जयराम बिडारी
भाद्र १३, काठमाडौं
मुक्तकमणि उपाधिले विभूषित कवि तथा मुक्तककार तीर्थराज अधिकारीका मुक्तकसङ्ग्रह ‘सारवत्’को राजधानीमा परिचर्चा तथा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
जुन्किरी,जूनका टुक्रा,झटारो,ऐना,तीन लय तेह्र गीत,बिरिमफूल,यो कस्को हात हो,दोभान लगायतका कृति सार्वजनिक गरिसकेका तीर्थराज अधिकारीको दशौं कृतिका रुपमा प्रस्तुत ‘सारवत’ मुक्तक सङ्ग्रहको परिचर्चा गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा अनामनगरस्थित किम्ची रेस्टोरेन्टमा विशेष कार्यक्रमका बिच सुसम्पन्न गरिएको थियो । सो समारोहमा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्व, मुक्तककार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य , प्रमुख वक्ताका रुपमा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, लीला लुईंटेल, सशक्त समिक्षक महेश पौडेल,मुक्तक साहित्य प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, सुनिल अधिकारी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’लगायत करिव पाँच दर्जनजति साहित्यानुरागीहरुको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा पुस्तकमाथि सशक्त समालोचकीय मन्तव्य राख्दै महेश पौड्यालले तीर्थराज अधिकारीका मुक्तकमा प्रेम प्रणय, जीवन–दर्शन, नैतिक मूल्य तथा राजनैतिक विकृतिप्रतिको आक्रोशको बाहुल्य छ । साथै, तिनमा साहित्यको महत्ता, शालीन विद्रोहको आवश्यकता, आध्यात्म र प्रकृतिमाथिको उनको आस्था पनि मुखरित भएर आएको छ । उनका मुक्तकहरूमा विरोधाभास, वक्रोक्ति, उपमा र प्रतीकहरूको पनि सुन्दर प्रयोग भएको छ, । उनले अँगालेको मुक्तकको लेखनको पद्यति भने फिराजल शैलीको चतुस्पदी लेखनको शैली नै हो भन्दै नवीनतम प्रयास अझै सशक्त रुपमा आउने विश्वास गर्दै कृति सफलताको शुभकामना व्यक्त गरे ।
यसैगरि समिक्षकका भूमिकमा लीला लुईंटेलले ‘सारवत’ मुक्तकसङ्ग्रह मार्फत अधिकारीको क्रान्तिकारी मानवतावादीको सेरोफेरो समेट्ने देखि प्रकृति, मानवतावाद अध्यात्म लगायत प्रेमका सुललित सौन्दर्यलाई सुन्दर सजावटका रुपमा सम्योजन गरी सार्थक मुक्तक सङ्ग्रहको निर्माण गरिएको बताइन् ।यसैक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतमले विसङ्गती र विकृतिमा कडा प्रहार ,शृङ्गारिक पक्षमा उदात्तता, भावनाका विशालता एव सृजनात्मक गहिराई अनि कलात्मक रुपले सुसज्जित मुक्तकमणीले विभूषित अधिकारीका विशेषता रहेको औंल्याए । साथै उनले हाम्रा पुरातन प्रमुख धार्मिक ग्रन्थ वेद देखि अग्निपुराणमा दुई पाउ देखि छ पाउ सम्मका मुकतकको संरचनाका बारेमा उल्लेख रहेको बताउँदै पश्चिमी सभ्यताबाट मुक्तकको प्रचलनको हल्ला निराधार रहेको बताए । ‘सारवत’मा योगदर्शन,वेदान्तदर्शन,ज्ञान र मोक्षको कामनालाई कलात्मक रुपमा प्रस्तुत गरिएकोमा दर्शनशास्त्री दृष्टिकोणले समेत अब्बल रहेको बताउँदै कृति सफलताको कामना गरेका छन् ।
उक्त अवसरमा प्रमुख अतिथिको भूमिकामा रहेका ज्ञानुवाकर पौडेलले अत्यंत न्यून मात्रामा समालोचना हुने वर्तमान साहित्यिक गतिविधिमा भावानुभूति सहितको शब्द शिल्पको उच्चत्तम् प्रयोगले सुसज्जित सारवत मुक्तकसङ्ग्रहको मुक्तकण्ठले प्रशंसा गरे । उनले अधिकारीको जीवनको दर्शनको दृष्टिकोण सबल रहेको बताउँदै शाश्वत सत्यलाई महाकवि देवकोटाले समेत जीवनको उत्तरार्द्धमा अङ्गीकार गरेको उल्लेख गर्दै अधिकारीको परमार्थचेतको समेत मुक्तकण्ठले प्रशंसा गरे । छिनो र हथौडाको चोट स्वीकार गर्न सक्ने पत्थरले मात्र मन्दिरमा भगवानका रुपमा पूजिने अवसर पाए जस्तै सर्जकले पनि स्वस्थ्य, अस्वस्थ आलोचना समालोचना शमन गर्ने सामर्थ्यबिना सफल रुपमा स्रष्टा हुन नसकिने धारणा व्यक्त गर्दै कृति सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा कृतिकार तीर्थराज अधिकारीले मन्तव्यका क्रममा अनेसासको नेपाल च्याप्टरले साक्षात्कार कार्यक्रमको आयोजना गरी कृति परिचर्चा समेतको व्यवस्था मिलाइ दिएकोमा आफू अत्यंत पुलकित रहेको उल्लेख गर्दै सारवतको रचना गर्भ बारे प्रकाश पारेका थिए । लेखनका क्रममा मात्र लेखकको आफ्नो सम्पत्ति रहने साहित्यिक कृतिको निर्माण पश्चात् आम पाठकको सार्वजनिक सम्पत्तिका रुपमा रहने यस्ता कार्यक्रमका मार्फत प्राप्त सामूचित प्रतिक्रियाका आधारमा आगामी संस्करणका लेखनीका क्रममा सम्बोधन गरिने विनित भाव व्यक्त गर्दै परिचर्चामा सामेल सम्पूर्णमा आभार व्यक्त गरे ।
उक्त कार्यक्रममा विश्लेषक तथा प्रा.डा.गोविन्दमान सिंह कार्की,नेपाल स्रष्टा समाजक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ प्रा. डा.रामप्रसाद दाहाल मुक्तक अभियन्ताका रुपमा परिचित सुनिल अधिकारी, रामकाजी कोने, युवराज मैनाली लगायतले कृति सफलताको कामनाका साथ शुभकामना व्यक्त गरेका थिए ।सो समारोहमा कार्यक्रममा आमन्त्रित अभ्यागतहरुलाई मञ्जिला अनिलले स्वागत गरेकी थिइन् । भने अतिथि वक्ताहरुले अधिकारीका मुक्तक सङ्ग्रहवाट मुक्तक वाचन समेत गरेका थिए । अन्त्यमा कार्यक्रमका सभापतित्व गरेका अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले आगन्तुक साहित्यानुरागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए । निर्मलरमण पराजुलीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।