प्यालेस्टाइनप्रति ऐक्यबद्धतासहित साहित्य गोष्ठी
असोज ३, २०८१, बिहीबार | दिउँसो ०३:०३ बजे | 20
भक्तपुर, असोज ३ । नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिको आयोजनामा बिहीबार इजरायली फासिवादको विरोध तथा प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता सहित साहित्य गोष्ठी सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव तथा संघीय सांसद प्रेम सुवालले पार्टी प्रकाशनका पुस्तकहरुको गहिरो अध्ययनबाट नयाँ साहित्यकार जन्मिने बताउँदै साहित्यका विभिन्न छन्द, मात्रा तथा रसको प्रयोगमा विशेष ध्यान दिन सल्लाह दिनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादको अत्याचार विरुद्ध संसद, सडक तथा चोकचोकबाट आवाज बुलन्द गर्न युवाहरूको आवश्यकता रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रायुसंघको केन्द्रीय पूर्वअध्यक्ष उकेश कवांले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएकोे विसंगति विरुद्ध युवाहरूको आवाज विध्वंस हुनुपूर्व नै तयारी रहनुपर्ने बताउँदै आमूल परिवर्तनको दियो बाल्न सचेत रहन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह बिकले विश्व कम्युनिस्ट आन्दोलनमा चीन, क्यूवा, उत्तर कोरिया, रसियाको योगदानसँगै नेमकिपाको सिद्धान्त र नीति पनि रहेको बताउँदै आआफ्नो गाउँठाउँको राजनीतिक गतिविधिबारे जानकार हुनुपर्ने बताउँदै नयाँ पुस्ता र बहुमत जनताको हितको लागि साहित्य सिर्जना गर्न उत्साहित गर्नुभयो ।
नेक्रायुसंघको केन्द्रीय पूर्वअध्यक्ष प्रकाश थुसाले इजरायलको विरोधबाट सहयोग तालिम तथा रोजगारी गुम्ने साम्राज्यवादी भाष्यलाई चिर्नुपर्ने बताउँदै नेपालको स्थिति पनि प्यालेस्टाइनको बाटो रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा नेक्रायुसंघको केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले सडक र संसदको संघर्षमा समतामूलक समाज, न्यायपक्षको साहित्य सिर्जना आवश्यक भएको बताउनुभयो ।
उक्त साहित्य गोष्ठीमा ३४ जना साहित्यकारहरूले आफ्ना रचना र गीतसंगीतबाट प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाएका थिए ।