पितृपक्षमा एक प्रजातान्त्रिक सेनानीलाई सम्झिदा ...


असोज २, २०८१, बुधबार | विहान १०:३० बजे | 20


पितृपक्षमा एक प्रजातान्त्रिक सेनानीलाई सम्झिदा  ...

सुनील सापकोटा

कौशलटार , भक्तपुर 
आज देखि २०८१ सालको सोर्ह श्राद्धको प्रारम्भ भयो। आजको दिन देखि पन्द्र दिन सम्म वैदिक हिन्दु धर्मालम्वीहरुले श्राद्ध कर्म गर्दछन। पितृपक्ष अर्थात् वैदिक धर्मावलम्बीहरुले दिगंवत भएका बुवा, आमा,पूर्वज तथा नजिकका नातेदारहरु लाई उनिहरुको मृत्यु भएको तिथिमा संसारिक कामहरू बाट केहि फुर्सद निकालेर सम्झना गर्ने समय हो यो। 
एउटा विशेष धार्मिक अनुष्ठान हो। जसमा आफ्ना दिवंगत पूर्वज हरूको आत्माको शान्ति र मोक्षका लागि तर्पण , पिण्डदान र श्राद्ध गरिन्छ। पितृपक्षको समय विशेष महत्त्वपूर्ण मानिन्छ। यो समय दिवंगत पूर्वजहरूलाई सम्झेर उनीहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने र उनीहरूको आत्माको उद्धारको लागि धर्मअनुसार कर्तव्य पूरा गर्ने मान्यतामा आधा रित छ । श्राद्ध गर्ने व्यक्तिले आफ्ना पितृहरूको आत्माको शान्तिका लागि यो अनुष्ठान गर्दछ। यो पितृहरूको ऋण चुक्ता गर्ने कार्य मानिन्छ। श्राद्धले पितृहरूको आशीर्वाद प्राप्त गर्ने र घरपरिवारमा सुख-समृद्धि ल्याउने विश्वास गरिन्छ। सोर्ह श्राद्धको समयमा गरिने धार्मिक कार्यले पारिवारिक बाधा, स्वास्थ्यसम्बन्धी समस्याहरू र अन्य नकारात्मक प्रभावहरू हटाउन सहयोग पुग्छ भन्ने भावनात्मक मान्यता छ। येसैक्रममा मैले आज आफ्नो जिज्यूबाजे स्वर्गीय देवीप्रसाद सापकोटा लाई सम्झे। हुनत आज उहाँको तिथि होइन् । तैपनि उहाँ एउटा इतिहास पुरुष हो। उहाँ नवामपन्थी हुनुहुन्थ्यो, नदक्षिण पन्थी , नसमाजवादी हुनुहुन्थ्यो । उहाँ एउटा रास्ट्रवादी र स्वतन्त्रता प्रेमि सरल ब्यक्ति हुनु हुन्थ्यो। जसले ५० बर्ष भन्दा बढी प्रवास ( बनारस , भारत ) मा बसेर नेपालमा जहाँनिया राणा शासन को बिरुद्धमा संघर्ष गर्नु भएको थियो। उहाँ वि. सं. १९२५ मा जन्मिनु भएको थियो र वि. सं. २०११ 
साल अशोज २२ गते शुक्रवार शुक्ल पक्षको एकादसी तिथिमा ( दशैंको भोलिपल्ट ) भारत को काशी ( बनारस ) स्वर्गीय हुनु भएको थियो। उहाँका बारेमा नेपाली काङ्ग्रेसले त्यति चर्चा नगेरेको र महत्व नदिए काले आजको नयाँ पुस्ताका युवा काङ्ग्रेसीहरुको लागि उहाँ अपरिचित हुनु भएकोछ ।नेकपा एमाले पार्टीले आफ्ना दिगंवत नेता र कार्यकर्ता को राजनीतिक संघर्ष र योगदान कदर गरेको देखिन्छ । नाम र सम्मान गर्न जानेको देखिन्छ। तर नेपाली काङ्ग्रेसले कोइराला परिवार र अरु २/ ४ जाना पुराना नेताहरु बाहेक अरु कसैलाई महत्व दिएको देखिदैन। खाली आफ्नै परिवार , नातागोताहरु र आफ्नो तलुवा चाटने खालका चम्चाहरुलाइ सहयोग महत्व दिएको देखिन्छ। त्यसैले आज यो पार्टीमा आठ लाख भन्दा बढी क्रियाशिल कार्यकर्ता भएपनी जनताको समर्थन चाहिँ दिन प्रतिदिन खिईदै गई रहेको अवस्था छ । बनेपा काभ्रेका साहित्यकार श्री हरि मन्जुश्रीको सम्पादकत्वमा बि.सं २०७४ सालमा " सुब्बा देवीप्रसाद सापकोटाको स्मृति ग्रन्थ " नामक पुस्तक शब्दयात्रा प्रकाशनले प्रकाशन गरेतापनी उहाँको बारेमा काङ्ग्रेस का नयाँ पुस्ताका केहि नेताहरु बाहेक अरुलाई केही पनि जानकारी छैन। नेपाली काङ्ग्रेसका प्रायः नेता तथा कार्यकर्ताहरु लाई पुस्तकहरु पढ्ने र जान्ने अभ्यास पनि छैन। 
 सुब्बा देवीप्रसाद सापकोटा पहिले जागिरे त्यसपछि रास्ट्रवादी चिन्तक , राजनितीज्ञ , कवि , पत्रकार एवं नेपालमा राणा शासन बिरोध अभियान का एक प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो । बिपी कोइराला , डा . डिल्लि रमण रेग्मीका साथै बनारस (भारत )मा नेपाल बाट पढन गएका नेपाली बिद्यार्थीहरुको पहलमा उहाँलाई राणा शासन समाप्त गर्ने उदेश्यले बि . सं २००४साल कार्तिक १५ गते एक राजनिती संगठन " आखिल भार तिय नेपाली रास्ट्रिय काङ्ग्रेस " को अध्यक्ष बनाइएको थियो। जो पछी यो पार्टी को भारतिय भन्ने शब्द हटाइ " नेपाली रास्ट्रिय काङ्ग्रेस " नामाकरण गरिएको थियो। जो अहिलेको नेपाली काङ्ग्रेसको प्रथम जग र मातृ पार्टी हो भन्दा हुन्छ । 
 त्यसबेला भारतको अंग्रेज़ सरकारको बिरोध गरि नेपाल र तिब्बतको एक पुरानो मैत्रीपुर्ण सन्धिको बिषयमा रास्ट्रवादी अडान लिएकै कारण नै त्यतिबेला छदाखादाको तत्कालीन मुन्सीखाना ( अहिलेको परराष्ट मन्त्रालय ) को सुब्बा पदको जागिर बाट देवीप्रसाद लाई तत्कालीन राणा प्राईमिनिस्टर श्री३ चन्द्रशम्शेर रिसाइ जागिर बाट बरखास्त गरि उहाँको सम्पुर्ण सम्पतिहरु समेत हरण गरि देश निकाला गरेको कुराहरु इतिहास साक्षी छ। आज पनि सर्बोच्च अदालतमा त्यसबेलाको चन्द्र शम्सेरको पालाको राणा सरकारले नेपालमा रहेको उहाँको करोडौं को हरण गरिएका चल - अचल सम्पतिहरुको विवरणहरु सर्बोच्च अदालतमाको अभिलेख र मुल्तवी बिभागमा छ । २००७ सालको क्रान्ति पछी उहाँ ( नेपाल ) काठमाडौं आइ बनारसमा राजनीतिक शरणार्थी जीवन ब्यतित गरि रहेकै अवस्थामा उहाँले राजा त्रिभुवन लाई भेटि मेरो हरण भएको सम्पत्तिहरु फिर्ता पाउँ भनी बिन्ती गर्दा राजा त्रिभुवनले तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई बोलाइ - " सुब्बा बाजेको हरण भएका सम्पुर्ण सम्पत्तिहरु के कति हो ? क्याविनेट डिसिजन बाट उचित क्षति पूर्ति दिलाइ दिनु। उहाँको हरण भएको सम्पतिहरु फिर्ता पाउनु पर्छ भनेर समेत प्रधानमन्त्री मातृका कोइराला लाई देवीप्रसादकै सामुन्ने आदेश हुँदा पनि त्यो बेलाको नेपाली काङ्ग्रेसको सरकारले हुन्छ , हुन्छ भनी आलटाल गरेको हुँदा क्याबिनेट डिसिजन नभएको देखेर उहाँले बाध्य भइ " हरण भएको सम्पत्ति फिर्ता दिलाइ पाउँ " भनी नेपाल सरकार लाई प्रतिवादी बनाइ २०१० सालमा मुद्दा दर्ता गर्नु भएको थियो। मुद्दा चलिरहेकै अवस्थामा वहाँको ८६ बर्षको उमेरमा मृत्यु भयो र सो मुद्दा लाई वहाँका एकजना कान्छा छोरा ( दिनानाथ सापकोटा ) ले उक्त मुद्दाको वारेस भइ तरिख लिइ रहेकै अवस्थामा दिनानाथको पनि मृत्यु भयो। आज पनि यो मुद्दा सर्वोच्च अदालतमा मुल्तवि रहेको छ। नेपाली काङ्ग्रेसका त्यो बेलाका नेताहरूले २००७ को क्रान्तिको नदि त तरे , आफुहरु सत्तामा त आए , मोज त गरे , अफसोस ! तर लौरो बिर्से । कुनै पनि सत्ताधारी काङ्ग्रेसका नेताहरुले त्यो ८४/८५ बर्ष कान राम्रो नसुन्ने र आँखा पनि राम्रो नदेख्ने बुढो देवी प्रसाद लाई सहयोग नगरेपछि उनको हतासा , निरासा गरिबी र दु:खमा नै भौतारिएर जीवन बित्यो। यस देशको भलो गर्नेको कहिले पनि भलो न होस् भन्ने नेपालको सतिको श्राप लागेको हो कि भन्नू पर्ला। धेरै लेख्तिन । लामो हुन्छ । उहाँका बारेमा इतिहास पढ्न चाहनेले " सुब्बा देवीप्रसाद सापकोटा स्मृति ग्रन्थ " पढ्दा हुन्छ ।

फाेटाेमा हेर्नुहाेस्...

पितृपक्षमा एक प्रजातान्त्रिक सेनानीलाई सम्झिदा  ...

Comments