद दाहालको ‘कवितामा सावित्री’ काव्यात्मक सृजनाका हरेक हरफ गहकिला लागे । विशेषतः ‘मलाई सावित्री भएको इन्दुल मन पर्छ, मलाई इन्दुल भएको सावित्री मन पर्छ’ ले मेरो मन छोयो । सावित्रीको व्यक्तित्व वर्णन गर्ने अन्य भावनाहरू पनि साह्रै ओजिला लागे । 
हरि मञ्जुश्रीको ‘अनेकमध्येकी एक सावित्री’ संस्मरणले डा. इन्दुल केसीमा विद्यमान बहुआयामिक व्यक्तित्व प्रस्फुटनका लागि दिदी सावित्रीको कस्तो योगदान रहेछ भन्ने कुराको यथार्थ चित्रण गरेको छ । 
छोरी रजनीको ‘हाम्री जननी’ शीर्षक कवितामा आमाप्रतिको जुन गहिरो माया, स्नेहभाव व्यक्त गरिएको छ, त्यो साह्रै मर्मस्पर्शी लाग्यो । यस कविताको अन्तिम पङ्क्ति यहाँ सम्झन मन लाग्यो — 
‘तिम्रो आत्माले सुखावती भुवनमा बास पाओस् 
तिम्रो देहले ब्रह्माण्डमा विलीन हुन पाओस्
तिम्रो अटूट सम्झना हामीमाझ सदा रहने गरी 
आमा तिमी जानू तिमीलाई अलबिदा 
आमा तिमी जानू तिमीलाई अलबिदा !’
स्मृतिपुष्पमा ५० भन्दा बढी धार्मिक, सामाजिक एवम् विभिन्न पेसागत सङ्घ–संस्थाहरूको समवेदना सन्देश, ३२५ भन्दा बढी व्यक्तिगत सन्देश, सावित्री राणा केसीलाई विभिन्न सङ्घ–संस्थाहरूले प्रदान गरेका सम्मानपत्र, पारिवारिक, धार्मिक एवम् तीर्थयात्रा सम्बन्धी करिब १५ सुन्दर फोटाहरू समावेश गरिएका 
छन् । साथै आधा दर्जनजति विभिन्न सञ्चार माध्यमका शोक समाचारहरू, पुस्तकको भित्री गातामा कृष्ण, राधा, रुक्मिणीको सुन्दर प्रतिमासहित छापिएको १९८३ मा स्थापना भई २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएको ‘श्री श्यामसुन्दर रास भजन’ को रङ्गीन फोटो र सगुन भजनले पनि पुस्तकको स्तरीयता वृद्धिमा निकै बल पु¥याएको छ । 
पुस्तकको अन्तिम गातामा रङ्गीन कलेवरयुक्त ‘वंशावली तालिका’ पनि उहाँहरूको पारिवारिक पुख्र्यौली चिनाउने ऐतिहासिक दस्तावेज बनेको छ । 
सरल, भद्र, मिलनसार आदर्श नारी सावित्री दिदी सहनशीलताकी प्रतिमूर्ति हुनुहुन्थ्यो । पतिव्रता आफ्नी पत्नीको सम्झनामा पति साहित्यकार, प्राकृतिक चिकित्सक, शैक्षिक अभियन्ता, सदा सबैको प्रिय पात्र हुन सफल रहनुभएका आदरणीय डा. इन्दुल केसीले जुन सम्पादकीय कौशल एवम् सीप पुस्तक प्रकाशनमा देखाउनुभएको छ, त्यो ज्यादै उच्च कोटिको छ । 
हुन त विधिको विधान यस्तै छ, यो धरामा आएपछि एक दिन सबैले जानु नै छ, तर पनि एक आदर्श पत्नीलाई गुमाउनुपर्दा पति डा. इन्दुलमाथि असह्य पीडाको बज्रपात परेकै हुनुपर्छ । मनभित्र परेको यस्तो असहनीय पीडाबाट कत्ति विचलित नभई शोकलाई शक्तिमा रूपान्तरित गर्न सक्ने सामथ्र्य उहाँमा भरपुर देखिन्छ । यो उहाँभित्र लुकेर बसेको विशाल धैर्यको परिचायक हो भन्ने म 
ठान्दछु । 
जे होस्, ‘सावित्री स्मृति’ पुस्तकमा समावेश भएका सम्पूर्ण सामग्री पठनीय त छँदैछन्, उदाहरणीय पनि छन् भन्ने मेरो निक्र्योल छ ।सावित्री दिदीको जीवनवृत्त, स्वास्थ्य समस्याको विवरण, उहाँसँगका संस्मरणहरू, उहाँको निधनसम्बन्धी समाचारहरू, निधनपछि प्राप्त सन्देशहरू समावेश गरेर प्रकाशित गरिएको यो पुस्तक प्रकाशकीयमा भनिएझैँ एउटा सिङ्गो जीवनी हो भन्न हिच्किचाउनुपर्दैन । 
अतः यस्ता बहुमूल्य प्रकाशनलाई जनसमक्ष ल्याई हामी सबैलाई बिर्सनै नसकिने गुण लगाइदिने प्रकाशन संस्था ‘शब्दयात्रा प्रकाशन’ प्रति पनि हृदयदेखिकै साधुभाव ज्ञापन गर्दछौँ । 

Comments