सावित्री राणा केसी उपासिकाको स्मृतिमा
असोज ३, २०८१, बिहीबार | विहान ०७:११ बजे | 40
भिक्षु विपस्सी
(मुनि विहार, इनाचो, भक्तपुर)
सत्यनिष्ठ, साध्वी, अतिथिसत्कारमा समर्पित, धार्मिक प्रवृत्तिकी, मायालु, मिलनसार, शालीन, मृदुभाषी, दानशीलपरायणा आदि विशेषणहरूद्वारा सजिएकी श्रीमती सावित्री राणा केसी उपासिकाको स्मृतिमा डा. इन्दुल केसीद्वारा सम्पादित तथा २०८० साल चैतमा प्रकाशित ‘सावित्री स्मृति’ (सावित्री राणा केसी स्मृतिपुष्प) को आधारमा दुई शब्द कोर्दैछु ।
सावित्री राणा केसी मेरा वरिष्ठ हितचिन्तक डा. इन्दुल केसीकी धर्मपत्नी हुनुहुन्थ्यो । हामी मुनिविहार (श्री धर्मोत्तम महाविहार) का भिक्षु श्रामणेरहरू भिक्षाटन गर्ने भक्तपुर नगरको मङ्गलाछें टोलका बासिन्दा भएकाले बारम्बार भिक्षादान तथा विहारमा नै पनि पुगेर दानपुण्य गर्नुभएको मात्र होइन, भगवान् बुद्धको जन्मस्थली लुम्बिनीसम्म पनि पुगेर दानपुण्य गर्नुभएकाले बुद्धधर्ममा पनि उहाँहरूको दानशीलपरायणता प्रस्टिन्छ । उहाँ दम्पतीले लुम्बिनीको बारम्बार तीर्थाटन गर्नुभएको छ । अझ २०७९ सालको मुनिविहारद्वारा आयोजित भिक्षु श्रामणेरको लुम्बिनी यात्राभर गर्नुभएको सेवाका लागि डा. इन्दुल केसीलाई नेपालका सङ्घनायक भिक्षु बोधिसेन महास्थविरले समेत सम्मानपत्र प्रदान गर्नुभएको छ । उक्त सम्मानपत्र पनि यसमा संलग्न छ । यसै यात्रामा लुम्बिनीमा नयाँ विहारको शिलान्यास गर्नुभई चन्दासमेत दिनुभएको थियो ।
उहाँहरूका पुत्रीहरूमा जेठी रजनी र कान्छी सजनीमध्ये रजनी यस मुनिविहारमा दान पुण्य गर्न आइरहने शिक्षिका उपासिका हुनुका साथै वल्र्डभ्यू नेपालका सचिव हुनुहुन्छ । सुस्त मनस्थितिका बालबालिकालाई सेवा गर्ने संस्था सत्प्रयासका अध्यक्षसमेत हुनुहुन्छ, जसमा ५० जनाभन्दा बढी सुस्त मनस्थितिका बालबालिकालाई यातायात तथा पालनपोषण सहितको दिवासेवा प्रदान गरिन्छ । कान्छी छोरी सजनी कार्कीले पनि आफ्नी स्वर्गीय माताको सेवाकार्य समुचित रूपले गर्नुभयो । एक पुत्र उज्वल केसी ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को केन्द्रीय उपाध्यक्ष तथा एकीकृत उपभोक्ता सङ्घ सुविधानगर काठमाडौंका अध्यक्ष, त्यस्तै नेपाल बार एसोसिएसन भक्तपुर एकाइका सदस्य र अधिवक्ता हुनुहुन्छ । बुहारी सृजना त्यसै सङ्घकी महिला समिति उपसंयोजिका हुनुहुन्छ ।
पिता डा. इन्दुल केसी तथा दिवङ्गत माता सावित्रीले तिनै सन्तानलाई समुचित रूपले लालनपालन र शिक्षादीक्षा दिनुभएकाले सन्तानहरूले यसरी जीवनमा सफलता प्राप्त गर्न सकेका हुन् । विशेष गरेर मृतकका अर्धाङ्ग डा. इन्दुलको जीवनमा पाएका सफलताहरूका पछाडि पनि सावित्री राणा उपासिकाकै महत्त्वपूर्ण हात रहेको बुझ्न सकिन्छ । डा. इन्दुल केसी वरिष्ठ सञ्चारकर्मी, साहित्यकार, भजनगायक, सङ्गीतकार, सामाजिक अभियन्ता, प्राकृतिक चिकित्सक तथा व्यवसायको हिसाबले नेपाल सरकारको उपसचिव पदमा पुगेर सेवानिवृत्त भएका बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्छ । डा. इन्दुल केसीका समाजसेवातिर हेर्ने हो भने उहाँ शब्दयात्रा प्रकाशनका आजीवन सदस्य र अन्य धेरै सङ्घसंस्थामा आबद्ध भई समाजसेवामा संलग्न हुनुहुन्छ । यसरी सफल हुन सक्नुमा उहाँकी अर्धाङ्गिनी सावित्रीकै प्रेरणा र सहयोग महत्त्वपूर्ण रहेको देखिन्छ ।
यति धेरै पुण्यकार्य गरिसकेर प्रकृतिको नियम अनुसार देहान्त हुनुभएकी सावित्री राणा केसी उपासिकालाई बुद्धवचन २ वटा गाथा (श्लोक) हरू समर्पित गर्दछु ।
चिरप्पवासि पुरिसं दूरतो सोत्थिमागतं ।
ञातिमित्ता सुहज्जा च अभिनन्दन्ति आगतं ।।
तथेव कतपुञ्ञम्पि, अस्मालोका परंगतं ।
पुञ्ञानि पटिगण्हान्ति, पियं ञातीव आगतं ।।
(धम्मपद, गाथासङ्ख्या २१९ र २२०)
संस्कृतछाया —
चिरप्रवासिनं पुरुषं दूरतः स्वस्थमागतम् ।
ज्ञातिमित्राणि सुहदः चाभिनन्दन्त्यागतम् ।।
तथैव कृतपुण्यमपि अस्माल्लोकात् परंगतम् ।
पुण्यानि प्रतिगृहण्हान्ति प्रियं ज्ञातिरिवागतम् ।।
भावार्थ —
जसरी दीर्घकालसम्म परदेशमा बसेर स्वस्तिपूर्वक फर्केर आएका मानिसलाई आफन्त मित्रहरूले स्वागत अभिनन्दन गर्ने गरिन्छ, त्यसरी नै पुण्यकर्म गरेको व्यक्तिलाई इहलोक छोडेर परलोक जाँदा उसले गरिराखेका ती शुभकर्महरूले स्वागत अभिनन्दन गर्ने गरिन्छ ।
भगवान् बुद्धका उक्त वचन दिवङ्गत सावित्री राणा केसीलाई पनि सत्य होस् र दिवङ्गतद्वारा आर्जित तथा अहिले हामी आफन्त, हितैषीहरूले अर्पण गरेको पुण्यराशी सबै नै उहाँलाई सद्गति तथा निर्वाण लाभको हेतु बनोस् भनी भगवान् त्रिरत्नमा प्रार्थना गर्दछौँ ।
अब उक्त सम्मानपत्रको प्रतिलिपि —
‘नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स
मुनि विहार व्यवस्थापन समिति
मुनि विहार, भक्तपुर — ७
सम्मानपत्र
डा. इन्दुल केसी, नासमना, भक्तपुर
यहाँले आफ्नो शैक्षिक, धार्मिक, वक्तृत्वकला, स्वास्थ्यसम्बन्धी उच्च ज्ञान तथा दक्षताद्वारा यस मुनि विहारमा विगत ६ वर्षदेखि सम्पर्कमा रहेर मुनि विहारद्वारा सञ्चालन गरिएका विभिन्न क्रियाकलापहरूमा उल्लेखनीय रूपमा सहयोग गर्दै आउनुभएको छ ।
हालै यस विहारद्वारा आयोजित लुम्बिनी बौद्ध तीर्थयात्रा भ्रमणमा सहभागी भई भ्रमणको प्रारम्भदेखि आजसम्म (२०७९ साल असार ६ गतेदेखि असार ११ गतेसम्म) भ्रमणको अवधिमा भएका सम्पूर्ण क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाई यस मुनि विहारको तर्फबाट विभिन्न जिल्लाका विहारहरूका पदाधिकारीहरूसँग सरसल्लाह गरी घनिष्ठ सम्बन्ध स्थापित गर्न विशेष पहलकदमी गर्नुभएको सह्राहनीय कार्यका लागि यहाँलाई यो सम्मानपत्र प्रदान गरेका छौँ ।
श्री रामकृष्ण वैद्य भिक्षु विपस्सी महास्थविर भिक्षु बोधिसेन महास्थविर
अध्यक्ष प्रमुख सङ्घनायक
मुनि विहार दायक सभा मुनि विहार अ. ने. भिक्षु महासङ्घ
२१ असार २०७९
(मुनि विहारमा सामूहिक प्रब्रज्या तथा उपसम्पदा दिवस)