भक्तपुरको नवदुर्गाका देवता विरामी परेपछि हेरचाहमा आउन आह्वान


2023-05-24 13:49:02

News Image

भक्तपुर । प्रत्येक वर्ष विजया दशमीको दिन राष्टपति (पहिला राजा) भक्तपुरको नवदुर्गा देवगण दर्शनका लागि नवदुर्गा द्योछें (देवता घर) आउने धेरैलाई जानकारी छ । तर यसको विविध पक्षबारे धेरैलाई जानकारी नहुन सक्छ । 
नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान बनमालाका अनुसार नवदुर्गा देवताहरु पनि सम्पूर्ण प्राणीहरुको जीवनचक्र जस्तै जन्मने र मृत्यु हुने गर्दछ । उनका अनुसार प्रत्येक वर्ष सिथि नखा (यो वर्ष बिहीबार) बाट नवदुर्गा देवता विरामी हुने विश्वास छ । त्यही अनुसार विहीबार हेरचाहमा आउन सर्वसाधारणलाई आह्वान गरिन्छ, उनले भने, त्यसपछि प्रत्येक वर्ष भलभल अष्टमी (यो वर्ष जेठ २८ गते आइतबार) का दिन भक्तपुर नगर परिक्रमा गरी भनपा वडा नं. ९ स्थित ब्रह्मायणी पीठमा नाय्खिं बाजाको साथमा नवदुर्गा जले बिज्याकेगु (अग्नि समायोजन) गर्ने गरिन्छ अर्थात् मृत्यु हुने गर्दछ । उनका अनुसार यसरी यस वर्षको नवदुर्गाको जात्रा तथा नाच र जीवन समाप्त हुने गर्दछ ।
नवदुर्गा देवगण जीवित देवी हुन् । मुकुण्डो लगाएर नाचमा यी देवगणहरु सहभागी हुन्छन् । यसरी मृत्युपछि अर्काे वर्षका लागि नयाँं अनुहार देवगणका रुपमा आउँंछन् । भक्तपुरका नवदुर्गाका यी देवगणहरु भक्तपुरसहित काठमाडौं, ललितपुरका साथै काभ्रको साँंगा, बनेपा, धुलिखेललगायतका ठाउँंठाउँंमा पनि ङालाकेगु जात्रा (नवदुर्गा नाच) को प्रदर्शनका लागि पुग्ने गर्दछन् ।  
परम्परा अनुसार भक्तपुर दरबार क्षेत्र नजिक इछु टोलमा प्रत्येक वर्षको अन्तिम ङालाकेगु जात्रा (नाच) प्रदर्शन गरिन्छ । यो वर्ष जेठ २५ गते भक्तपुर दरबार क्षेत्रको मूल चोकमा सिंजा नकेगु (अन्तिम भोज) ग्रहण तथा रात्रिकालीन नवदुर्गा नाच प्रदर्शन गरिन्छ । यसपछि यो वर्षको नवदुर्गा जात्रा सम्पन्न हुन्छ । 
भक्तपुर नगरपालिका वडा नं. ९, गछेँ टोलमा रहेको श्री नवदुर्गा मन्दिर भक्तपुर नगरको प्रसिद्ध मन्दिर हो । यही द्योछें (देवता) घरमा देवगणहरु बस्ने गर्दछन् । मानव समाजमा आधारित यस नवदुर्गा भवानीको प्रसिद्ध ङालाकेगु जात्रा मल्लकालीनदेखि हालसम्म निरन्तर सञ्चालनमा रहेको बताइन्छ । 
हरेक वर्ष आठ महिना मकुण्डोसहितको र चार महिना मकुण्डोबिनाको जात्रा नवदुर्गा भवानीको विभिन्न तिथिमितिहरूमा विभिन्न तान्त्रिक पूजाआजासहित हुन्छ । हरेक वर्ष सिथि चःह्रे तिथि  (यो वर्ष पच्छिलो विहीबार) पश्चात् ऐतिहासिक नवदुर्गा मन्दिरभित्रको चोकमा नवदुर्गाको देवाली पूजा (स्वं छा) हुन्छ । यस वर्ष जेठ ७ गते आइतबारको दिन उक्त पूजा गरिएको थियो । नेवार समुदायमा हरेक वर्ष परिवारको सुस्वास्थ्य, कुल शान्ति, प्रकृतिसँग सामना गर्ने आधारशक्ति प्राप्ति तथा परिवारको सुखशान्तिका लागि कुल देवतालाई पूजा गर्ने परम्परा रहेको छ । नवदुर्गा मन्दिरमा पनि हरेक वर्ष नवदुर्गाको देवाली पूजा हुने गर्दछ । नवदुर्गाको देवाली पूजाको दिनदेखि मनसुन वर्षा सुरु हुने जनविश्वास छ । देवगणहरू वर्षभरि आउने विभिन्न चुनौती तथा सामना समाधान होस्, आफूले गरेको कामको सफलता मिलोस्, दिनदशा राम्रो होस्, परिवारको सुस्वास्थ्य तथा शान्तिको कामना गरी देवाली पूजा गर्ने गर्छन् ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *