‘सावित्री स्मृति’ को अवलोकन
असोज ६, २०८१, आइतबार | विहान ०४:५१ बजे | 70
रामप्रसाद गिरी ‘विनोद’
(ललितपुर ः सामाजिक अभियन्ता तथा लेखक)
‘सावित्री स्मृति’ पुस्तक पढ्दा मलाई पुरानो एवं बाल्यकालको स्मरण गरायो । लक्ष्मी शमशेर राणा र आमा विष्णुकुमारी राणा (नानी दिदी) बाट जन्मनुभएकी एक मात्र छोरी हुनुहुन्थ्यो सावित्री राणा । विष्णुकुमारी राणालाई मेरा पिता बलराम गिरीले बहिनी बनाई भाइटीका गरी ल. पु. न. पा. — ११ घरमा बस्दै रहनुभई यसै घरबाट २०२४ साल आषाढमा भ. पु. न. पा. — ४ मङ्गलाछें घर हुनुभएका इन्दुल केसीसँग विधिवत सनातन हिन्दू संस्कार अनुसार घरपरिवारबाट कन्यादान गरी बिदाइ गरियो ।
यो साँच्चै एक स्मरणीय क्षण रह्यो किनकि संसारमा एकै कोखबाट जन्मेको एकै नाता परिवारबाट मात्र हुन्छ भन्ने रहेनछ, जहाँ श्रद्धा र व्यवहारले पनि आफ्नै परिवार हुँदो रहेछ भन्ने एक यो ज्वलन्त उदाहरण हो । राम्ररी याद अनि सम्झना छ, बाल्यकालमा सावित्री दिदी दाजु बेनी गिरी, दिदी विद्या गिरी, म विनोद गिरी र भाइ वंशी गिरी एकै घर साथमा खेलाइ, पढाइ गर्दै हुर्किएँ म । उमेर बढ्दै गयो र उहाँ सावित्री दिदी ठूली भई विवाह बन्धनपछि उहाँको हामी माइतीघर नै आजका दिनसम्म रहिआएका छौँ ।
उहाँ शान्त स्वभाव, सरल, सफल गृहिणी, सबैसँग घुलमिल हुन सक्ने, कसैको मन नदुखाउने प्रवृत्तिकी हुनुहुन्थ्यो । उहाँलाई हामीबीच दैवले लगिछाड्यो सम्झना मात्र राखेर । त्यसपछि ‘सावित्री स्मृति’ निस्कियो । यसमा उल्लेख भएका प्रायः सम्पूर्ण घटना मैले प्रत्यक्ष देखेको थिएँ । कतिपय कार्यमा म पनि संलग्न थिएँ । कसैको देहावसान भएपछि त्यस्ता व्यक्तिका बारेमा लेखिएका पुस्तकहरूमा यो पनि उल्लेखनीय रूपमा पाएँ । सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।