मेरो दृष्टिमा ‘सावित्री स्मृति’ पुस्तक


असोज ४, २०८१, शुक्रबार | विहान ०८:२९ बजे | 30


मेरो दृष्टिमा ‘सावित्री स्मृति’ पुस्तक

विष्णुबहादुर मानन्धर
(पूर्व वडाअध्यक्ष, भक्तपुर नगरपालिका)
सर्वप्रथम सावित्री केसीको असामयिक र दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
सदाझैँ साँझतिर साथीभाइहरूको नियमित भेटघाट गर्ने सिलसिलामा म भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा गएँ । त्यहाँ डा. इन्दुल केसी सर पुजारी मठको पेटीमा बसी चिया पिइरहनुभएको मैले देखेँ । ‘सर नमस्कार’ भनी म उहाँको अगाडि गएँ । ‘के छ सन्चो–बिसन्चो ?’ भनी सोध्नुभयो उहाँले । मैले आदरपूर्वक ‘ठिकै छ सर’ भनेँ । त्यत्तिकैमा उहाँले मलाई ‘म यहाँ प्रायः आइरहने तर तपाईंलाई भेट्न पाइनँ, आज भेट भयो खुसी भएँ’ भनी उहाँ आफँैले सम्पादन गर्नुभएको आफ्नी धर्मपत्नी सावित्री राणा केसीको निधनपछि विभिन्न सामग्रीहरू सङ्कलन गरी तयार पार्नुभएको ‘सावित्री स्मृति’ एक कपी पुस्तक झोलाबाट झिकी सप्रेम उपहार दिनुभयो । मैले ‘धन्यवाद सर !’ भनी स्वीकारेँ । 
सँगै बसेर केही बेर समसामयिक छलफल गरी म पुस्तक लिएर घर फर्कें । पुस्तक अध्ययनको क्रममा मैले धेरै कुराको जानकारी पाएँ । साथसाथै समाजसेवी डा. इन्दुल केसीले श्रीमती गुमाउनु तथा सन्ततिले माता गुमाउनुको पीडाका दुःखद वाक्यहरू पढ्नुपर्दा कस्तो दुःखद कुरा पढ्नुपरेको भनी मलाई पनि धेरै दुःख लाग्यो ।
उज्यालो व्यक्तित्वका धनी, कला संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष एवं साहित्यकार, शैक्षिक अभियन्ता तथा समाजसेवी डा. इन्दुल केसीकी धर्मपत्नी सावित्री केसीले २०८० साल असोज २१ गते यस संसारबाट सदाका लागि गाह«ोसाह«ो गरी बाँचेको उनको जीवन मृत्युमा रूपान्तरण भयो । उहाँलाई अब देख्न र भेट्न पाइँदन । नैतिकवान् एवं शीलवान् व्यक्तिले अरूलाई दुःख–पीडा दिँदैन, स्वयम् आफू पनि सुखपूर्वक जीवनयापन गर्दछ र अरूलाई पनि सुखपूर्वक जीवन जिउनमा मद्दत गर्दछ । अरूलाई दुःख नदिनु राम्रो र असल संस्कार हो । यस्तो आचरण धर्मको जग हो । 
राम्रो र असल आचरण भएकी सावित्री केसीले धर्मको जगमा टेकेर डा. इन्दुल केसीको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । भनिन्छ घरपरिवारमा इमानदारी मिसियो भने त्यो घर देवघरजस्तै निकै सुन्दर हुन्छ । 
