वागीश्वरीमा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन


2020-11-27 15:21:58

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा २०७६ मा एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बुधवारदेखि स्वास्थ्य मापदण्ड पालना गरी पाँच दिने बधाई तथा मार्गनिर्देशन कार्यक्रम भएको छ ।

सामाजिक दूरी कायम गरी पाँच समूहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै विद्यालयमै बोलाई उक्त कार्यक्रम गरेको विद्यालय प्रशासनले जनाएको छ । उत्तीर्ण विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि मार्गनिर्देशन दिएको उक्त कार्यक्रममा विद्यालय गतिविधि तथा भौतिक निर्माणसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
[[img2]]
बुधवारदेखि शुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन दिनुहुँदै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालय तह सकेपछि मात्र चरित्र निर्माणको तह सुरु हुने भएकोले अझ बढी मेहनत गर्नुपर्ने बताउनुभयो । पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले जुनसुकै विषय लिएपनि विशेषज्ञता हासिल गर्ने गरी पढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जुनसुकै स्थान र विद्यालयमा पढेपनि यहाँबाट गइसकेपछि पनि यस विद्यालयको ख्यातिमा थप योगदान गर्नुपर्ने बताउन्भयो ।
विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीहरुले आन्तरिक मूल्यांकनबाट पाएको ग्रेडलाई ध्यानमा राखी उच्च शिक्षा अध्ययनको क्रममा पनि बढीभन्दा बढी ग्रेड प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले वागीश्वरीका विद्यार्थी नमूनाका रुपमा सद्भावदूतका रुपमा अन्य ठाउँमा जाँदा पनि राम्रो पहिचान कायम गर्नुपर्ने बताउन्भयो । शिक्षक विश्वेश्वर मानन्धरले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक उकेश सुवालले स्वागत गर्नुभएको थियो ।
[[img3]]
प्रधानाध्यापक धन्छाले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको उक्त कार्यक्रममा प्रत्येक दिन दुई जना विद्यार्थीहरुले विद्यालयमा पढ्दाको अनुभव व्यक्त गरेका थिए । ३.६५ वा सोभन्दा माथि ४५ जना, ३.२५ वा सोभन्दा माथि ६९ जना, २.८५ वा सोभन्दा माथि ६९ जना, २.४५ वा सोभन्दा माथि ५४ जना र २.०५ वा सोभन्दा माथि २१ जनाले जीपीए प्राप्त गरी जम्मा २ सय ५८ जनाले उक्त विद्यालयबाट एसईई परीक्षा पूरा गरेको विद्यालय प्रशासनले बताएको छ । ९० प्रतिशतभन्दा बढी विद्यार्थीको भौतिक उपस्थितिमा भएको उक्त कार्यक्रम सोमबारसम्म हुनेछ । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षकहरु मैयाकेशरी कोजू, पूजा शाक्यलगायतले बधाई तथा मार्गनिर्देशन दिएका थिए ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *