एउटा संग्रहणीय पुस्तक सावित्री स्मृति
भदौ १२, २०८१, बुधबार | दिउँसो ०१:२७ बजे | 45
कृष्ण किसी
समाज विकासको लागि पुराना अभिलेखको जरुरी हुनेमा सायदै कसैको दुईमत होला । यस्तै संग्रहणीय एउटा पुस्तकको नाम हो, सावित्री स्मृति (सावित्री राणा स्मृति पुष्प) । भलै यो एकजना व्यक्ति स्वर्गीय सावित्री राणा केसीको जीबनकोबारेको विस्तृत विवरण नै होस् । पुस्तकमा भक्तपुर नासमनाका स्वर्गीय सावित्री राणा केसीको जीवन समावेश गरिएको छ । यतिमात्रै होइन, उनको जीवनको आरोहअवरोहको संकलन हो सावित्री स्मृति ।
स्वर्गीय श्रीमती सावित्री राणा केसीको जन्म २००३ साल मसिर ३० गते शुक्रबार राणा परिवारमा भएको थियो । उनको दुःखद निधन २०८० असोज २१ ग्ते आइतबार भएको थियो । उनका एक छोरा र दई छोरीहरु छन् । उनका श्रीमान् डा इन्दुल केसी बहुप्रतिभाशाली व्यक्तित्व हुन् । पूर्व प्रशाशक उनी पत्रकार, समाजसेवी, साहित्यकार, इतिहासकार, संस्कृतिविद् आदि इत्यादि पनि हुन् ।
विषयवस्तु भन्दा बाहिर पुगें जस्तो लाग्यो, त्यसैले जाऔं पुस्तकतिरै । पुस्तक ६४ पृष्ठको छ । यसलाई सानै पुस्तक भन्नुपर्ला । गाता आकर्षक नै छ । भित्र श्यामश्वेत भए पनि बाहिर कलर नै छ । यही कारण पुस्तक हेर्दा आकर्षक लाग्छ । तर मेरो व्यक्तिगत विचार सोध्नुहुन्छ भने मृतकका स्मृतिमा निकालेको पुस्तकलाई झिलिमिली कलर गर्ने भन्दा बरु श्यामश्वेत नै ठीक हुन्थ्यो । किनकि कसैको देहासान हुँदा उसको श्रद्धाञ्जलि विज्ञापन प्रकाशित गर्दा पनि हामी दुखद् क्षण भएकोले कलर विज्ञापन छाप्दैनौं, श्यामश्वेत नै छाप्छौ । किनकि यो दुखको क्षण हो, सुखद् क्षण होइन ।
पुस्तकका स्वर्गीया सावित्री केसी राणाको धेरै विवरणहरु समेटिएका छन् । छोटोमा सानो पुस्तक पढेपछि स्वर्गीय सावित्री राणा केसीकोबारेमा बुझ्न मलाई लाग्छ, अन्त कतै जानु पर्दैन ।
पुस्तकमा स्वर्गीय सावित्री केसी राणाको फोटोहरुदेखि उनका जीवनका अनेक पाटोहरुका तस्वीरहरु समावेश छन् । यतिसम्म बृहत छ कि पुस्तकमा उनको निधनमा मलामी आएका महानुभाबहरुको नामावलीसम्म समावेश छ । उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
पुस्तकको प्रकाशक शव्दयात्रा प्रकाशन अक्षरधाम शव्दसाधक तीर्थ बनेपा ६ काभ्रे रहेको छ । पुस्तक प्रकाशनका आर्थिक व्यवस्थापक भने सम्पादकका परवारजन रहेको छ । पुस्तक २०८० सालमा छापिएको थियो ।
पुस्तकमा स्वर्गीय केसीको स्मृतिमा विभिन्न विद्धानहरुद्धारा लिखित ९ वटा संस्मरण लेखहरु समावेश छन् । पुस्तकमा केसीको जीवनबृत, स्वास्थ्य समस्या र विवरणसमेत उल्लेख छ । साथै समाचारहरु, समवेदना सन्देशहरु समावेश छन् । अन्तिम पृष्ठमा भने वंशावली तालिका राखिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...