डा. इन्दुल केसीको घरमा २०२४ साल असारमा एक इमानदारी, गुणवान् र क्षमतावान् गौरवमय परिवारकी छोरी नै केसी परिवारकी बुहारी बनी आफ्नो धार्मिक परम्परा अनुसार भित्रिनुभएको थियो सावित्री राणा । साहित्यकार डा. इन्दुल केसीकी धर्मपत्नी हुन पाउनु सावित्री राणाका निम्ति धेरै खुसीको कुरा हो । जतिसुकै खुसी र सुखमा रमाउन पाए पनि परिवर्तनशील संसारमा जन्मेपछि मृत्यु अवश्यम्भावी छ । घरपरिवारमा उज्यालो फैलाइरहने उज्ज्वल चिराग अचानक सदाका लागि झ्यापै निभ्यो । त्यो समुज्ज्वल, कहिल्यै दाग नलाग्ने चिराग हुनुहुन्थ्यो प्रज्ञा र करुणाकी धनी सावित्री केसी ।
मान्छेले जस्तोसुकै पीडालाई धैर्यका साथ सहेर बस्नुपर्ने विवशता छँदैछ । घरपरिवारदेखि लिएर सबैको सहानुभूतिलाई आत्मसात गर्दै डा. इन्दुल केसीले पनि असहजतालाई सहजतामा बदलिरहनुभएको उहाँको मुखाकृतिले भल्काउँछ । 
जसले अरूलाई चिन्छ, त्यो शिक्षित हो । जसले स्वयंलाई चिन्छ, त्यो विद्वान् हो । यस्तै शिक्षित र विद्वान् डा. इन्दुल केसीलाई हरेक क्रियाकलापमा पतिको इच्छालाई नै आफ्नो इच्छा ठानेर घरव्यवहार सम्हाल्नेदेखि लिएर परिवारको हेरचाह र शिक्षादीक्षाका लागि आफ्नो सम्पूर्ण जीवन खर्चेर यस संसारलाई त्याग्नुभयो सावित्री केसीले ।
डा. इन्दुल केसीसँग विवाह गरेर सावित्री राणाबाट सावित्री केसी हुन आएकी, एक स्वस्थ र लगनशील व्यक्ति बन्नका लागि चाहिने शील, आचरण र प्रज्ञाको अभ्यास गरी भौतिक सुख र आध्यात्मिक सुख दुवैको आवश्यकता महसुस गर्दै जीवनभरि सामाजिक समस्याहरू सुल्झाउन, भौतिक सुखविना आध्यात्मिक सुख प्राप्त गर्न असमर्थ हुन्छ भने आध्यात्मिक सुखविना भौतिक सुखको महत्त्व नहुने भएकाले दुवैलाई उत्तिकै महत्त्व दिँदै आएकी सावित्री केसीको निधनपछि मेरो नजरमा ‘सावित्री स्मृति’ पुस्तक अध्ययनको सिलसिलामा त्यसभित्र अनेकन् आफन्त, इष्टमित्रहरू र परिवारजनले शोकलाई शक्तिमा बदल्न सक्नुहोस् भनेर उत्प्रेरणादायक समवेदना सन्देशहरू दिएको पाएँ । जीवनको प्रारम्भिक यात्रादेखि अन्तिम यात्रासम्म सबैतिर धाएर सबैलाई चित्तबुझ्दो किसिमको आफ्नो संलग्नता देखाइरहनुभएको पनि पाएँ । उहाँहरूले गर्नुभएको कष्टपूर्ण जीवनयात्रा पनि पढेँ । 
यसरी मृतकको नामबाट स्मृतिपुस्तक प्रकाशन गरी निःशुल्क वितरण गर्नु पनि ठूलो पुण्यको काम हो । दिवङ्गत भएपछि आत्माले सुखावती भुवनमा बास पाउन सकून् भनी सागर–महासागरमा स्नान गरी अनेक तीर्थस्थल र देवस्थलको दर्शन गरी कर्मवीर भई लागिरहनुभएकी उहाँप्रति आत्मादेखि नै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु । साथै, म त उहाँप्रति शब्दश्रद्धा मात्रै व्यक्त गर्न सक्छु । 
उहाँको जीवनका सकारात्मक पक्षलाई अनुसरण गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । ईश्वरले उहाँको सुखावती भवनमा पनि मनोकाङ्क्षा पूरा गरिदिऊन् भनी कामना गर्दछु ।

Comments