ख्वपमा अनलाइन भर्ना सुरु


2020-08-30 11:20:45

भक्तपुर । ख्वप मावि देकोचा भक्तपुरमा अनलाइन भर्ना सुरु भएको छ । निषेधाज्ञाको विशेष परिस्थितिका कारण अनलाइनमार्फत् नै भर्ना खुल्ला गरिएको हो ।
भर्ना कार्यक्रम अन्तर्गत पहिलो चरणको अनलाइन प्रवेश परीक्षा सम्पन्न भइसकेको छ । पहिलो चरणको प्रवेश परीक्षाका लागि नौ सय २२ जना विद्यार्थीले आवेदन फारम भरेको स्कुलले जनाएको छ । त्यसमा आठ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएको स्कुलले जनाएको छ ।
अहिले दोश्रो चरणको अनलाइन आवेदन फारम भर्ने कार्यक्रम चालू राखिएको छ । दोश्रो चरणको अनलाइन प्रवेश परीक्षा भदौ १७ गतेका लागि तय गरिएको छ ।
ख्वप माविका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठले दोश्रो चरणमा अझ वढी अनलाइन आवेदन फारम आइरहेको जनाए । ‘पहिलो चरणको आवेदन फारम वितरणको क्रममा यो सम्भब होला कि नहोला भन्ने एक किसिमको शंकाको मानसिकता अभिभावकमा थियो । त्यस कारण अलि कम अनलाइन आवेदन फारम आएको थियो, प्रिन्सिपल श्रेष्ठले भने, अहिले पहिलो चरणको सफल अनलाइन आवेदन फारम भर्ने कार्य भई अनलाइन प्रवेश परीक्षा पनि सफलतापूर्वक सम्पन्न भइसकेकोले दोश्रो चरणको अनलाइन आवेदन फारम भर्नेहरुको लहर चलेको छ र यसपालि गएको पहिलो चरणमा भन्दा वढी विद्यार्थी सहभागी हुने निश्चित प्रायः भइसकेको छ ।’
देशका विभिन्न जिल्लाहरुबाट अनलाइन फारम भरिरहेको जानकारी प्रिन्सिपल श्रेष्ठले गराए । काठमाडौं उपत्यकासहित सुदुर पश्चिमका कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरुबाट अनलाइन परीक्षामा सहभागी भइसकको जानकारी उनले गराए । यसका साथै जुम्ला, कालिकोट, राजविराज, उदयपुर, गुल्मी,कास्कीलगायतका दुरदराजका जिल्लाहरुबाट पनि आवेदन फारम आइरहेको उनले जनाए ।
अनलाइन आवेदन फारम भर्नका लागि विकट जिल्लाहरुमा सदरमुकाम आउनुपर्ने, इन्टरनेटको राम्रो सुविधा नभएकोलगायतका कारणले पहिलो चरणको प्रवेश परीक्षामा सहभागी हुन नपाएको गुनासो विद्यार्थी अभिभावकहरुबाट आइरहेको र दोश्रो अनलाइन प्रवेश परीक्षामा सहभागी हुने बताइरहेको स्कुलले जनाएको छ ।
देशभरका विद्यार्थीमा ख्वपमा भर्ना भई पढ्ने इच्छा हुने भएकोले इन्टरनेटको पहुँंच नहुने विद्यार्थीका लागि निषेधाज्ञा खुलेपछि डाइरेक्ट कन्ट्याक्ट (सिधा सम्पर्क) गरी प्रवेश परीक्षा लिने योजना पनि रहेको स्कुलले जनाएको छ । यसका लागि छुटै कोटा बाँंकी राख्ने योजना स्कुलको छ ।
गतवर्ष स्कुलले एक हजार तीन सय विद्यार्थी भर्ना लिएको थियो । यो वर्ष त्यो कोटा बढाएर एक हजार ६ सय ५० जना पुरयाउने योजना राखिएको छ । यसको लागि तेश्रो प्रवेश परीक्षा भदौको २३ गते लिने योजना स्कुलले राखेको छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र मानविकी गरी पाँंच वटै संकायमा अध्ययनअध्यापन हुने यो स्कुलमा हालसम्म देशका ६४ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । यो स्थानीय निकायबाट सञ्चालित (भक्तपुर नगरपालिकाबाट सञ्चालित) देशकै पहिलो र एउटै मात्रै स्कुल हो ।  

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *